काठमाडौं। निर्माण सामग्रीको बिक्री बढ्न थालेको छ। दसैंतिहारपछि सिमेन्ट, डन्डीसहितका निर्माण सामग्रीको बिक्री विस्तारै बढ्न थालेकामा अहिले थप सुधार भएको उद्योगीहरुले बताएका छन्। कतिपय निर्माण उद्योगको बिक्री पोहोरको तुलनामा ३३ प्रतिशतसम्म बढेको छ।
आर्थिक वर्षको आधा समय बितेपछि सरकारको पुँजीगत खर्च बढ्ने हुँदा त्यसले निर्माण क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्छ। दसैंतिहारयता घरजग्गा किनबेचमा देखिन थालेको सुधारले समेत निर्माण सामग्री बिक्रीमा सकारात्मक प्रभाव पार्न थालेको हो।
उद्योगीहरुका अनुसार, ऋणको भारी धेरै नबोकेका र बजारसँगको दूरी कम भएका उद्योगको व्यापार बढ्न थालेको छ। देशभित्र विस्तारै माग बढेकामा अझ भारतमा निर्यात बढेपछि खासगरी सिमेन्ट उद्योगी उत्साही भएका छन्।
आफ्नै क्लिंकर युनिट भएका सिमेन्ट उद्योगहरुको व्यापार र भरोसा क्रमश: सुधार हुँदै गएको सौरभ समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने बताउँछन्। न्यौपाने सर्वोत्तम सिमेन्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन्।
आफ्नै क्लिंकर युनिट नभएका उद्योगले भोलिको दिनमा सिमेन्ट आपूर्ति गर्न सक्दैन कि भन्ने भयका कारण ग्राहक क्लिंकर प्लान्ट भएका कम्पनीतर्फ सिफ्ट हुने क्रम बढेको उनको भनाइ छ। आफ्नै क्लिंकर युनिट भएका १६ सिमेन्ट उद्योग सञ्चालनमा छन्।
‘सर्वोत्तम सिमेन्टकै कुरा गर्दा गत वर्षको तुलनामा बिक्री (सेल्स) ३३ प्रतिशतले बढेको छ। चालु वर्षको पहिलो ६ महिनामा २ अर्ब ६८ करोड रुपैयाँबराबरको सिमेन्ट बेच्यौं। पोहोर २ अर्बभन्दा कम थियो। ग्रोथ बढ्नुको कारण भनेको हामीले करिब ५० करोड रुपैयाँबराबरको सिमेन्ट भारत निर्यात गर्यौं। दोस्रो कारण भनेको ग्राइन्डिङ युनिटका ग्राहकहरु छोडेर क्लिंकरसमेत भएको सिमेन्टतर्फ आकर्षित भइरहेका छन्,’ न्यौपानेले भने।
पछिल्लो समय सिमेन्ट कम्पनीहरुबीच चर्को प्रतिस्पर्धाले आपूर्ति बढी छ। जसका कारण सिमेन्टको मूल्य निकै सस्तिएको अवस्था छ। यस्तो परिस्थितिमा ठूलो बजारसँगको दूरीले पनि सिमेन्टको व्यापारमा धेरै प्रभाव पारिरहेको छ।
न्यौपानेका अनुसार सर्वोत्तम सिमेन्टको बिक्री बढ्नुमा लोकेसनले ठूलो सहयोग पुर्याएको बताए।
‘पूर्वी नेपालतिरका उद्योगहरु पनि राम्रै चलिरहेका छन्। हेटौंडा बेल्ट तिरको पनि राम्रो चलिरहेको छ। दुई वर्षअघिको भन्दा ग्रोथ त छैन। त्यतिबेला त हामीले ९ अर्ब रुपैयाँसम्मको सिमेन्ट (क्लिंकरसमेत) बेचेका थियौं। त्यसको तुलनामा अहिले बिक्री त घटेको छ। यो वर्ष हामीले साढे ७ अर्ब रुपैयाँ हाराहारीको सिमेन्ट बिक्री गर्छौं भनेर लक्ष्य राखेका छौं। अहिलेको बिक्रीको ट्रेन्डअनुसार लक्ष्य भेट्छौं,’ न्यौपानेले भने।
