नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य, धर्मराएको ब्याटिङमा कुशल मल्लको ४० रन



बिजमाण्डू
२०८० चैत्र २० गते १६:३८ | Apr 2, 2024
नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य, धर्मराएको ब्याटिङमा कुशल मल्लको ४० रन
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको रणजी टोली बरोडालाई १५७ रनको लक्ष्य दिएको छ।

Tata
GBIME
Zonsen

त्रिपक्षीय फ्रेन्ड्सीप कप अन्तर्गत गुजरातस्थित साइ मेघपन स्पोर्ट्स मैदानमा मंगलबार टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो।

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेनन्। ४.२ ओभरभित्र यी दुवै ब्याटर समान ९ रन बनाएर पेभेलियन फर्किए।

त्यस्तै कप्तान रोहितकुमार पौडेलले १८ रन बनाएर ७.३ ओभरमा रनआउट हुन पुगे। ११.५ ओभरमा २७ बलमा २५ रन बनाएका अनिलकुमार साह आउट हुँदा नेपाल ७८-४ को अवस्थामा थियो। लगत्तै अर्को ओभरमा गुल्सन झा १३ रन बनाएर आउट भए।

अफ्ठ्यारो अवस्थामा पुगेको नेपालको पारी कुशल मल्ल र सन्दीप जोराले सम्हाले। यी दुईले ४८ रनको साझेदारी गरे। सन्दीप १७.५ ओभरमा आउट भए।

बिस्फोटक ब्याटिङ गरेका कुशल मल्ल ४० रनमा अविजित रहे। २५ बल फेस गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

बरोडाका लक्षित तोक्सियाले २ तथा परिष्कृत पतिदारले १ विकेट लिए।

बरोडा केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ। प्रतियोगितामा रणजी टोली गुजरात पनि छ। नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो भने बरोडा गुजरातसँग पराजित भएको थियो।