
काठमाडौं । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो।
काठमाडौंमा जारी लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ। सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गर्नेछन्।
मुगुको छायानाथ रारा नगरपालिकाको मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ। कूल १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको रिसोर्ट निर्माणको काम अबको ३ महिनामा नै सुरु हुनेछ।
पहिलो चरणमा ४० वटा कोठा निर्माण हुनेछ भने दोस्रो चरणमा २० वटा कोठा निर्माण गरिनेछ। दुई वर्षमा निर्माण सम्पन्न गरि रिसोर्ट संचालन गर्ने तयारी छ।
रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने छ। र, स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङसका एक प्रतिनिधिले बताए।
समुद्र सतहदेखि ३ हजार ७०० मिटर उचाईमा निर्माण हुने रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको दृश्य देखिनुका आसपासका क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिने बताइएको छ।
‘यो योजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो। परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै अब निर्माण प्रक्रियालाई तीब्रता दिनेछौं,’ ती प्रतिनिधिले भने।
एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ। यस सम्झौतासँगै एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।