गेटा मेडिकल कलेज सञ्चालनका लागि प्रस्तुत विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

बिजमाण्डू
२०८० माघ २९ गते १५:१७ | Feb 12, 2024
गेटा मेडिकल कलेज सञ्चालनका लागि प्रस्तुत विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं। कैलालीको गोदावरीमा गेटा मेडिकल कलेज सञ्चालनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ। उक्त कलेज सञ्चालनका लागि सरकारले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ अघि बढाएको थियो।

Tata
GBIME

पाँच महिनाअघि मन्त्रिपरिषद्ले अघि बढाएको विधेयक सोमबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेस गरेकी थिइन।

मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले विश्वविद्यालयको विधेयक स्वीकृत गरेको थियो। गत असोज १९ गते राष्ट्रिय सभामा पेश भएको उक्त विधेयक असोज २६ गते प्रस्तुत गरिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिले स्वीकृत भएको थियो।

कात्तिक १४ गते दफावार छलफलपछि विधेयक सोमबार सर्वसम्मतिल पारित भएको हो। कैलालीको गोदावरी नगरपालिका–५ मा निर्माणधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो। विश्वविद्यालयको केन्द्रीय कार्यालय कैलालीको गोदावरी-५ गेटामा हुने विधेयकमा उल्लेख छ। पारित भएको विधेयक प्रमाणीकरण भएको ३१ औं दिनबाट लागू हुने व्याख्यात्मक टिप्पणी गरिएको छ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनका माध्यमले मुलुकको समृद्धिमा योगदान पुर्‍याउन सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्ने निर्णय गरेको थियो। सोमबारको बैठकमा उक्त विधेयकमाथिको छलफलमा मदनकुमारी शाह (गरिमा), दिलकुमारी रावल थापा (पार्वती), युवराज शर्मा, सुरेश आलेमगर र कमला पन्तले सहभागिता जनाएका थिए।