काठमाडौं विश्वविद्यालयले साधारणीकरण सञ्चार ढाँचा विषयमा जेठ १३ गते अन्तर्राष्ट्रिय गोष्ठी गर्दै

बिजमाण्डू
२०८१ बैशाख २८ गते १४:४४ | May 10, 2024
काठमाडौं विश्वविद्यालयले साधारणीकरण सञ्चार ढाँचा विषयमा जेठ १३ गते अन्तर्राष्ट्रिय गोष्ठी गर्दै

काठमाडौं। काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ। ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर हात्तीवनमा जेठ १३ कार्यक्रम आयोजना गर्दैछ।

Tata
GBIME
NLIC

अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्लीको साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल आउँदै छन्। यसैगरी, अमेरिकाको हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ता (किनोट स्पीकर) हुन् भने सङ्गोष्ठीको अध्यक्षता केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाले गर्नेछन्।

अन्तर्राष्ट्रिय गोष्ठीमा भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला, एमसीयूकै वर्तमान उपकुलपति प्राध्यापक के.जी. सुरेश, चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कुल अफ पोलिटिक्स एण्ड पब्लिक एडमिनिस्ट्रेसनका उपाध्यक्ष हान हङ, इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्राध्यापक इदा बागुस पुटु सुअम्बा लगायतले वक्ताका रूपमा सहभागिता हुने केयूले जनाएको छ।

गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि विश्वविद्यालयले सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति गठन गरेको थियो। सो मातहत विभिन्न १० वटा उपसमितिहरू गठन गरेर तयारी गरिरहेका छन्।

केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको केयूले जनाएको छ। उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ।