बाइजु रवीन्द्रन सन् २०१८ सम्म भारतको स्टार्ट-अप जगतमा स्थापित भइसकेका थिए। नयाँ उद्यमीबीच जताततै उनकै चर्चा। कारण थियो उनले आफ्नै नाम दिएको एडटेक कम्पनी बाइजुज। छोटो समयमा नै बाइजुज ‘युनिकर्न’ (१ अर्ब डलर बढी मूल्यको निजी स्टार्टअप कम्पनी) बन्न सफल भएको थियो।
कोभिड-१९ महामारीको समयमा विद्यालयहरू बन्द हुँदा बुइजुज अझै लोकप्रिय भयो, यो संस्था विस्तार हुँदै गयो। धेरै सफल दिनहरु देखेको यो संस्थाले पछिल्लो समय अन्ततः खराब दिनहरू सामना गरिरहेको छ।
निजी स्वामित्वमा रहेको यो कम्पनीको नेटवर्थ कुनै बेला २२ अर्ब डलर मूल्यको थियो। अहिले त्यही कम्पनी नयाँ र घरेलु स्टार्ट-अपहरूको लागि सावधानीको पाठ सिक्ने कथाको पात्र बनेको छ। लगानी कम्पनी ‘ब्ल्याक रक’ले हालै बाइजुजको मूल्य १ अर्ब डलर घोषणा गरेको थियो।
२३ फेब्रुअरीमा बाइजुजको मूल कम्पनी थिंक एन्ड लर्न (टीएण्डएल) का बहुसंख्यक सेयरधनीहरूले साधारण सभा (ईजीएम) बोलाए। ‘विशिष्ट’ भनिएको सो साधारणसभा मार्फत रवीन्द्रनलाई सीईओ पदबाट हटाउने पक्षमा मतदान भयो। उनीमाथि ‘खराब व्यवस्थापन र असफलता’को आरोप लगाइएको थियो।
रवीन्द्रन र उनको परिवारले ती आरोपहरू अस्वीकार गरेका छन्। ईजीएममा कम्तिमा एक संस्थापक-निर्देशक उपस्थित हुनु पर्ने कम्पनीको आन्तरिक प्रावधान उल्लंघन भएको भन्दै उनीहरुले मतदानको वैधतामाथि नै प्रश्न समेत उठाएका थिए। त्यसको भोलिपल्ट कर्मचारीहरूलाई पत्र लेख्दै रवीन्द्रनले सो ईजीएमलाई ‘हास्यास्पद’ भनेका थिए। र, त्यसलाई अदालतमा चुनौती समेत दिएका थिए।
कर्नाटक उच्च अदालतले मुद्दाको सुनुवाइका क्रममा ईजीएममा पारित प्रस्तावहरू कार्यान्वयनमा अस्थायी रूपमा रोक लगाएको थियो।
यो घटना एडटेक कम्पनीले हालैका वर्षहरूमा झेलिरहेको कानुनी र वित्तीय संकटको बढ्दो चाङमध्येको सबैभन्दा पछिल्लो हो।
गत वर्ष मात्रै बाइजुजले चुलिँदो ऋण, असन्तुष्ट लगानीकर्ता, ऋणदाताहरूको मुद्दा, भारतको वित्तीय अपराध एजेन्सीको छानबिन, तलबमा ढिलाइ तथा तरलता संकट लगायतका समस्याको सामना गर्नु परेको थियो। यसबीच कम्पनीले हजारौं कर्मचारी कटौतीसमेत गरेको थियो।
बाइजुजको मूल कम्पनी थिंक एन्ड लर्नले निकै ढिला गरि गत जनवरीमामात्रै सन् २०२२ को वित्तीय विवरण सार्वजनिक गरेको थियो। जस अनुसार सन् २०२२ मा ८२ अर्ब ३० करोड भारतीय रुपैयाँ घाटा भएको रिपोर्टमा उल्लेख छ। कम्पनीले सन् २०२३ को वित्तीय विवरणहरू प्रस्तुत गर्न बाँकी नै छ। उसले विवरण सार्वजनिक गर्न गत वर्षको डिसेम्बरका लागि तोकिएको समयसीमा पनि पार भइसकेको छ।
बलिउडका स्टारहरुले ‘प्रोमोट’ गरेको बाइजुजमाथि पछिल्लोसमय ग्राहकहरूले दबाबपूर्ण प्याकेज बिक्री गरेको आरोप पनि लगाएका छन्। अभिभावकहरूलाई उनीहरूले किन्न नसक्ने पाठ्यक्रमहरू पनि किन्न बाध्य पारेको कम्पनीमाथि आरोप छ।
कम्पनीले निम्न र मध्यम आय भएका व्यक्तिहरूको बचत जोखिममा पारेको आरोपले सामाजिक सञ्जाल भरिएको छ। सन् २०२१ मै कम्पनीले ती आरोपहरूलाई ‘निराधार र सुनियोजित’ भन्दै खण्डन गरेको थियो।
