
काठमाडौं। जिरु, निम्बू पानी लगायतका जुस तथा इनर्जी ड्रिंक उत्पादन गर्ने सिंगापुर बेभरेजेज नेपालको व्यापार १० करोड ९० लाख रुपैयाँले बढेको छ। सन् २०२२/२३ मा कम्पनीले ६१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ५० करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२०/२१ मा कम्पनीले ४३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो।
झापाको मेचीनगरमा उत्पादन प्लान्ट रहेको कम्पनीमा रामकृष्ण शर्मा (रमेश शर्मा) र डा. आशीष शर्माको सेयर स्वामित्व छन्। उनीहरु बुवा छोरा हुन्। रामकृष्ण अध्यक्ष र आशीष कम्पनीको प्रबन्ध निर्देशक छन्। कम्पनीले जोइनर, फ्रुट जेम्स, जिरु र निम्बू पानी ब्राण्डमा जुस र इनर्जी ड्रिंक उत्पादन गर्छ।
कम्पनीले ६० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स नेपालबाट रेटिङ पाएको छ। ३९ करोड ९० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी प्लस र २० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एफोर प्लस रेटिङ पाएको छ।