
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको जलविद्युतमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि भारतीय कम्पनीलाई ठूलो अवसर आएको बताएका छन्।
नेपाली राजदूतावासले बुधबार नयाँ दिल्लीमा गरेको ’दि पावर समिट’ मा कार्कीले धेरै आयोजना अघि बढाइएकाले भारतीय लगानीकर्ताका लागि ठूलो अवसर आएको बताएका हुन्।
‘नेपालमा सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्यसहितको मार्गचित्र तयार भैसकेको छ। यसले भारतीय लगानीकर्तालाई लगानीको लागि ठूलो अवसर निर्माण भएको छ,’ कार्कीले भने, ‘ऊर्जामा उपयोग हुने अधिकांश प्रविधिदेखि मेसिन र उपकरण समेत भारतबाटै लानुपर्ने हुनाले व्यवसायका लागि ठूलो अवसर सिर्जना हुँदैछ।’
नेपालले १५ हजार मेगावाट भारत र बंगलादेशमा निर्यात गर्ने लक्ष्य राखेको र केही महिनाअघि मात्र नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत खरिद बिक्रीको दीर्घकालीन विद्युत व्यापार सम्झौता भएकोले व्यवसायीले निर्धक्क भएर लगानी गर्दा हुने कार्कीको भनाइ थियो।
नेपालमा हाल ३ हजार ३०० मेगावाटका आयोजना निर्माणाधीन, ३ हजार ६०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा र १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा छन्।
उनले तत्कालै लगानी गरेर विकास गर्न सकिने ‘रेडि टु गो’को अवस्थाका आयोजना धेरै रहेको भन्दै विना हिच्किचाहट लगानी गर्न चाहनेलाई इप्पानले सहजीकरण गर्ने बताए। जलविद्युतमा विदेशी लगानी भित्र्याउन भन्दै इप्पानले आगामी वैशाख १२ देखि १४ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो गर्दैछ। कार्कीले भारतीय लगानीकर्तालाई त्यो एक्सपोमा सहभागी हुन पनि आग्रह गरेको इप्पानले जनाएको छ।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण रहेको भन्दै ढुक्क भएर पैसा हाल्न गर्न आग्रह गरे। ‘अहिले नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण छ। लगानी सम्मेलनलाई लक्षित गरी विभिन्न कानुन संशोधन गर्न लागिएको छ। त्यसले लगानी गर्नेलाई अझ सहज हुनेछ,’ उनले भने।
समिटमा अडानी ग्रुपका उपाध्यक्ष जयरामन पुनीधानले ठूलो सम्भावना देखेकाले नेपालको जलविद्युतमा लगानीका लागि आफूहरु इच्छुक रहेको बताए।