यो महिना बाइजुजले हकप्रद सेयरबाट उठेको रकम प्रयोग गर्न नपाएको भन्दै आफ्ना कर्मचारीलाई तलब भुक्तानी ढिलो हुने जानकारी गराइसकेको छ। एक महिनाअघि पनि कम्पनीले पैसाको अभावमा तलब दिन समस्या भएको बताएको थियो।
बाइजुज सन् २०११ मा एक अनलाइन ट्युटोरिङ फर्मको रूपमा स्थापित भएको थियो। सुरुवातका दिनहरूमा कम्पनी भारतमा विद्यार्थीहरूका लागि कक्षा र प्रतिस्पर्धात्मक परीक्षा तयारीमा केन्द्रित थियो।
कम्पनीले पछि भारतका विभिन्न भाषाहरूमा पाठ्यक्रम सिक्ने एपहरूको विकास गर्यो। बाइजुजको आम्दानीको ठूलो हिस्सा शैक्षिक सामग्री राखिएका ट्याब्लेट, एसडी कार्ड र ल्यापटप जस्ता हार्डवेयरको बिक्रीले ओगटेको थियो।
सन् २०२१ मा कम्पनीले आकाश, टपर, एपिक र ग्रेट लर्निङ जस्ता अन्य एडटेक स्टार्ट-अप र फर्महरू खरिद गरेर कम्पनीलाई विश्वव्यापी रूपमा विस्तार गर्न अर्बौं रकम खर्च गरेको थियो।
बाइजुजले हालसालै हकप्रद सेयर ल्याएर २० करोड डलर उठाउन खोजेपछि कम्पनी र लगानीकर्ताहरूबीच विवाद सुरु भएको हो। ईजीएम हुनुअघि रवीन्द्रनले हकप्रद सेयर पूर्ण रूपमा बिक्री भएको र उठेको रकम कसरी प्रयोग हुन्छ त्यसको निगरानी गर्न कम्पनीले तेस्रो पक्ष एजेन्सी नियुक्त गर्ने बताएका थिए।
तर, कम्पनीको मुल्यांकन भने ह्वात्तै घट्यो। परिणाम स्वरुप हकप्रद सेयर नलिने लगानीकर्ताहरूले कम्पनीमा आफ्नो हिस्सेदारी उल्लेखनीय रूपमा कमजोर भएको महसुस गरे।
‘कुनै पनि लगानीकर्तालाई यो कुरा मन पर्दैन,’ भारतको सबैभन्दा ठूलो अनलाइन ग्रोसरी कम्पनी बिगबास्केटका संस्थापक समेत गरेका ‘एन्जल इन्भेस्टर’ के गणेशले भने।
बाइजुका चार लगानीकर्ताहरूले हकप्रद सेयर निश्कासन रोक्न माग गर्दै कर्पोरेट विवादहरूको निरीक्षण गर्ने अर्ध-न्यायिक प्राधिकरण राष्ट्रिय कम्पनी कानुन न्यायाधिकरण (एनसीएलटी) मा निवेदन दिएका थिए।
न्यायाधिकरणले लगानीकर्ताको निवेदनको टुंगो नलागेसम्म हकप्रद सेयर निश्कासनबाट आएको रकम छुट्टै खातामा राख्न बाइजुजलाई निर्देशन दिएको छ। बाइजुजले न्यायाधिकरणको निर्णयलाई चुनौती दिएको अवस्थामा सुनुवाइ गर्न माग गर्दै लगानीकर्ताले सर्वोच्च अदालतमा पनि निवेदन दिएका छन्।
यसैबीच, लगानीकर्ताहरु न्याय माग्दै अमेरिकी अदालतसम्म पुगेका छन्। फ्लोरिडाको एक अदालतमा मुद्दा दर्ता गर्दै ऋणदाताहरूले ‘हेज फण्ड’मा बाइजुजले गैरकानुनी रुपमा ५३ करोड ३० लाख अमेरिकी डलर लगानी गरेको आरोप लगाएका छन्। कम्पनीले ती आरोपलाई पनि अस्वीकार गरेको छ।
बाइजुजले ‘अफशोर सहायक कम्पनी नै उक्त लगानीको लाभार्थी रहने’ दाबी गरेको छ।
फण्ड व्यवस्थापन गर्ने वेल्थ म्यानेजर क्यामशाफ्टले उक्त रकम बाइजुजको शतप्रतिशत सहायक कम्पनीमा हस्तान्तरण गरिएको अदालतलाई बताएको थियो। एक विज्ञप्तिमा बाइजुजले ‘ग्रुप एन्टिटीहरू नै उक्त रकमको लाभार्थी रहने’ भन्ने अडानमा आफू कायम रहेको बताएको छ।
