काठमाडौं। ब्याजदर घट्दो क्रममा हुँदा पनि माग नभएर तरलता थुप्रिएपछि दबाबमा परेका बैंकहरुले स्किम ल्याएर व्यक्तिगत आवासीय घर कर्जा भने विस्तार गरेका छन्।
बैंकहरुले एकल अंकको स्थिर ब्याजदरमा ल्याएको स्किमले व्यक्तिगत आवासीय घर कर्जा बढेको छ। बैंक तथा वित्तीय संस्थाले ८ महिनामा ३६ अर्ब ३५ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह गरेका छन्।
राष्ट्र बैंकका अनुसार फागुनसम्म बैंक तथा वित्तीय संस्थाले आवासीय कर्जा ३ खर्ब ८४ अर्ब ४७ करोड रुपैयाँ प्रवाह गरेका छन्। गत असारको तुलनामा आवासीय कर्जा १०.४ प्रतिशतले वृद्धि भएको छ। असार मसान्तमा बैंकहरुले यस्तो कर्जा ३ खर्ब ४८ अर्ब रुपैयाँ प्रवाह गरेका थिए।
वाणिज्य बैंकहरुले मात्र आवासीय घर कर्जा फागुनसम्म ३ खर्ब ८ अर्ब रुपैयाँ प्रवाह गरेका छन्। गत असारमा वाणिज्य बैंकको यस्तो कर्जा २ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ थियो।
वाणिज्य बैंकले ८ महिनामा २९ अर्ब ५९ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह गरेका हुन्। अर्थात यो अवधिमा बैंकहरुको आवासीय कर्जा १०.६ प्रतिशतले बढेको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ आवासीय घर कर्जाको जोखिम भार कम हुँदा पुँजी कोषको चाप भएका बैंकहरुलाई व्यवसाय बढाउन सहज भएको बताउँछन्।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जामा रहेको डेढ करोडको सीमा बढाएर २ करोड पुर्याएकाले पनि कर्जा बढाउन केही सहयोग पुगेको खालिङको भनाई छ।
‘पुँजी कोष चाप भएका बैंकहरुलाई जोखिम भारका कारण व्यवसाय बढाउन नसकिरहेको अवस्थामा व्यक्तिगत आवासीय कर्जाको सीमा डेढ करोडबाट बढाएर २ करोड पुर्याउँदा केही राहत पुगेको छ,’ उनले भने।
ऋण लगानी सुस्त भएपछि राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जामा खुकुलो नीति लिएको थियो। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत आवासीय कर्जाको सीमा १ करोड ५० लाखबाट २ करोड पुर्याउनुका साथै पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाख माथिको रियल स्टेट कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारेको थियो। साथै गत पुसमा ५० लाख रुपैयाँसम्मको आवासीय कर्जाको भुक्तानी आम्दानी अनुपात ५० बाट ६० प्रतिशत पुर्याइएको थियो।
राष्ट्र बैंकले आवासीय कर्जामा एकपछि अर्को गरी खुकुलो नीति लिएकाले ऋण लगानी बढेको हो। नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली प्रणालीमा अधिक तरलताका कारण बैंकहरुले सस्तो ब्याजदरसहित स्किम ल्याएकाले आवासीय घर कर्जा बढाएको बताउँछन्। ‘राष्ट्र बैंकका खुकुलो नीति र सस्तो ब्याजदरका कारण आवासीय कर्जा बढेको हो,’ उनले भने।
२० मध्ये १३ वटा बैंकले आवासीय कर्जा बढाएका छन्। एनआईसी एसियाले आवासीय कर्जा सबैभन्दा धेरै ३९.५८ प्रतिशतले बढाएको छ। उसले ८ महिनामा १७ अर्ब ५७ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह गरेको छ। यो रकम वाणिज्य बैंकहरुले ८ महिनामा प्रवाह गरेको रकमको ५९ प्रतिशत हो।
नबिल बैंकले ३ अर्ब ६१ करोड, ग्लोबल आइएमईले २ अर्ब १० करोड, सिद्धार्थ बैंकले १ अर्ब ९३ करोड, कुमारी बैंकले १ अर्ब ७५ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ३५ करोड र एनएमबि बैंकले १ अर्ब १३ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह गरेका छन्।
हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु लगायत ७ बैंकको आवासीय कर्जा लगानी भने खुम्चिएको छ। रकमका आधारमा प्रभु बैंकको आवासीय कर्जा सबैभन्दा धेरै १ अर्ब ६ करोड रुपैयाँ घटेको छ।
बैंकहरुको व्यक्तिगत आवासीय कर्जा लगानीको अवस्था
बैंक | २०८० असारसम्म (रु. दश लाखमा) | २०८० फागुनसम्म (रु. दश लाखमा) | फरक (प्रतिशतमा) |
नेपाल | ८,२६९.५६ | ८,९९१.८९ | ८.७३ |
राष्ट्रिय वाणिज्य | २१,७१४.७२ | २३,०७१.४६ | ६.२५ |
नबिल | २०,७४२.२३ | २४,३५५.९६ | १७.४२ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ८,९५६.५२ | ८,३४३.२५ | -६.८५ |
स्टान्डर्ड चार्टर्ड | ८,९४२.८७ | ८,६५७.९९ | -३.१९ |
हिमालयन | ६,०१०.१६ | ५,५५३.४४ | -७.६ |
नेपााल एसबीआई | १,९८४.८१ | २,२११.५२ | ११.४२ |
एभरेष्ट | २२,९५८.७९ | २२,९००.७६ | -०.२५ |
एनआईसी एशिया | ४४,३७६.६३ | ६१,९४१.२४ | ३९.५८ |
माछापुच्छ्रे | ६,१९६.७१ | ६,४९२.०६ | ४.७७ |
कुमारी | १०,३९२.९० | १२,१४२.२२ | १६.८३ |
लक्ष्मी सनराइज | २०,५७३.८२ | १९,६८२.०४ | -४.३३ |
सिद्धार्थ | ८,७७०.९० | १०,७०९.७९ | २२.११ |
कृषि विकास | ८,९६३.५४ | ८,९२७.५३ | -०.४ |
ग्लाेबल आइएमई | २७,९८९.९७ | ३०,०९०.८७ | ७.५१ |
सिटिजन्स | ८,९०८.९९ | ९,६८६.०० | ८.७२ |
प्राइम कमर्सियल | ७,३८४.३३ | ७,९९९.१२ | ८.३३ |
एनएमबि | १४,०५१.२३ | १५,१८५.९४ | ८.०८ |
प्रभु | १५,२६८.८९ | १४,२०४.२० | -६.९७ |
सानिमा | ६,८८१.६४ | ७,७८८.४२ | १३.१८ |
जम्मा | २७९,३३९.२१ | ३०८,९३५.७० | १०.६ |