मिल्काइएका फूलपातलाई अर्थतन्त्रसँग जोड्दै सुषमा : विश्व बजारमा सुगन्ध छर्दै ‘फूल प्रसाद’

भावना शर्मा
२०८० माघ २९ गते ०९:३८ | Feb 12, 2024
मिल्काइएका फूलपातलाई अर्थतन्त्रसँग जोड्दै सुषमा : विश्व बजारमा सुगन्ध छर्दै ‘फूल प्रसाद’

फूलको आयु कति हुन्छ?

Tata
GBIME
Nepal Life

बोटबाट चुँडिएपछि सकियो!

यही उत्तरले बिझाइरहँदा सुषमा शर्मा उद्यमशीलताको नमुना बनिन्। उद्यमी बन्ने हुटहुटी त ३० वर्षे जागिरे जीवन त्याग्ने निर्णय गरेकै दिनदेखि थियो। तर के गर्ने कसो गर्ने अलमल भइरहेका बेला उनीभित्रको उद्यमीले फूलको आयु लम्ब्याउने काम थाल्नुपर्छ भनेर ‘नक’ गर्‍यो।

मन्दिर जाँदा भित्रबाट निकालिने डोकोका डोको फूलपातहरु त्यतै कतै बाहिर मिल्काइन्छ। कुनै उत्सवमा उपहार लगिने फूलका बुकेहरु जहाँको त्यहीँ छोडिन्छ। तिहारमा घर सजाउन प्रयोग भएका फूलहरु ओइलिएपछि फोहोरकै रासमा कतै फालिन्छ। यस्तै माला चुडिएपछि पनि त सकिन्छ फूलको आयु।

फूल यसरी फालिएको देख्दा सुषमाको मन कटक्क हुन्थ्यो। उनले कति पटक त पार्टीमा जाँदा त्यसै छाडिएका बुकेहरु घरै ल्याएर सजाएकी पनि छन्।

कसैले कति श्रद्धापूर्वक भर्खरै प्रार्थना गरेर मन्दिरमा चढाएको फूल एकैछिनमा फोहोरको डंगुरमा मिल्किन पुग्छ। सुषमालाई यो सम्झँदा निकै चित्त दुख्थ्यो। सोच्थिन्–’यसलाई नयाँ जिन्दगी दिन पाए कस्तो हुन्थ्यो होला!’

लामो समय फूलको आयुबारे घोत्लिएकी सुषमाले अन्त्यमा यसैलाई उद्यमशीलतासँग जोड्ने निर्णय गरिन्। त्यसैले अब सुषमाका लागि फूल मिल्काएपनि त्यसको आयु सकिँदैन। बुके बनेर कसैको अंगालोमा पुगेपछि फालिएका, मन्दिरबाट बाहिर निकालेर कतै मिल्काइएका, ओइलिएर फोहोरका डुंगुरसम्म पुगेका फूलहरुको ‘जीवन’ सुष्माका हातसम्म पुगेपछि बल्ल सुरु हुन्छ।

आफूजस्तै सोच राख्ने समुद्रराज अर्याल र सागर अर्याललाई भेटेपछि बन्यो सुषमाको डेडिकेटेड टिम अनि सुरु भयो –’फूल प्रसाद’ प्रालि।

यो नेपालको पहिलो कम्पनी हो जसले फालिएका फूलहरुबाट कृत्रिम सुगन्धहरुको प्रयोग नगरी अर्गानिक धुप विदेशमा निर्यात गरिरहेको छ।

‘फूल प्रसाद’ खेर गएका फूलपात बटुलेर अर्गानिक धुप बनाउने यस्तो कम्पनी हो, जसले देशभन्दा पहिले विदेशमा बजार बनाइसकेको छ। ‘फूल प्रसाद’ ले अर्गानिक एसेन्सका रुपमा उत्पादन गरेको धुप हाल अमेरिका, युरोप, जापान र चीन निर्यात गर्दै आएको छ।

कहिलेकाहीँ सुषमाले नमिठो पनि सुन्नुपर्छ-  बैंकिङ करिअर छाडेर के धुप बेच्ने काम गरिरा होला!

