वित्तीय साक्षरता : सबैलाई सधैं चाहिन्छ पैसा, यस कारण जान्नैपर्छ व्यवस्थापनको सीप

बिजमाण्डू
२०८१ बैशाख ५ गते ०६:४३ | Apr 17, 2024
वित्तीय साक्षरता : सबैलाई सधैं चाहिन्छ पैसा, यस कारण जान्नैपर्छ व्यवस्थापनको सीप
  • टिका भट्टराई-

आजको डिजिटल युगमा इन्टरनेटमा अत्यधिक चर्चामा रहन सफल भएको शब्द हो- वित्तीय साक्षरता। एक्काइसौं शताब्दीमा जन्मने हरेक व्यक्ति, चाहे त्यो शिक्षित वा निरक्षर नै किन नहोस्, वित्तीय साक्षर हुन अत्यावश्यक भएको छ।

Tata
GBIME
Nepal Life

सामान्य अर्थमा वित्तीय साक्षरता भनेको पैसाले कसरी काम गर्छ भन्ने बुझ्नु हो। जस्तो कि पैसा कसरी कमाइन्छ? यसको व्यवस्थापन कसरी हुन्छ? लगानी कसरी गरिन्छ र कसरी खर्च गरिन्छ?

वित्तीय साक्षरताले आफ्नो आम्दानीको उच्चतम उपयोग गर्नेदेखि लिएर वित्तीय क्षेत्रको विश्लेषण गर्दै बचतको विवेकपूर्ण लगानी गरी आम्दानी अभिवृद्धि गर्नेसम्मका बृहत् क्षेत्रलाई समेट्छ। देशका युवाहरूमा वित्तीय शिक्षाको महत्त्वबारेमा जागरण ल्याउने उद्देश्यले हालै नेपाल राष्ट्र बैंकको पहलमा साप्ताहिक अभियानका रूपमा हामीले ग्लोबल मनी विक समेत मनाएका छौं।

वित्तीय साक्षरता नहुँदा के हुन्छ?

नेपालजस्तो विकासोन्मुख देशमा वित्तीय साक्षरताको अभाव चिन्ताजनक अवस्थामा छ। अधिकतम उपभोक्ताहरू सामान्य वित्तीय प्रश्नहरूको समेत तार्किक जवाफ दिन असमर्थ छन्।

धेरै शिक्षित व्यक्तिहरूमा समेत वित्तीय सिद्धान्तहरू, वित्तीय जोखिम, कर व्यवस्थापन तथा कर्जा सदुपयोगको यथेष्ट ज्ञानको अभाव देखिन्छ। जस्तो कि वित्तीय साक्षरताको अभावमा मानिसमा बैंक खाता खोल्ने, कर्जा माग गर्ने तथा बैंकले प्रदान गर्दै आएका सुविधाका सामान्य सर्त बन्देजहरूको समेत ज्ञान हुँदैन।

नेपाल सरकारले सर्वसाधारणलाई प्रदान गर्ने गरेको विभिन्‍न कर छुटका स्किम लगायत वित्तीय सुविधाहरूको उपभोग गर्नबाट समेत अधिकांश जनता बन्चित हुनु परेको छ। वित्तीय साक्षरताको अभावमा मानिसहरू कमजोर लगानीको छनोट गरी आफ्नो बचतबाट उच्चतम लाभ हासिल गर्न नसक्ने मात्र होइन, कर्जा जाल (डेब्ट ट्रयाप) मा पर्न सक्ने उच्च जोखिम समेत हुन्छ। हाल डिजिटल माध्यमको प्रयोगबाट वित्तीय प्रलोभन देखाइ वित्तीय स्कामहरूको फन्दामा पर्ने अधिकांश व्यक्ति वित्तीय निरक्षर देखिन्छन्।

