काठमाडौं। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाएको प्रसारण लाइनबाट बिजुली लैजान भारतीय कम्पनी तयार भएका छन्। अब पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजनाबाट उत्पादन हुने १२ सय मेगावाट बिजुली ग्रीड कम्पनीले बनाउने प्रसारण लाइनबाट भारत जानेछ।
दुईवटा जलविद्युत कम्पनीको प्रवर्धक रहेको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले सुरुमा आफैं डेडिकेटेड प्रसारण लाइन बनाउने भनेको थियो। तर एनएचपीसी ग्रीड कम्पनीले बनाउन लागेको प्रसारण लाइन प्रयोगका लागि तयार भएको छ। ग्रीड कम्पनीको प्रस्तावमा सहमति जनाउँदै एनएचपीसी सम्झौता गर्न तयार भएको हो।
ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नेत्र ज्ञवालीले तीन साताभित्र एनएचपीसीसँग सम्झौता हुने बताए। उनका अनुसार, कम्पनीले तयार पार्ने प्रसारण लाइन प्रयोगबापत ह्विलिङ चार्ज तिरेर एनएचपीसी विद्युत् भारत लैजाने छ।
सेती नदी-६ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् कर्णाली करिडोर ४०० केभी प्रसारण लाइनको बेतन हब सबस्टेसनमा जोडिनेछ। पश्चिम सेतीबाट उत्पादन हुने बिजुली सेती करिडोर ४०० केभी प्रसारण लाइन अन्तर्गतको वनलेक सबस्टेसन जोडिनेछ। दुवै प्रसारण लाइन हुँदै १,२०० मेगावाट बिजुली दोधारा सबस्टेसनसम्म ल्याइनेछ।
एनएचपीसीले दोधारा-बरेली ४०० केभी क्रस बोर्डर प्रसारण लाइन हुँदै बिजुली भारत लैजानेछ।
सतलज जलविद्युत् निगम (एसजेभीएन)ले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि भने उसैले डेडिकेटेड प्रसारण लाइन बनाइरहेको छ। डिडिंग-ढल्केबर-बथानाह ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ।
७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी-६ (एसआर-६) जलविद्युत् आयोजना एनएचपीसीले पाएको छ। २०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा आयोजना विकासको जिम्मा भारतीय कम्पनीलाई दिइएको हो। पश्चिम सेती जलाशयुक्त जलविद्युत् आयोजना हो। यो आयोजना निर्माणका लागि २ खर्ब लाग्ने अनुमान छ।
सेती नदी-६ पनि जलाशययुक्त जलविद्युत् आयोजना हो। यो आयोजना सुदूरपश्चिमको अछाम र डोटीमा निर्माण हुनेछ। सर्वे अनुमति पाएको दुई वर्षभित्र लगानी बोर्डको कार्यालयमा विस्तृत अध्ययन प्रतिवेदन बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ।
ग्रीड कम्पनीले ४०० केभीका दुवै प्रसारण लाइन निर्माण गर्दैछ। सेती करिडोर प्रसारण लाइनको अध्ययन लगभग सकिएको छ। चैनपुरदेखि डोटीको वनलेक हुँदै दोधारासम्म पुग्ने यो प्रसारण लाइन १५६ किलोमिटर लामो हुनेछ।
सेती र सहायक नदीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न र भारत निर्यातका लाग यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो। यो प्रसारण लाइन अन्तर्गत चैनपुर र वनलेकमा दुईटा सबस्टेसन निर्माण हुनेछन्। प्रसारण लाइन निर्माणका लागि १४ अर्ब र सबस्टेसनका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। जग्गा अधिग्रहणसहित कुल १८ अर्ब रुपैयाँ लाग्ने कम्पनीको आकलन छ।
भारतीय एक्जिम बैंकसँग लगानीका लागि छलफल भइरहेको कम्पनीले जनाएको छ। यो प्रसारण लाइन निर्माण थालेको ५ वर्षमा सक्ने लक्ष्य छ।
कर्णाली करिडोर प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी कल्पतरु पावर ट्रान्समिसन लिमिटेड गुजरातले पाएको छ। एक वर्ष पहिले अनुमति पाएको कम्पनीले काम अघि बढाएको छ। कालिकोटको मान्मबाट सुरु भएर अछाम, सुर्खेत हुँदै दोधारासम्म प्रसारण लाइन निर्माण हुनेछ। यो पश्चिम जोड्ने ‘ब्याक बोन’ प्रसारण लाइन आयोजना हो।
कम्पनीले साढे ७ अर्ब रुपैयाँमा ठेक्का पाएको हो। करिब ८० किलोमिटर लामो यो प्रसारण लाइन कर्णाली नदी र महाकाली क्षेत्रको बिजुली आन्तरिक खपत र विदेश व्यापारका लागि समेत उपयोगी हुने गरी निर्माण गर्न लागिएको हो। योजना अनुसार काम भए प्रसारण लाइनबाट २,२०० मेगावाट विद्युत् वहन हुनेछ।