‘तर जसले मलाइ यस्तो भनिरहेका छन् नि, उनीहरुले त्यसको भ्यालु नै बुझेका छैनन्। यो धुपमात्र होइन ‘इन्नोभेसन’ हो। मन्दिरमा फालिएको फूललाई हामीले उठाएर ल्याउँदा एकातिर फोहोरको व्यवस्थापनमा मद्दत गरिरहेका छौं। अर्कोतिर यसबाट अर्गानिक सुगन्ध बनिरहेको छ,’ उनी सगर्व भन्छिन्, ‘यसलाई निर्यात गर्दा हामीले प्याकेजिङका लागि सम्पूर्ण उत्पादन नेपाली नै प्रयोग गरेका छौं। महिलाहरुलाई नियमित रोजगारी दिइरहेका छौं। साना उद्यमलाई चलायमान बनाइरहेका छौं।’

उनले उद्यमशीलताका क्षेत्रमा अवसर र सिर्जनशीलताबाहेक केही देखेकी छैनन्। खेर गएका सयौं वस्तुहरु छन्। माग भए पनि दिन नसकेका सयौं उत्पादनहरु छन्।

‘क्रेताले सामान माग्दा दिन सकिएन भने उद्यमीलाई सबैभन्दा बढी पिन्च गर्दो रहेछ। अहिले बजारमा खोज्दा ठूलो परिमाणमा तिल पाइँदैन। गहत र तुलसीको पात छैन। गाउँ गयो युवाहरु छैनन्, खेत बाँझै छ। खोज्ने हो भने यसैभित्र अवसर छैन त?’

यतिबेला जसरी हुन्छ नेपालले उत्पादनमै जोड दिनुपर्छ भन्छिन् सुषमा।

उनी भन्छिन् -‘मार्केट लिंकेजका लागि ‘फ्रस्ट्रेटिङ स्टेज’ नआओस्। बिजनेसको अफर आउँदा छोड्न नपर्नेगरीको उत्पादन र गुणस्तरलाई हामीले कायम गर्न सक्यौं भने अन्तर्राष्ट्रिय बजारमा अवसरै अवसर छन्। यही सोचेर म उत्पादनमूलक उद्यमतर्फ लागें।’

सन् २०१८ को अगस्टमा १३ वर्ष लामो बैंकिङ करियरलाई बिट मार्दै सुषमाले आफ्नै उद्यम थाल्ने निर्णय गरेकी थिइन्। सुरुवात गरिन् उनले ‘हिमालयन ट्राक्विलिटी’ ब्राण्डमा अर्थोडक्स चिया निर्यातबाट।

बैंकमा काम गर्दा गर्दै उनले महसुस गरेको एक्सपोर्टमा ‘ग्याप’ लाई नै उद्यमसँग जोड्ने निर्णय गरिन्।

‘नेपालको प्रोडक्ट राम्रो छ। राम्रो हुँदाहुँदै पनि बजार पाइएन भन्ने सुनिन्थ्यो। राष्ट्र बैंकले क्यास इन्सेन्टिभ दिएको छ तर त्यहाँ फिगरै नपुग्ने! फेरि किन एक्सपोर्ट हुन सकिरहेको छैन त! यही मलाई च्यालेन्जिङ लाग्यो। नेपालको उत्पादनलाई कसरी विदेश पुर्‍याउने भन्नेमा नै काम गर्छु भनेर फोकस्ड भएँ।’- पुराना दिन सम्झिँदै सुषमाले भनिन्।  

सुषमाको उद्यमको सुरुवात चियाबाट भयो। ब्लेन्डेड चियाका विभिन्न फ्लेवर बोकेर उनी विदेशी बजार पुगिन्। इलामकै स्थानीय किसानको उत्पादनलाई प्याकेजिङ गरेर पठाउने काम थालिन्। तर चियाको काम सुरु हुँदा हुँदै कोभिड महामारी आयो। सयौं व्यवसाय धरासायी भएको त्यो समय सुषमाको लागि भने सिर्जनशीलताका हिसाबले गोल्डेन पिरीयड जस्तै बन्यो।

‘फूल प्रसाद’ को कन्सेप्टलाई उनले कोभिड महामारीकै दुई वर्षको दौरानमा अध्ययन र विकास गर्न सकिन्। आफैं मन्दिर चाहारेर फूल उठाउने काम गर्दा गर्दै कोभिडले मन्दिरहरु पनि बन्द भए। तर सुरु भयो यसबारेको म्यासिभ रिसर्च। कपनमा फ्याक्ट्री खुलेको थियो। फूलबाट दिन सकिने बाइप्रोडक्ट, यसले समुदायमा पार्ने प्रभाव र दीर्घकालीन योजनामा कसरी फिट हुन सकिन्छ भन्ने अध्ययनमा उनी र उनको टिमले प्रशस्तै समय खर्चियो।

मेन्टरसिप गर्ने भएकाले पनि सुषमालाई लाग्यो काम गर्दा म आफैं उदाहरण बन्नुपर्छ। त्यसैले कम्पनीका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएरै उनी अघि बढिन्।

यो अवधिमा सबैभन्दा धेरै सुषमाले सोचिन् -आफूले गरिरहेको कामबाट अन्य महिलाहरुलाई पनि उद्यमसँग कसरी जोड्ने होला?

