
काठमाडौं । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ संचालनमा आएको छ।
बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ संचालनमा आएको हो।
यही वैशाख १ गते रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कसँगै केबलकारको समेत शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिए।
उनका अनुसार पाँच वर्षअघिदेखि ५६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क र रेष्टुरेन्ट व्यावसायिकरुपमा संचालनमा आएका छन्।
केबलकार केही समय आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरि संचालन ल्याइएको मण्डलले बताए। सर्वसाधरणका लागि भने चाँडै मिति तोकेर खुला गरिने परियोजना कार्यालयले जनाएको छ। बन्दीपुरहिल अन्तर्गतका टुरिष्ट पार्क र रेष्टुरेन्ट भने सर्वसाधारणका लागि पूर्णरुपमा खुला गरिएका छन्।
यहाँ आउने पर्यटकले बिना कुनै अवरोध मनोरञ्जन लिनसक्ने कम्पनीका उपाध्यक्ष किरण पोखरेलले बताए। उनका अनुसार मनमोहक टुरिष्ट पार्कमा आकर्षक संरचनासँगै चट्टानमा बनेका शिव मन्दिर, गणेश स्वरुप छन् भने फुटपाथमाथि ३३ देवीदेवताका मूर्ति निर्माण गरिएका छन्।
चट्टानमा उल्लुको मूर्ति भगवान् बुद्धको प्रतिमा, सूर्यनारायण भगवान्को वायुयान, विशाल कैलाश पर्वत र भगवान् शिवको प्रकट रुप, भगवान् विश्वकर्माको मूर्तिका साथै जङ्गली जनावरको सङ्ग्रहालय, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघलगायत जनावरका मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुसहितको सङ्ग्रहालयसमेत रहेका पोखरेलले जानकारी दिए।
टुरिष्ट पार्क ८६ करोडको लागतमा निर्माण सम्पन्न गरिएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिए। यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति दुई सय, मोटरसाइकललाई तीन सय, ट्याक्सीलाई पाँच सय, माईक्रो बसलाई एक हजार तथा ठूला बसका लागि एक हजार पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको उनले बताए।
कम्पनीले अफरका रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेन्टमा सेवा लिन सक्ने गरि गिफ्ट भौचरको व्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्धक प्रकाश श्रेष्ठले बताए।
बन्दीपुरहिल अन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लब, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जिपलाइन, बन्दिपुर–सिद्धगुफा चियर लिफ्टलगायत साहसिक पर्यटकीय मनोरञ्जनका पूर्वाधार समेटर ‘बन्दीपुरहिल’ ब्राण्डमा परियोजना अगाडि बढाइएको उनले बताए।
उक्त परियोजनाको कूल लागत ६ अर्ब २९ करोड पुग्ने जनाइएको छ। सबै पूर्वाधार आगामी दुई वर्षभित्र सम्पन्न भई संचालनमा आउने कम्पनीले जनाएको छ।