सुनको भाउले २० हजार व्यवसायी संकटमा, १० किलो बेच्न पनि हम्मेहम्मे

हेम रोकाहा
२०८० फागुन २७ गते १३:१३ | Mar 10, 2024
सुनको भाउले २० हजार व्यवसायी संकटमा, १० किलो बेच्न पनि हम्मेहम्मे

काठमाडौं। सुनको भाउ आइतबार तोलाको १ लाख २६ हजार पुगेको छ। सुनको भाउ जति उकालो लाग्दैछ, व्यापार त्यति ओरालो लागिरहेको छ।

Tata
GBIME
Nepal Life

मूल्यको उकालोसँगै सुनचाँदी व्यवसायीको भविष्य संकटमा परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले दैनिक १० किलो सुन पनि बेच्न हम्मेहम्मे छ।

‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्न थालेपछि व्यापार आधा भन्दा बढीले घटेको छ,’ महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बिजमाण्डूसँग भने, ‘विश्वबजारमा सन् २०२४ को अन्त्यसम्म सुनको भाउ प्रति आउन्स ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ। ३ हजार डलर पुग्यो भने यहाँ तोलाको १ लाख ७० हजार रुपैयाँको हाराहारी हुन्छ।’

सुरुमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स २२ सय डलर पुग्ने अनुमान गरिएको थियो। त्यो अनुमान आउँदा नेपाली व्यवसायी विश्वस्त थिएनन्।

‘केही समयअघि प्रति आउन्स १७ सय डलरको हाराहारीमा हुँदा हामीले त्यो अनुमान पत्याएका थिएनौं। तर अहिले २१ सय ७८ डलर पुग्यो,’ शाक्यले भने, ‘अब ३ हजार डलर पुग्नेमा हामी विश्वस्त हुँदैछौ।’

उनका अनुसार पछिल्लो समयमा रुस-युक्रेन युद्ध, इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिका चीन व्यापार युद्धले सुनमा लगानी बढेको छ। साथै डी-डलराइजेसनको मुद्दासँगै विभिन्‍न देशले अन्य मुद्रामा कारोबार गर्न थालेका छन्।

त्योसँगै विभिन्‍न देशका केन्द्रीय बैंकले सुनको मौज्दात बढाउन थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको सञ्‍चिति बढ्दा भाउ आकासियो। र, नेपालको व्यापार भने संकटमा पर्न थाल्यो।

भाउ आकासिएकै कारण विवाहको लगनमा समेत १५ किलोको हाराहारीमा मात्रै सुन बिक्री भयो। ‘लगनको समयमा दैनिक ४० देखि ४५ किलो सुनको कारोबार हुने गर्थ्यो। तर यो पटक १५ किलो बेच्न पनि कठिन भयो,’ उनले भने, ‘आर्थिक मन्दीसँगै मूल्य बढ्दा हाम्रो व्यवसाय संकटमा पर्ने देख्दैछु।’

अहिलेसम्म धेरै ठूलो समूह सुन बेच्न आएका छैनन्। विवाहका लागि गहना किन्‍नैपर्नेले पनि पुराना ल्याएर थपथाप गरिरहेका छन्। तर, विस्तारै पुराना गहना बेच्नेहरु बढ्ने अनुमान शाक्यको छ। आर्थिक संकटमा परेका व्यक्तिहरुले गहना बेचेर समस्या समाधान गर्न खोजेको बताउँदै अर्थतन्त्रमा सुधार नआएकाले त्यो अझै बढ्ने उनले बताए।

‘अहिलेसम्म केही व्यक्तिहरु मात्रै गहना बेच्न आएका छन्। यो विस्तारै बढ्दै जाने देखेको छु,’ उनले भने, ‘हामीले सुन बेच्न ल्याएपछि किन्‍नै पर्छ। अर्थतन्त्र सुधारउन्मुख नभएकाले ठूलो समूह बिक्री गर्न आए भने त्यसले धेरै व्यवसायी समस्यामा पर्छन्।’

देशभर २० हजार भन्दा बढी सुनचाँदी व्यवसायी रहेको अनुमान छ। १ महिनाको अवधिमा सुनको भाउ ८ हजार ३ सय रुपैयाँले बढेको छ। फागुनको सुरुमा सुनको भाउ १ लाख १७ हजार ७ सय रुपैयाँ थियो।

लगातार किन वृद्धि भइरहेको छ मूल्य ?

सामान्यतया आर्थिक अनिश्चितताको समयमा सुनमा लगानी गर्नुलाई सुरक्षित मानिन्छ। यद्यपि, यो बहुमूल्य धातुले लगानी उपज प्रदान गर्ने ग्यारेन्टी भने दिँदैन।

मुद्रास्फीतिले डलरको मूल्यलाई असर गरेको मात्रै छैन बजारको अस्थिरता र उच्च दरहरू जस्ता अन्य चुनौतीहरूले आर्थिक अनिश्चितताहरू निम्त्याउँदै गएका छन्। त्यसैले ब्याजदर बढ्दा तथा उच्च रिटर्न भएका बन्ड र अन्य सम्पत्ति उपलब्ध हुँदा यसमा आकर्षण घट्ने गर्छ।

यसबीचमा कमजोर आर्थिक वृद्धिलाई सम्बोधन गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदरमा कटौती गर्ने लगानीकर्ताहरूले अनुमान गरेका छन्। लगानीकर्ताहरूको यो अपेक्षाले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा ‘बुलिश सेन्टिमेन्ट’ उत्पन्न गरेको छ, जसले सुनको भाउमा थप वृद्धि भएको छ।

करिब ७० प्रतिशत अमेरिकी लगानीकर्ताहरूले फेडरल रिजर्भले जुन महिनामा ब्याजका दरहरू कटौती गर्न थाल्ने अपेक्षा गरेका छन्। एक हप्ता अघिसम्म मात्र उक्त संख्या ५८ प्रतिशत थियो। सिटीले एक अनुसन्धान नोटमा अनिश्चितताले सुनको मूल्यलाई थप बढावा दिने बताएको छ।

त्यसबाहेक, बेरेनबर्गका विश्लेषकहरूले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको सम्भावित विजयले सुनको प्रोस्पेक्टलाई बढावा दिने बताएका छन्। तथापि, आईएनजीका विश्लेषकहरूले फेडरल रिजर्भको नीति आगामी महिनाहरूमा सुनको मूल्यको लागि सबैभन्दा ठूलो आधार रहने बताएका छन्। जसको अर्थ लगानीकर्ताहरूको छोटो अवधिको दर कटौतीको अपेक्षाहरू अनुसार मूल्यहरू निर्धारण हुन सक्नेछन्।