उद्यमशीलताको क्षेत्रमा अरुभन्दा फरक ढंगले सुषमाले बनाएको परिचय उनको यही सोचले बनाएको हो। उनी आफू  उद्यमी मात्र होइनन् धेरै महिलालाई उद्यमी बनाउने व्यक्ति पनि हुन्। घरभित्रै बस्नुपरेका गृहिणीदेखि स-साना उद्यममा जुटेका महिलालाई आफ्नो उद्यमलाई ‘स्केल-अप’ गर्न सकिन्छ भनेर आत्मविश्वास जगाउने ‘उत्प्रेरक’ हुन्।

उनी संस्थापक अध्यक्ष रहेको ‘वीमेन क्यान नेपाल’ संस्थाले महिलाहरुलाई आर्थिकरूपमा सशक्त बनाउने काम गर्दै आएको छ।

सुषमाका अनुसार ‘वीमेन क्यान’ मुख्यगरी तीनवटा कुरामा लक्षित छ। पहिलो- महिलाहरुलाई सशक्तिकरण गर्ने भनेको आर्थिकरूपमा आत्मनिर्भर बनाउने हो। दोस्रो- महिला सक्षम भए परिवारमा पुरुषकै भार पनि घट्छ। तेस्रो- बालबच्चा छोडेर वैदेशिक रोजगारीमा जाने बाध्यतामा परेका महिलाहरुले यहीँ थोरै उद्यमशीलता दिन सक्यो भने विदेशमा कमाउने जत्तिकै पैसा यहाँ पनि कमाउन सकिन्छ भन्ने अवधारणामा वीमेन क्यानले महिलाहरुलाई प्रशिक्षण दिइरहेको छ।

उनी भन्छिन्- ‘हिजोका दिनमा परिवारमा महिलाहरु पुरुषकै कमाइमा निर्भर हुनुपर्ने बाध्यता थियो। तर महिलाले आफैं आर्जन गर्न थाले सकारात्मक परिवर्तन आउँछ। जुन घरका महिला सक्षम हुन्छन् त्यो घर बलियो हुन्छ। बालबच्चा, घर, समुदाय यसरी नै बलियो हुँदै जाँदा देश विकास हुने न हो! रथका दुवै पाङ्ग्रा उत्तिकै बलियो हुँदा समाज विकासको रफ्तार नै बदलिन्छ।’

सुषमाले आफ्नो व्यवसायमा वीमेन क्यानमार्फत गृहिणीदेखि साना उद्यममा लागिरहेका महिलाहरुलाई पनि जोडेकी छन्। उद्यम गर्न चाहने महिलाहरुलाई नयाँ आइडिया दिने र घरमा बसेर सानोतिनो आर्जन गर्न चाहने महिलाका लागि कच्चा पदार्थ उपलब्ध गराएर धुप बाट्नेदेखि प्याकेजिङसम्मका काम उनले दिइरहेकी छन्।

सुषमाका अनुसार गृहिणीहरुले फुर्सदको केही समय दिँदा पनि सुरुवातमै ५ देखि १८ हजारसम्म कमाउन सक्छन्। कम्पनीले गृहिणीहरुलाई घरघरमै कच्चा पदार्थ पुर्याइदिएर आर्थिक सशक्तिकरणमा सघाइरहेको छ। 

फूल प्रसाद ब्राण्डको धुप हाल बेल, सयपत्री, तितेपाती, सुनपाती लगायतका फ्लेवरमा निर्यात हुन्छ। स्थानीय बजारमा पाइने अन्य धुपहरुभन्दा फूल प्रसादको धुप केही महंगो पर्छ। सयवटा बाटेका धुप राखिएको प्याकेटको तीनसय रुपैयाँ पर्ने उनले जानकारी दिइन्।

कोभिड महामारीपछि विदेशमा सबैभन्दा धेरै माग तितेपातीको धुपको भयो। वरिपरिको वातावरणलाई शान्त सुगन्धित र किटाणुरहित बनाउन धेरैले तितेपातीको धुप रुचाएको सुषमाले सुनाइन्। बजारमा हाल बिभिन्न कम्पनीका काठ, कोइला र कृत्रिम सुगन्ध मिसाएर बनाइएका धुपहरु पाइन्छन्। तर कृत्रिम सुगन्धले निम्त्याउने स्वास्थ्य जोखिमहरुप्रति सचेत जमातले विशुद्ध अर्गानिक धुपको माग गरिरहेको छ।

