वाइवाई चाउचाउमा सर्वसाधारणको लगानी भित्र्याउँदै चौधरी समूह, २ वर्षभित्र आइपीओ आउने

उन्नत सापकोटा
२०८१ बैशाख ३ गते १९:१७ | Apr 15, 2024
वाइवाई चाउचाउमा सर्वसाधारणको लगानी भित्र्याउँदै चौधरी समूह, २ वर्षभित्र आइपीओ आउने

काठमाडौं। वाइवाई चाउचाउ उत्पादन गर्ने चौधरी समूहअन्तर्गतको सिजी फुड्स नेपालले दुई वर्षभित्र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

आइपीओ ल्याउन आवश्यक तयारी चाँडै नै सुरु गर्न लागेको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए। ‘आइपीओ ल्याउने प्रक्रिया अब चाँडै सुरु हुन्छ। सन् २०२६ भित्र हामी नेपालीहरुलाई प्राथमिक सेयर निष्कासन गर्छौं,’ चौधरीले बिजमाण्डूसँग भने।

सांसद एवं चौधरी समूहका अध्यक्ष विनोदकुमार चौधरीले सन् २०१३ मा प्रकाशित गरेको आफ्नो आत्मकथामा समेत सिजी फुड्स (ग्लोबल)लाई कुनै दिन भारतको स्टक एक्सचेन्ज हुँदै सिंगापुर र अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत गर्ने उल्लेख गरेका छन्।

सिजी फुड्स नेपालले देशका विभिन्न स्थानबाट वाइवाई उत्पादन गर्दै आएको छ। कम्पनीले काठमाडौं, नवलपरासी, बर्दिया र सुनसरीमा रहेका प्लान्टबाट चाउचाउ उत्पादन गरिरहेको छ।

नेपालमा उत्पादित वाइवाई ३० भन्दा बढी देशमा निर्यात हुन्छ। यसका साथै युरोप, मध्यपूर्व, अफ्रिका र दक्षिण एसियाका विभिन्न देशहरुमा पनि वाइवाई उत्पादन भइरहेको छ। वाइवाई विश्वभर वार्षिक ३ अर्ब प्याकेट उत्पादन भइरहेको चौधरी समूहले जनाएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो तथ्यांकअनुसार सिजी फुड्स (नेपाल) प्रालिले सन् २०२१/२२ मा ८ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। यस्तै, सन् २०२०/२१ मा ७ अर्ब २३ करोड, २०१९/२० मा ५ अर्ब ६६ करोड र २०१८/१९ मा ६ अर्ब ८९ करोड रुपैयाँको कारोबार गरेको तथ्यांक छ।

सुनसरीमा रहेको सिजी फुड्सको प्लान्ट

चौधरी समूहले काठमाडौंमा रहेको उद्योग थाइल्यान्डको थाइ प्रिजर्भ्ड फुड फ्याक्ट्रीसँगको प्राविधिक सहकार्यमा सन् १९८४ देखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याएको थियो।

कम्पनीले वाइवाई चाउचाउसँगै रिओ, क्‍विक्सलगायत ब्राण्डमा एफएमसीजी प्रडक्ट उत्पादन गर्छ। कम्पनीमा निर्वाणको सर्वाधिक ७६ प्रतिशत, अपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत सेयर स्वामित्व छ।

त्यसैगरी, चौधरी समूहले भारतमा रहेको एफएमसीजी युनिटलाई पनि सन् २०२६ भित्र त्यहाँको सेयर बजारमा सूचीकृत गराउने भएको छ। सिजी फुड्स इन्डिया प्रालिको नामबाट भारतमा वाइवाई बेचिरहेको उक्त कम्पनीलाई पनि दुई वर्षभित्रै सेयर बजारमा सूचीकृत गरिने भएको हो। सिजी फुड्स इन्डिया प्रालिका ग्लोबल प्रमुख कार्यकारी अधिकृत मानवेन्द्र शुक्लाले थप नयाँ प्रडक्टको उत्पादन थाल्ने र भारतका साना चाउचाउ कम्पनीलाई अक्वायर गरेर दुई वर्षपछि कम्पनीलाई ‘साइजेबल लिस्टिङ’मा लैजाने बताएको भारतीय सञ्चारमाध्यकहरुले जनाएका छन्।

भारतको स्थानीय चाउचाउ बजारमा वाइवाईको हिस्सा २८ प्रतिशत छ। यसले वार्षिक ८ अर्ब भारतीय रुपैयाँ (१२ अर्ब ८० करोड रुपैयाँ) को कारोबार गरिरहेको छ।

‘प्राथमिक सेयर जारी गरेर लिस्टिङ गर्ने बारेमा हामी प्रारम्भिक छलफलमा छौं। यो वर्ष व्यापार १५ प्रतिशत बढाउने लक्ष्य लिएका छौं,’ शुक्लाले भने।

सिजी फुड्स इन्डियाले चाउचाउ उत्पादन गर्न भारतमा सातवटा प्लान्ट सञ्चालन गरिरहेको छ। चौधरी ग्रुपले बिक्री गर्ने कुल चाउचाउको हिस्सामा भारत र नेपालको योगदान ८० प्रतिशतभन्दा बढी छ।