वर्षको पहिलो ६ महिना निर्माण सामग्री उद्योगका लागि अफसिजन मानिन्छ। दोस्रो ६ महिनालाई भने सिजन मानिन्छ। माघदेखि जेठसम्मको अवधि निर्माण कार्यका लागि उपयुक्त समय मानिने भएकाले बिक्री अझै बढ्ने आकलन उद्योगीहरुको छ।
कम्पनीका हिसाबले बिक्री बढेपनि समग्र बजारको मूल्यांकन गर्दा डिमान्ड भने अझै बढ्न सकेको छैन। सर्वोत्तम सिमेन्टसँग वार्षिक १० देखि १२ अर्ब रुपैयाँसम्मको सिमेन्ट बिक्री गर्न सक्ने क्षमता छ। तर उद्योगले क्षमता अनुसार बिक्री बढाउन सकेको छैन। सरकारी खर्च र उपभोक्ताको क्रयशक्ति क्रमश: घट्दै गएकाले निर्माण सामग्री उद्योग प्रभावित भएको न्यौपाने बताउँछन्।
पछिल्लो समय बैंकहरुले एकल विन्दुमा घर कर्जाका स्किम ल्याएकाले निर्माण क्षेत्रमा सुधारको आशा बढेको छ। बजारमा सिमेन्ट ओभर सप्लाई भइरहेकाले मूल्य महँगिएको छैन। १६ वटा क्लिंकर उद्योगले गरिरहेको आपूर्तिले नै बजार धानिरहेको छ।
चालु वर्ष १२ देखि १३ करोड बोराभन्दा बढी बिक्री हुने अवस्था देखिंदैन। सबै क्लिंकर युनिट भएका उद्योगको क्यापासिटी युटिलाइजेसन अहिले औसत ४५-५० प्रतिशत रहेको न्यौपानेले बताए। ग्राइन्डिङ युनिटको २५-३० प्रतिशत मात्रै छ।
त्यसैगरी, शिवम् सिमेन्टका उपाध्यक्ष (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवालले पोहोरको तुलनामा यो वर्ष सिमेन्ट बिक्री बढ्दै गएको बताए। आन्तरिक बजारमा अझै पनि बिक्रीमा उल्लेख्य सुधार नदेखिएको तर भारतमा सिमेन्ट निर्यात गरिरहेकाहरुको हकमा वृद्धि देखिएको उनको भनाइ छ।
‘बिक्री धेरै बढ्न सकेको छैन। सरकारी खर्चदेखि निर्माणका गतिविधि जति हुनुपर्ने त्यति हुन सकेको छैन। यसले माग बढाउन सघाउँथ्यो। सिमेन्ट उद्योगहरु अहिले आन्तरिक माग व्यवस्थापनमा केन्द्रित भएका छन्। त्योभन्दा बढी गर्न सक्ने स्थिति छैन,’ अग्रवालले भने।
तीन महिनाअघिको तुलनामा अहिले डन्डीको व्यापारमा निकै सुधार देखिएको अम्बे समूहका निर्देशक शिवाज न्यौपानेले बताए।
‘तीन महिनाअघि अर्कै परिस्थिति थियो। त्यसको तुलनामा अहिले त धेरै राम्रो छ अवस्था। तीन महिनाअघि ५० प्रतिशत जतिमा उद्योग चल्थ्यो, अहिले हामीले जति बत्ति पाइरहेका छौं त्यो पूरै समयमा डन्डी उत्पादन गरिरहेका छौं,’ न्यौपानेले भने।अम्बे स्टिल्सले अहिले दिनको १०-१२ घण्टा बिजुली पाइरहेको छ।
जगशक्ति स्टिल्सका प्रबन्ध निर्देशक अनिलकुमार रुंगाटाले माघदेखि नै डन्डीको माग बढ्दै गएको बताए। तीनै तहका सरकारले पुँजीगत खर्च बढाउँदै लग्ने समय भएकाले समेत डन्डीको उपभोग बढ्न पुगेको उनको भनाइ छ।
‘अहिलेको समय भनेको कन्स्ट्रक्सन पिरियड हो। व्यापार उल्लेख्य त भएको छैन तर, सुधार पक्कै भएको छ। डन्डीको मूल्य माग बढेअनुसार भने बढेको छैन। अझै बिक्री बढ्दै गयो भने दाम त बढ्छ। सिजनसँगै सरकारी खर्च बढ्ने भएकाले डन्डीको बिक्री बढ्ने गर्छ,’ रुंगाटाले भने। सिमेन्ट, डन्डीका साथै इँटा, बालुवा, गिट्टीलगायत निर्माण सामग्रीको बिक्री पनि बढ्न थालेको छ।