
काठमाडौं । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले डिटर्जेन्ट पाउडर उद्योग संचालन गरेका छन्। भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको उद्योग संचालन गरेका हुन्।
महिलाले सामूहिकरुपमा सरफ उद्योग संचालन गरेसँगै आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन्। सबैले २५ हजारका दरले लगानी गरेर उद्योग संचालन गरिएको उनले बताइन्।
‘सुरुमा करिब २५ लाख लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ,’ पौडेलले भनिन्, ‘३० प्रतिशत लगानी समूहका सदस्यले गरेका हौँ।’
विसं २०५३ मा गठित उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति २५ हजार लगानी गरेसँगै नगरपालिकाले डिटर्जेन्ट पाउडर उत्पादन सम्बन्धी तालिम दिएपछि उद्योग संचालनमा ल्याइएको उनको भनाइ छ।
उद्योगमा सात जनाले रोजगारी पाएका छन्। काठमाडौंबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएको समूहकी सचिव सीता सुवेदीले बताइन्।
‘आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हौं,’ उनले भनिन्, ‘भीमाद बजार र आसपासका क्षेत्रमा मागअनुसार सरफ उत्पादन गर्दै आएका छौं। अहिले बजार पनि विस्तार गर्दै गएका छौं।’
उनका अनुसार प्रतिकिलो २०० र ३५० रुपैयाँ गरि दुई थरीका डिटर्जेन्ट उत्पादन हुँदै आएको छ।
दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकामा गत असोजदेखि उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिइन्।
‘आधा किलोग्रामको प्याकेटमा पनि सरफ उत्पादन गर्ने योजना समूहको छ। घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भनिन्।
स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यक पर्ने डिटर्जेन्ट पाउडर बाहिरबाट बजारमा आउन घटेको उनको भनाइ छ। उत्पादित डिटर्जेन्ट पाउडरलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उनले जानकारी दिइन्।
भीमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सरफ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताए। उनका अनुसार राम्रो, गुणस्तर र अन्य कम्पनीको तुलनामा सस्तो मूल्य भएकाले अधिकांशले यही सरफ प्रयोग गर्दै आएका छन्। यहाँ उत्पादित सरफ स्थानीयस्तरमा बढी माग र खपत हुने गरेको बताइएको छ।