भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गर्दै दिल्लीमा ‘इन्डस्ट्री आउटरिज मिट’

बिजमाण्डू
२०८१ बैशाख २ गते ०७:५९ | Apr 14, 2024
भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गर्दै दिल्लीमा ‘इन्डस्ट्री आउटरिज मिट’

काठमाडौं । यही वैशाखका लागि तय भएको लगानी सम्मेलनको तयारी स्वरुप भारतको राजधानी नयाँ दिल्लीमा ‘इन्डस्ट्री आउटरिज मिट’ आयोजना गरिएको छ।

Tata
GBIME
Nepal Life

नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतको पीएचडी चेम्बर अफ कमर्सको भारत-नेपाल केन्द्रको आयोजनामा सो कार्यक्रम गरिएको हो। सो अवसरमा उपस्थित भारतीय व्यवसायीहरुलाई नेपालमा लगानीका सम्भावना बारे जानकारी दिइएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भिडियो सन्देश पनि सो कार्यक्रममा सुनाइएको थियो।

भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले भारतीय व्यवसायीहरुलाई निर्धक्क भएर नेपालमा लगानीका लागि सो कार्यक्रममार्फत आह्वान गरेका थिए। वर्षौंदेखि भारतीय उद्यमीका लागि नेपाल लगानीको केन्द्र भएको उल्लेख गर्दै उनले भने, ‘व्यापार गर्न सहज हुने वातावरण बनाउन सरकारले विभिन्न नियमहरुलाई परिमार्जन गरिरहेको छ। जो नेपाली बजारमा आउन चाहन्छन् उनीहरुका लागि उपयुक्त अवसरहरु सिर्जना गरिँदैछ।’

त्यसक्रममा नेपालको लगानी बोर्डका सिइओ सुशिल भट्टले लगानी सम्मेलनमा भारतको तर्फबाट धेरैभन्दा धेरै सहभागिताको अपेक्षा गरेको बताएका थिए।

सो कार्यक्रममा नेपालका लागि पूर्व भारतीय राजदूत मनजिव सिंह पूरी, पूर्व भारतीय राजदूत रणजीत राय लगायत भारतीय व्यापारी, उद्यमी, बैंकिङ क्षेत्रका प्रतिनिधि लगायतले आ-आफ्नो भनाइ राखेका थिए। उनीहरुले नेपालमा धेरै अवसर भएको भन्दै लगानी सम्मेलनमा भारतको तर्फबाट उच्च तहमा सहभागिता हुने बताएका थिए।