यो अवसरलाई फूलप्रसादले छोप्न सकेको छ। केही सादा र केही रंगीचंगी धुपहरुलाई उसले बजारमा ल्याएको छ। कम्पनीले सिन्का वा बाटेको धुप बाल्न मन नपराउनेहरुका लागि ‘कोन’ धुप पनि ल्याएको छ।

‘सबैभन्दा ठूलो प्रयास भने हामीले यो उत्पादनमा जे जति कच्चा पदार्थ प्रयोग गरेका छौं सबै नेपाली हो। साँखुको नेपाली कागज, भक्तपुरबाट माटोको स्ट्याण्ड, स्वयम्भूमा महिलाले संचालन गरेको प्रेसबाट उत्पादन गरिएको प्याकेजिङमा तयार भएर यो विदेश जान्छ।’- गर्वका साथ सुषमाले सुनाइन्।

उनले जागिरको सुरुवात स्कुल पढाएर गरिन्। त्यसपछि उनी कृषि चुन उद्योगमा पुगिन्। डाबर नेपाल र सूचना प्रविधि आयोग हुँदै उनले एनएमबि बैंकमा १३ वर्ष बिताइन्। ३० वर्षको जागिरे जीवनमा उनले व्यवस्थापन र ग्रामीण विकासको डिग्री लिइन्। बैंकमा काम गर्दै गर्दा उनले इएमबिए पनि सिध्याइन्।

बैंकिङ करिअरमै उनले सिकेको कुरा हो कुनै पनि काममा दखल लिनु छ भने वा सर्भिसबाट प्रोडक्टमा जाँदा कसैलाई अर्हाउने भन्दा पनि पहिले आफू सिक्ने हो। प्रत्येक कदममा आफैंले सिक्ने अनि अघि सर्ने हो।

यही सिकाइले उनलाई मन्दिर मन्दिर चहार्ने बनायो। मन्दिर बाहिर फालिएका फूलहरु बटुलेर उनले नै ल्याउँथिन्। मन्दिरबाहिर मिल्काइएको फूल बटुल्न नदिएको घटना पनि उनलाई याद छ। तर समय फेरिएको उनलाई अनुभव भएको छ। खेर गएका फूल बटुल्न हाल कम्पनीले एउटा गाडी र सात जनाको टोली खटाएको छ। सुषमाले उद्यममात्र होइन सम्पदा क्षेत्रहरुको सफाइको काम पनि गरिरहेकी छन्। सँगै काठमाडौंको फोहोर कम गर्न केही योगदान पनि।

कम्पनीको ट्याग लाइन नै छ -‘वेस्ट टु वर्थ’

बिहानै एउटा गाडी जान्छ। पशुपति, गुह्येश्वरी, सानो पशुपति, वसन्तपुर लगायतका ठाउँहरुबाट फालिएका फूलहरु उठाइन्छ। ती स्थानहरुमा कम्पनीले फूल मलाई भनेर बास्केट पनि राखिदिएको छ। सात जना प्रोसेसिङमा खटिएका छन्। प्याकेजिङका लागि छुट्टै समूह छ। नियमित रुपमा धुप बाट्नेहरु ६० देखि ७० जना रहेको उनले बताइन्। हाल कम्पनीले वार्षिक ५० लाखभन्दा माथिको व्यापार गर्छ।

सुषमा भन्छिन्- ‘आजको भोलि केही पनि हुँदैन। सर्भिस सेक्टरमा काम गर्ने मानिससँग टोलरेन्स हुनुपर्छ। अझ उद्यमी बन्न चाहनेले त झन् यो यात्रामा सधैं हुने उतारचढावलाई झेल्न सकेमात्र सफल हुन्छ। प्यासन, कमिटमेन्ट र डेडिकेसन नभएसम्म कसैले पनि काम गर्न सक्दैन। अनि सबैभन्दा ठूलो कुरा क्यान डु एटिच्युड।’

सुषमाको ‘क्यान डु एटिच्युड’ गजबकै छ। कोभिड महामारीका बेला सबै घरभित्र रहेको समयमा उनले १० कन्टेनर डीडीसी घ्यू निर्यात गरेर अवार्ड नै पाएकी थिइन्। तर उनलाई दुःख त्यतिबेला लाग्यो जतिबेला दोस्रो पटक विदेशबाट आएको घ्यूको माग पूरा गर्नै सकिनन्।

निर्यात गर्दाका नमिठा अनुभव उनीसँग छन्-‘पहिलो वर्ष ५० हजार किलो घ्यू निर्यात गरें तर हाम्रो बजार हेर्नुस् त दोस्रो वर्ष एक हजार किलो नौनी पनि पाइन। किनभने नेपालमा सप्लाइ चेनमै मिस म्याच छ। कुनै पनि चिजमा स्केल अप गर्न हामी सक्दै सक्दैनौं।’