सर्वसाधारणलाई आर्थिक रूपमा सशक्त बनाउन, लेनदेनका जोखिम न्यूनीकरण गर्दै आर्थिक समृद्धि हासिल गर्नका लागि वित्तीय साक्षरतालाई प्रवर्धन गर्नु अत्यावश्यक हुन्छ। हामी उचित वित्तीय योजनाको अभावमा जान अन्जानमा नै क्रेडिट कार्डको अधिकतम उपयोग, अनावश्यक कर्जा सुविधा तथा उधारो कारोबारको अधिक प्रयोग गरी आर्थिक कठिनाइमा परिरहेका हुन्छौं।

नोकरीमा रहेका व्यक्तिहरू विना कुनै सेवानिवृत्त योजना वा अपर्याप्त योजनाकै अवस्थामा नोकरीबाट निवृत्त हुनु परेको हुन्छ। जसले गर्दा सेवानिवृत्त जीवन नै कष्टकर बन्‍न पुग्छ। वित्तीय साक्षरताको प्रवर्धनले मानिसलाई सुसूचित वित्तीय निर्णय गर्न, कर्जाको भार कम गर्न र वित्तीय भविष्य सुरक्षित बनाउन मद्दत गर्दछ।

कुनै पनि स्टार्टअप उद्यम गर्न चाहने व्यक्तिले उचित वित्तीय योजना सम्बन्धी ज्ञानको अभावमा रणनीतिक वित्तीय निर्णय लिन नसकी आफ्नो लगानी नै असुरक्षित बनाउन पुग्छ। जसले गर्दा रोजगारीको सिर्जना र नवप्रवर्तनमा नकारात्मक प्रभाव पारी समग्र आर्थिक उत्पादकत्वमा नै असर गर्छ।

वित्तीय ज्ञानयुक्त परिवारमा जतिसुकै आम्दानी भए पनि त्यसको केही प्रतिशत नियमित बचतको सम्भावना रहन्छ।

वित्तीय साक्षरताको आवश्यकता

वित्तीय साक्षरताको अभावमा हुनसक्ने वित्तीय जोखिमबाटै हामीले थाहा पाइसक्यौं कि यो ज्ञान कति आवश्यक छ। बुँदागत रूपमा भन्नुपर्दा वित्तीय साक्षरताबाट हामीले प्रत्यक्षरूपमा निम्न उपलब्धि हासिल गर्न सक्छौं-

(क) ज्ञान र सीप : बैंकिङ प्रणालीको विकास र डिजिटल बैंकिङ प्रयोगको विस्तारसँगै वित्तीय उपकरणहरूको दायरा र जटिलता समेत उत्तिकै बढेको छ। एउटा सामान्य व्यक्तिलाई समग्र वित्तीय जोखिम विश्लेषण गरी सचेत निर्णय लिन धेरै गाह्रो हुन्छ।

वित्तीय साक्षरताले वित्तीय ज्ञान र सीप प्रदान गर्दछ। जसले गर्दा हरेक व्यक्तिलाई वित्तीय सेवा तथा सुविधाहरूको सही उपयोग गरी आफ्नो वर्तमान र वित्तीय भविष्य निर्माणमा समेत आफ्नै नियन्त्रण कायम राख्न सहयोग पुर्‍याउँछ।

(ख) वित्तीय शोषणबाट उन्मुक्ति : वित्तीय ज्ञानले हरेक व्यक्ति र समाजलाई शोषणकारी वित्तीय योजनाहरू र मिटरब्याजी साहुहरूको कर्जा जालो (डेब्ट ट्रयाप) बाट उन्मुक्ति प्रदान गर्न मद्दत गर्दछ।

(ग) अत्यधिक कर्जाबाट बचाउ : वित्तीय ज्ञानले आफ्नो कर्जा आवश्यकताको उचित विश्लेषण गरी आवश्यकभन्दा बढी ऋण लिनबाट बच्न र बुद्धिमानीपूर्ण वित्तीय निर्णय लिन मद्दत गर्दछ।

(घ) उद्यमशीलता प्रवर्धन : साना उद्यमी एवं व्यवसायीहरूलाई आफ्नो व्यवसाय अनुकूलको वित्तीय सेवा तथा सुविधाहरूको छनोट गर्न र बजार संयन्त्रको विश्लेषण गरी उचित वित्तीय निर्णय लिन वित्तीय ज्ञानले मद्दत गर्दछ।

