‘राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले विकास खर्चमा वृद्धि गर्नुपर्छ’

बिजमाण्डू
२०८० चैत्र २३ गते ०६:५८ | Apr 5, 2024
‘राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले विकास खर्चमा वृद्धि गर्नुपर्छ’

विराटनगर । मोरङ उद्योग व्यापार संघ (साबिकको मोरङ व्यापार संघ)का अध्यक्ष नवीन रिजालले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले विकास खर्चमा वृद्धि गर्नुपर्ने बताएका छन् ।

Tata
GBIME
Nepal Life

संघको ६७ औं साधारण सभामा अध्यक्ष रिजालले मुलुक आर्थिक रूपमा पछि परेको मुख्य कारण नै विकास खर्च हुन नसकेर हो भन्ने उल्लेख गर्दै यसको वृद्धिका लागि आग्रह गरेका हुन्।

रिजालले भने, ‘दुःखको कुरा बजेटमा १७ प्रतिशत मात्र पुँजीगत खर्च राखिन्छ। त्यसमा पनि पुँजीगत खर्चका लागि छुट्याइएको बजेटबाट ३० प्रतिशत मात्रै खर्च हुँदै आएको छ। यसरी कुल बजेटको जम्मा ५ प्रतिशत मात्रै पुँजीगत खर्च भइरहेको तीतो सत्य हामी भोगिरहेका छौं।’

उनले राष्ट्रिय गौरवका आयोजनाहरू ढिलासुस्तीले अगाडि बढिरहेको भन्दै सरकार यसमा चनाखो हुनुपर्ने बताए। साथै, परियोजनाहरूको भुक्तानीमा भएको ढिलाइले पनि अर्थतन्त्रमा नराम्रो असर पारेको उनको भनाइ छ।

उनले ठुला परियोजनाको निर्माण गर्दा त्यसबाट हुने फाइदा सुनिश्चित नगरी निर्माण नै गर्नुनहुने कुरामा जोड दिए। उदाहरण दिँदै रिजालले भने, ‘पोखरा विमानस्थलको निर्माण गरेर हामीले हालसम्म त्यसको पूरा फाइदा लिन सकेका छैनौं। त्यसैले ठुला परियोजनामा हात हाल्नुपहिले सबै कोणबाट अध्ययन गरिनु पर्छ।’

उनले वार्षिक एक लाखभन्दा बढी युवाहरू शिक्षाका लागि विदेश गइरहँदा वर्षमा २५० अर्ब रकम बाहिर गइरहेको तथ्यलाई नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाएको जिकिर गरे।

उनले भने, ‘विदेशी विश्वविद्यालयजस्तै गुणस्तरीय शिक्षा नेपालमा ल्याउन सके नेपाली युवाहरू विदेशिनु पर्दैन। त्यस्तै मेडिकल शिक्षातर्फ विदेशी विद्यार्थीको ३३ प्रतिशत कोटालाई ५० बनाएमा मेडिकल शिक्षासँगै पर्यटनको विकास पनि हुने थियो।’

अध्यक्ष रिजालले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा मध्यम र ठुला गरी ६२ वटा मात्रै नयाँ उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांकले देखाएको स्पष्ट पार्दै यो तथ्यांक कमजोर निराशाजनक भएको प्रतिक्रिया व्यक्त गरे।

उनले भएका उद्योग नै पूर्ण क्षमतामा चल्न नसक्दा नयाँ उद्योगको स्थापना गर्ने उत्साहमा क्षयीकरण भइरहेको बताए।