सन् २०२३ सम्म बाइजुज भारतीय क्रिकेट टिमको प्रमुख प्रायोजक थियो। तर, कम्पनी प्रायोजन दायित्व पूरा गर्न असफल रह्यो। १.५८ अर्ब भारतीय रुपैयाँ बक्यौता नतिरेको भन्दै बाइजुजमाथि मुद्दा दायर भयो। यसमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मध्यस्थता गरिरहेको छ।
२२ फेब्रुअरीमा भारतको वित्तीय अपराध एजेन्सी इनफोर्समेन्ट डिरेक्टोरेटले रवीन्द्रनविरुद्ध ९३ अर्ब भारतीय रुपैयाँ विदेशी मुद्रा अपचलन गरेको भन्दै ‘लुक आउट नोटिस’ जारी गरेको थियो।
बाइजुजले इनफोर्समेन्ट डिरेक्टोरेटबाट अनुसन्धान पूरा भएको दाबी गर्दै भनेको छ, ‘बाइजुजले सबै सान्दर्भिक विदेशी विनिमय व्यवस्थापन ऐनका नियमहरूको पूर्ण पालना कायम राखेको छ र पछि पनि जारी राख्नेछ।’
स्थानीय मिडियाका रिपोर्टहरूका अनुसार रवीन्द्रन हाल दुबईमा छन् र विगत तीन वर्षदेखि उनी दिल्ली र दुबई पटकपटक ओहोरदोहोर गरिरहेका छन्। बाइजुजले भने रवीन्द्रन कहाँ छन् भन्ने बारे खुलाएको छैन।
एक स्वतन्त्र कर्पोरेट गभर्नेन्स रिसर्च र एडभाइजरी फर्मका प्रमुख श्रीराम सुब्रमण्यनका अनुसार बाइजुजको अबको सबैभन्दा ठूलो चुनौती भनेको रकम जुटाउने हो।
गत वर्ष कम्पनीका तीन बोर्ड सदस्यहरू सेकोइया क्यापिटल (हाल पीक १५ पार्टनर्स) का भी रविशंकर, च्यान जुकरबर्ग इनिसिएटिभका भिभियन वू र प्रोससका रसेल ड्रेसेनस्टकले राजीनामा दिएका थिए। हाल बोर्डमा केवल रवीन्द्रन, उनकी पत्नी दिव्या गोकुलनाथ र भाइ रिजु रवीन्द्रन रहेका छन्।
सुब्रमण्यन भन्छन्, ‘कहिलेकाहीँ कम्पनीहरू छिटोभन्दा छिटो असफल हुनु नै राम्रो कुरा हो।’
‘मूल्यांकनको पछि लाग्नुको सट्टा कम्पनीहरूले बलियो व्यापार अभ्यासहरू आत्मसाथ गर्नु पर्छ र ‘लङ गेम’तर्फ ध्यान दिनुपर्छ,’ उनले थप भने, ‘पैसा उठाएर केहि दिनमै मूल्यांकन गर्न जानु खराब चाल मात्रै हो।’
तर, कतिपय भने कम्पनीको समस्यालाई नाफा नोक्सानको दृष्टिले मात्रै हेर्न नहुने बताउँछन्।
‘बाइजुजको बारेमा हुने सार्वजनिक बहस राम्रो र खराब कर्पोरेट व्यवस्थापनकै भाषामा हुने क्रम जारी छ,’ एसओएएस विश्वविद्यालयको मानवविज्ञान तथा समाजशास्त्र विभागका प्राध्यापक सञ्जय श्रीवास्तवले इन्डियन एक्सप्रेसमा लेखेका छन्।
श्रीवास्तवले यसलाई ‘शिक्षाको फास्ट-फूड मोडेल’को रूपमा वर्णन गर्छन् जुन ‘सार्वजनिक रुपमा भलाइ गर्छ या गर्दैन भन्ने धेरै प्रमाण बिना नै नाफा कमाउने मेसिनमा रूपान्तरण भएको छ।’
भविष्यमा नतिजा जस्तोसुकै आए पनि यो संकटले रवीन्द्रनलाई कुनै असर गर्ने सम्भावना भने नरहेको विज्ञहरू बताउँछन्।
गणेशका अनुसार सीईओको रुपमा पुनरागमन गर्नु ‘एक कठिन कार्य’ भए पनि रवीन्द्रन अझै ‘एक उत्कृष्ट उद्यमी’ हुन् जसले ठूलो व्यापार निर्माण गरे र ठूलो रकम जुटाए।
साथै, भारतको स्टार्ट-अप इकोसिस्टमका लागि कम्पनीको ‘उचित, स्थिर नतिजा’ उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
‘यो भारतको सबैभन्दा ठूलो स्टार्ट-अप हो जसलाई विश्वले हेरिरहेको छ,’ उनले भने।
(बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद)