बीमा कम्पनीले त्यागेनन् ब्याजको लोभ, रकम जति मुद्दतीमा, निर्देशन उल्लंघन हुँदा प्राधिकरण मौन

आकाश बोगटी
२०८१ बैशाख ४ गते २०:५५ | Apr 16, 2024
बीमा कम्पनीले त्यागेनन् ब्याजको लोभ, रकम जति मुद्दतीमा, निर्देशन उल्लंघन हुँदा प्राधिकरण मौन

काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुँजी विविधिकरण गर्ने उद्देश्यले सीमासहित लगानीको क्षेत्र तोकिदिए पनि बीमा कम्पनी बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्नमै रमाएका छन्।

Tata
GBIME
Nepal Life

प्राधिकरणले कृषि, निर्माण, सेयरलगायत ११ क्षेत्रमा लगानी गर्न भने पनि बीमा कम्पनीले जोखिम देखाएर पन्छिने गरेका छन्। जसकारण मुद्दती निक्षेपमा पैसा थुपारिरहेका हुन्।

उनीहरूले कुल बीमा शुल्क आर्जनको ८० प्रतिशतसम्म मुद्दती निक्षेपमा राखेका छन्। जबकि कुल बीमा शुल्कको ५० प्रतिशतभन्दा बढी मुद्दती निक्षेपमा लगानी गर्न पाइँदैन।

चालु आवको ८ महिनामा बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा बीमा कम्पनीहरूले ६८ अर्ब ४ करोड ८९ लाख रुपैयाँ लगानी गरेका छन्।

गत असारसम्म बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको निक्षेपमा ५ खर्ब १५ करोड रुपैयाँ राखेकामा चालु वर्ष फागुनमा आइपुग्दा त्यस्तो रकम १३.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ६८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

आफूले जारी गरेको लगानी निर्देशिकाको बीमा कम्पनीहरूले ठाडै उल्लंघन गरिरहँदा प्राधिकरण रमिते जस्तै देखिएको छ। उसले अटेर गर्ने कम्पनीहरूलाई प्रश्न समेत गर्न सकेको छैन।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल पुँजी विविधिकरण गर्न लगानी क्षेत्र तोकिदिए पनि लगानी निर्देशिका कार्यान्वयन गराउन नसकेको लाचार जवाफ दिन्छन्।

‘बीमा कम्पनीले रिस्क बैंकमा पनि जोडिएको छ भन्ने नबुझ्दा लगानी विविधिकरण हुन सकेको छैन,’ उनले भने, ‘पहिले ११ प्रतिशत रहेको ब्याजदर अहिले ५ प्रतिशतमा आइसक्यो। अहिले अटेर गरे पनि हामी कम्पनीहरूलाई अर्को वर्ष सीमा अनुसार नै लगानी गर्न लगाउँछौँ।’

प्राधिकरणले कम्पनीहरूलाई कुल बीमा शुल्क आर्जनको १० प्रतिशत पूर्वाधार, कृषि, सडक, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न भनेको छ। तर, बीमा कम्पनीहरूले पूर्वाधार, कृषि, सडक, ऊर्जालगायत क्षेत्रमा कुल बीमा शुल्क आर्जनको डेढ प्रतिशतभन्दा लगानी गरेका छैनन्।

बैंकहरूमा संस्थागत निक्षेप थुप्रिनुलाई त्यति राम्रो मानिंदैन। राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले मुद्दतीमा व्यक्तिगत निक्षेपको तुलनामा संस्थागत निक्षेप बढ्दा वित्तीय क्षेत्रमा विचलन बढ्ने बताए।

‘प्रणालीमा व्यक्तिको पैसा आउँदा राम्रो। संस्थागत निक्षेपको हिस्सा बढ्दा वित्तीय विचलन देखिन्छ’, उनले भने, ‘बीमा कम्पनीहरूले बैंकमा जम्मा गरेर ब्याज खानेभन्दा पनि विविध क्षेत्रमा लगानी गर्नुपर्ने हो। लगानी गरे पो बजार चलायमान हुन्छ।’