
काठमाडौं। विश्व वातावरण दिवसका अवसरमा शनिबार काठमाडौंमा साइकल र्याली गरिएको छ। सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन बचाऔं वातावरण जोगाऔं’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बीवाइडी, एफवान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघसंस्थासँगको सहकार्यमा र्याली आयोजना गरेको हो।
बैंक संचालक श्रीमती लिसा शेरचनबाट साइकल सहभागीलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधारणको दायित्व विषयमा सम्बोधनसँगै र्याली सुरु गरिएको हो। बिहान पौने ८ बजे सानो गौचरन मैदानबाट सुरु भएको र्यालीले नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहीद गेट, त्रिपुरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुलीबजार पुल करिडोर बाटो हुँदै सेतोपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसी परिक्रमा गरेको छ।
सानो गौचरन मैदानमा आइपुग्दा र्यालीले करिब १० किमिको दुरी पार गरेको हो। यस वर्षको विश्व वातावरण दिवस आगामी बुधबार परेको छ। बैंकले साप्ताहिक बिदाको दिन सदुपयोग गर्दै वातावरण दिवसको र्याली आयोजना गरेको हो।
साइकल र्यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, सेयरधनी, प्रवर्धक, प्रायोजक लगायतको सहभागिता रह्यो। २०७९ सालमा १ सय ५० जनाको सहभागितासँगै सुरु भएको साइकल र्याली यस तेस्रो संस्करणमा आइपुग्दा १ हजार ५ सय जनाभन्दा बढीको सहभागिताका साथ सम्पन्न भएको बैंकले जनाएको छ।
सहभागीमध्ये भक्तपुरका रविन रचालिकालाई लक्की ड्रबाट उपहारस्वरुप एउटा साइकल परेको छ। र्यालीकै दिन पारेर बैंकले ग्रीन सेभिङसम्बन्धी प्रोडक्ट समेत लन्च गरेको छ। यसमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता रहेको जनाइएको छ।
समापनमा सहभागीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले उत्साहपूर्वक सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए।