
काठमाडौं। साहसिक पर्यटकीय गतिविधि गर्दै आएको कम्पनी बोटेबोराले वाटर पार्क विस्तार गरेको छ। हाल नारायणघाट, भरतताल र देवघाटमा वाटर पार्क सेवा संचालन गर्दै आएको कम्पनीले नेपालगंजमा सेवा विस्तार गरेको हो।
करिब २ करोड रुपैयाँ लागतमा तयार गरिएको वाटर पार्क वैशाखमा ग्राण्ड ओपनिङ गर्ने तयारी रहेको संचालक विष्णु ढकालले जानकारी दिए।
‘अहिले हामी परीक्षणकालमा छौं। पर्यटकको प्रतिक्रिया अनुसार हामी आउँदो वैशाख १ गतेबाट दुईवटा मोटर बोटमार्फत पूर्णरुपमा सेवा संचालनमा ल्याउने तयारीमा छौं,’ संचालक ढकालले भने, ‘निकट भविष्यमा जेट स्कि, पावर स्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जीपलाइन सेवा पनि विस्तार गर्ने योजनामा छौं।’
ढकालका अनुसार पर्यटकले २५० रुपैयाँमा मोटरबोट सेवा लिन सक्नेछन्। १,२०० वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा ४ किलोमिटर दूरी सयर गर्न सक्ने छन्।
वाटर पार्क संचालन गरेबापत कम्पनीले नेपालगंज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता छ।
कम्पनी सुर्खेतको बुलबुल तालमा पनि वाटर पार्क संचालनमा ल्याउने योजनामा छ।