सुषमाको अनुभवले भन्छ- हाम्रो बजार नभएको होइन उत्पादन नभएको हो। उत्पादनमा कन्सिस्टेन्सी नभएको हो। क्वालिटी मेन्टेन नभएको हो।

‘पहिले हामी उत्पादनमा जाम न! हामी त कस्ता भयौं भने डेप्थमा नजाने तत्काल पैसा आउने काममा मात्र मन गर्ने। त्यो उद्यम होइन। बुझ्नुस् उद्यमशीलतामा पहिला पैसा आउँदैन। पहिला लगानी गर्नुपर्छ। नलेज, टाइम, सीड मनि लगानी गर्नुपर्छ। जग बसाउनुपर्छ अनि मात्र घर बनाउने हो। जग बसुन्जेल कति प्यासन छ त्यसले नै अर्को लेभलमा पुर्‍याउने हो। हामी अहिले सर्फेसमै रमाइरहेका छौं। त्यसैले दिगो उद्यम हुन सकेको छैन,’ उनले भनिन्।

सुषमा बिजनेस लिट्रेसीलाई असाध्यै महत्त्व दिन्छिन्। प्रोडक्सन, प्रोसेसिङ/प्याकेजिङ र मार्केट लिंकेजका बारेमा बुझाउनुपर्ने देख्छिन्। सिर्जनशीलताको विकास गर्न सकिने प्रशस्तै आधारहरु देखाउँछिन्। हाल भनिएको स्टार्टअपको अवधारणा रियल हुन नसकेको उनको बुझाइ छ।

‘यहाँ मोटिभेसनल फ्याक्टर नै छैन। नत्र २०१९ मा स्टाबलिस भइसकेका स्टार्टअपहरु अहिले कहाँ गए?’

उनी भन्छिन्- ‘हामीकहाँ ससाना उद्योगहरु नै पुगेको छैन। जस्तै शिशा बन्द गर्ने कर्क काठको धुलोबाट बन्छ। त्यसलाई एउटा सानो मेसिन राखेर बनाउन सकिन्छ तर पनि हामीले भारतबाट ल्याउनुपर्ने बाध्यता छ। भक्तपुरमा त्यति धेरै माटोको काम गर्नेहरु छन् तर आधाभन्दा धेरै गमलाहरु किन भारतबाट आइरहेका छन्? नेपाली कागजकै अभाव पूरा भएको छैन। काम यहीँ भ्याइ नभ्याई छ। म त जताजतै अवसर देख्छु। काम गर्ने प्यासन हुनुपर्‍यो!’

अरुले जे गर्‍यो त्यही पछ्याउने भन्दा पनि नयाँ आइडियाहरुमा काम गर्न उनी सुझाव दिन्छिन्।

‘देशको भविष्य राजनीतिज्ञहरुले मात्र होइन उद्यमीहरुले देखाउन सक्छन्। हाल स्थानीय निकाय गाउँ गाउँमा पुगेकाले उत्पादनमूलक क्षेत्रमा भाइब्रेसन आएको छ यो समयलाई उद्यमीले मोमेन्टम दिनसके हामीले धेरै अवसर लिन सक्छौं। हामीले तालु भएको मान्छेलाई काइँयो बेच्न सक्नुपर्छ। यसका लागि उद्यमीमा प्यासन, टोलरेन्स र डेडिकेसन चाहिन्छ।’

सुषमालाई लाग्छ हरेक मान्छे आफ्नै आत्मविश्वासले उम्दा बन्दै जाने हो। उनको अनुहारमा त्यो आत्मविश्वास झल्किन्छ। त्यो आत्मविश्वास अरु कसैले भरिदिएर नभइ आफैंभित्रबाट जगाउने सिद्धान्तमा उनी पनि विश्वास गर्छिन्।

‘फूल प्रसाद’ र ‘वीमेन क्यान’बाट उनले सयौं महिलालाई उद्यमसँग जोडेर आत्मविश्वास जगाइरहेकी पनि छिन्।

त्यसैले उनी गर्वका साथ भन्छिन् – ‘म मा काम गर्ने एउटा बहुलठ्ठीपन भन्छन् नि! त्यो सवार छ। अवसरहरु जति पनि देख्छु, काम गर्ने हुटहुटी पनि उस्तै छ। अनि म आफू बनिरहेको मात्र छैन सँगै अरुलाई पनि बनाइरहेको छु।’