प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले सुरु गर्‍यो ‘नगरकी छोरी’ कार्यक्रम

बिजमाण्डू
२०८० चैत्र १९ गते १०:२९ | Apr 1, 2024
प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले सुरु गर्‍यो ‘नगरकी छोरी’ कार्यक्रम

काठमाडौं। प्रभु बैंक लिमिटेडसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजना अन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रमको सुरुवात गरिएको छ।

Tata
GBIME
NLIC

छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरूलाई सामाजिक एवं आर्थिक रुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरूलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ उक्त आइतबारदेखि उक्त कार्यक्रमको सुरुवात गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभ बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्‍चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। बागलुङ नगरपालिका वडा नम्बर २ की अदिति क्षेत्रीको नाममा एक मुद्दती खाता खोली ‘नगरकी छोरी’ कार्यक्रमको सुरुवात गरिएको हो।

बैंकका अनुसार ‘नगरकी छोरी’ कार्यक्रम सञ्‍चालनसम्बन्धी सम्झौता बमोजिम २०८० असार १ गते पश्चात् बागलुङ नगरपालिका क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ। नगरपालिकाको सिफारिसका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा नगरपालिकाको तर्फबाट ५ हजार रुपैयाँ जम्मा गरिनेछ र बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ।

यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरूले ईच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् भने २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति/छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्‍चालनमा ल्याइएको बैंकले बताएको छ।

‘नगरकी छोरी’ कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरूको सामाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरूलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ति हुने बैंकले विश्वास लिएको छ।