(ङ) सामाजिक सद्‍भावनामा सकारात्मक प्रभाव : वित्तीय ज्ञानले अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्न मद्दत गर्दछ। वित्तीय ज्ञानयुक्त परिवारमा जतिसुकै आम्दानी भए पनि त्यसको केही प्रतिशत नियमित बचतको सम्भावना रहन्छ। जसको परिणाम बचतको सही लगानी गरी उच्चतम आम्दानीको मार्ग प्रशस्त गर्न सकिन्छ। आर्थिक गुणस्तरयुक्त व्यक्तिहरू रहेको समाजमा सामाजिक सद्‍भावनाको गुणस्तर पनि उच्च हुन्छ।

(च) तनावमुक्त सामाजिक जीवन : वित्तीय साक्षर व्यक्ति आफ्नो आम्दानी र खर्चको सन्तुलन तथा आफ्नो वित्तीय आवश्यकताको सम्बन्धमा सचेत हुन्छ। उ आफू अनुकूलको उचित बचत योजना छनोट गरी आवश्यक रकम बचत गर्न सक्षम हुन्छ। जसले यस्ता व्यक्तिले भविष्यमा पर्न सक्ने आकस्मिक आर्थिक चुनौतीहरूको सजिलै सामना गरी आर्थिक तनावबाट उन्मुक्ति प्राप्त गर्न सक्छन् र तनावमुक्त सामाजिक जीवन यापन गर्न सक्षम हुन्छन्।

(छ) वित्तीय बजारमा सक्रिय सहभागिता : आर्थिक समृद्धिका लागि बचतकर्ताहरूलाई लगानीकर्ताको रुपमा परिवर्तन गराउन आवश्यक हुन्छ। वित्तीय ज्ञानको आधारमा नै व्यक्तिगत बचतकर्ताहरूलाई धितोपत्र बजार एवं उद्यमशीलतामा अधिकतम सहभागिता गराउन सकिन्छ। जसले गर्दा प्रत्येक बचतकर्ता व्यावसायिक क्षेत्रको अभिवृद्धिबाट समेत लाभान्वित हुन सक्छ।

हरेक दिन केही मिनेट समय दिए पुग्छ। पैसाका स्मार्ट र सामान्य बानी सजिलै अवलम्बन गर्न सकिन्छ।

वित्तीय साक्षरताका सरल उपायहरू

शिक्षित हुँदैमा वित्तीय साक्षर पनि भइन्छ भन्‍ने हुँदैन। सिक्नका लागि कहिल्यै ढिलो हुँदैन। आर्थिक रूपमा सचेत हुनका लागि कठिन अध्ययनको आवश्यकता पनि पर्दैन। हरेक दिन केही मिनेट समय दिए पुग्छ। पैसाका स्मार्ट र सामान्य बानी सजिलै अवलम्बन गर्न सकिन्छ।

  • पढ्ने बानी : ज्ञान सबै उद्यमशीलताको चाबी हो। वित्तीय साक्षरताको सन्दर्भमा कुरा गर्दा अध्ययन भन्दा अर्को उत्तम उपाय हुनै सक्दैन। वित्तीय ज्ञान हासिल गर्न दैनिक पत्रपत्रिका तथा अनलाइन समाचारहरूमा अर्थ पेजको अध्ययन गर्न सकिन्छ। हाल बजारमा आर्थिक पत्रपत्रिकाहरू पनि उत्तिकै पाइन्छन्।
  • वित्तीय व्यवस्थापनका टुलहरूको प्रयोग : आफ्नो नियमित आम्दानी र खर्चको उच्चतम व्यवस्थापन गर्न र त्यसबाट उचित बचत समेत गर्नका लागि विभिन्न वित्तीय टुलहरू प्रयोग गर्न सकिन्छ। अहिलेको डिजिटल युगमा त्यस्ता अनगिन्ती सफ्टवेयर तथा मोबाइल एपहरू डाउनलोड गरी आफ्नो वित्तीय व्यवस्थापन गर्न सकिन्छ। इन्टरनेट ब्राउजरको माध्यमबाट वित्तीय साक्षरताका आधारभूत टिप्सहरू समेत प्राप्त गर्न सकिन्छ।
  • विशेषज्ञको सल्लाह लिने : बैंक तथा वित्तीय संस्थाहरू भनेका ग्राहकका वित्तीय सल्लाहकार समेत हुन्। ग्राहकहरूले आफ्नो कारोबार हुने सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क राखी आफूलाई आवश्यक विशेषज्ञ सल्लाह लिन सक्छन्। साथै, गहिरो वित्तीय ज्ञानका लागि क्यापिटल मार्केट तथा सहरी क्षेत्रमा त वित्तीय सल्लाह प्रदान गर्ने विशेषज्ञ कन्सल्टेन्ट्हरू नै उपलब्ध छन्।
  • वित्तीय साक्षरताका कक्षाहरूमा सहभागी हुने : नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत विभिन्न बैंकिङ तथा गैर बैंकिङ वित्तीय संस्थाहरूले समेत समय समयमा वित्तीय साक्षरता सम्बन्धी कक्षा तथा कार्यक्रम संचालन गर्दै आएका छन्। आफ्नो कारोबार रहेको बैंक तथा वित्तीय संस्थामा सम्पर्क राखी यस्ता कक्षा तथा कार्यक्रमहरूमा सहभागी हुन सकिन्छ।

पाठ्यक्रममा नै वित्तीय साक्षरताका आधारभूत अवधारणा समावेश गरी अनिवार्य शिक्षा प्रदान गर्न र स्तरीय वित्तीय ज्ञानका लागि उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी गहन अध्यापन गराउन सकिन्छ। जसले प्रभावकारी र कुशल वित्तीय योजना निर्माण र कार्यान्वयनमा मद्दत गर्न सक्छ।

अतः कुनै पनि देशको आर्थिक उन्नतिको अत्यन्त महत्त्वपूर्ण अंग वित्तीय साक्षरता हो। यसले वित्तीय समावेशितालाई अभिवृद्धि गर्दछ। देशको वित्तीय स्थिरता कायम राख्न मद्दत गर्दछ।

नेपाल राष्ट्र बैंकको पहलमा युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक समृद्धिमा सघाउ पुर्‍याउने उद्देश्यले प्रत्येक वर्ष ग्लोबल मनी वीक घोषणा गरी राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, सहकारी संस्था लगायतको सहभागितामा विभिन्न कार्यक्रम संचालन गरी वित्तीय साक्षरतालाई प्रवर्धन गरिंदै आएको छ।

यस्ता प्रयत्नहरूको बाबजुद पनि हाम्रो देशका सर्वसाधारणको वित्तीय साक्षरता स्तर सन्तोषजनक मान्न सकिने अवस्था छैन।

वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्नका लागि विद्यालयस्तरकै पाठ्यक्रममा आधारभूत अवधारणाहरूलाई समावेश गरी अनिवार्य शिक्षा प्रदान गर्न सकिन्छ। एडभान्स् लेभलको वित्तीय ज्ञानका लागि उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरी गहन अध्यापन गराउन सकिन्छ। जसले प्रभावकारी र कुशल वित्तीय योजना निर्माण र कार्यान्वयनमा मद्दत गर्न सक्छ।

यस्ता वित्तीय ज्ञानको अध्ययन, अध्यापन र यसको प्रभावकारिताको सम्बन्धमा देशका नियमनकारी निकायहरूबाट नियमितरुपमा अनुगमन गरी आवश्यकता अनुसार समय सान्दर्भिक संशोधन गर्दै जान सकेमा देशमा आर्थिक स्थायित्व र आर्थिक समृद्धि हासिल गर्नमा समेत महत्त्वपूर्ण योगदान पुग्छ।

(भट्टराई माछापुच्छ्रे बैंकका चीफ बिजनेस अफिसर हुन्)