काठमाडौं। डेढ दशकअगाडि काठमाडौंमा फाइभ स्टार होटलमध्ये धेरै सुनिने नाम हो- ह्यात रिजेन्सी। पाँच तारे होटल अर्थात फराकिलो ठाउँ, संस्कृति परम्परा झल्कने कलासहितको आवरण।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४.२ किलोमिटर दुरीमा रहेको यो होटल अहिले पनि विदेशी पर्यटकको अत्यधिक रोजाइमा पर्दै आएको छ। कारण २३ वर्ष देखि कायम गर्दै आएको आतिथ्य सत्कार, आकर्षक परिसर, संरचना।
द्वन्द्वकाल, महाभूकम्प, नाकाबन्दी, कोभिड-१९ लगायत विभिन्न चुनौतीका कारण कतिपय होटल उद्योग बन्द हुन पुगेका थिए। ह्यात रिजेन्सी यी वाधा व्यवधान छिचोलेर अहिले पनि उही अपूर्व अनुभव अनवरत रुपमा दिने होटलमध्येमा पर्दै आएको छ।
कारण हो होटलको मौलिक वर्चश्व। ३७ रोपनीमा फेलिएको होटलमा अहिले पनि दुई दशकअगाडि देखिका पाहुनाहरुको राम्रो चाप रहेको डाइरेक्टर अफ सेल्स एण्ड मार्केटिङ अमित वालिया बताउँछन्।
१५ वर्ष विभिन्न अन्तर्राष्ट्रिय होटल ब्राण्डमा अनुभव बटुलेका उनी दुई महिनायता ह्यात रिजेन्सीमा आवद्ध छन्। र्याडिसन, रेमोन्ट, मेरियोट, ह्यात लगायत ब्राण्डमा काम गर्दै आएका उनले नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेकै कारण ह्यात रिजेन्सीमा आवद्ध हुन आएको बताए।
ह्यातमा मात्र ६ वर्ष अनुभव संगालेका उनले ह्यात रिजेन्सी अमृतसर, न्यू दिल्लीस्थित जनकपुरी ह्यात सेन्ट्रिकमा काम गरिसकेका छन्। उनी प्रकृति, इतिहास र संस्कृतिमा आफ्नो अभिरुची भएकै कारण नेपालमा आएको बताउँछन्।
‘नेपालको आफ्नै इतिहास छ। यहाँको प्राकृतिक सौन्दर्यता, कला, संस्कृति अनि नेपालीहरुको बानी व्यवहार नै अपूर्वको छ,’ उनले भने, ‘दक्षिण-पश्चिम एसियामा ह्यात अन्तर्गत धेरै ब्राण्डहरु संचालनमा छन्। मेरो लागि नेपालस्थित ह्यात रिजेन्सी अहिलेसम्मकै उत्कृष्ट प्रोपर्टी रहेको छ। पाहुनाले प्रवेशद्वारदेखि नै भिन्न अनुभव बटुल्न सक्ने सौन्दर्यता रहेको छ।’
होटलमा रहेका अधिकांश कला, सौन्दर्यता संस्कृतिकै कारण यहाँ आवद्ध हुन पाउँदा आफूसँगै पाहुनाले गौरव महसुस गर्दै आएको उनले बताए। आफू आएसँगै पाहुनाको प्रतिक्रिया अनुसार धमाधम सेवा विस्तार गर्दै लगिएको उनले बताए।
‘होटलमा आएर प्रतिक्रिया नदिइकन पुनः आवागमन नहुने पाहुनालाई रिझाउन गाह्रो हुन्छ। प्रतिक्रिया दिनुहुने पाहुनाले पक्कै ब्राण्डलाई माया गर्दै आउनुभएको छ,’ उनले भने।
समय अनुसार पाहुनाको मागलाई मध्यनजर गर्दै होटलको ब्युटिफिकेसन, स्पा सेवा, रेष्टुरेण्ट, डाइनिङ अनुभव, बैठक लगायत सेवा विस्तार हुँदै आएको उनले जानकारी दिए। उनका अनुसार ह्यातमा पाहुनासँगै कर्पोरेट इभेन्ट र वेडिङको माग उल्लेख्य रुपमा वृद्धि हुँदै आएको छ।
होटलमा यतिखेर युरोप, कोरिया, जापान, भारत लगायत विभिन्न मुलुकका पाहुनाको आवागमन उल्लेख्य रहेको उनले जानकारी दिए। छिमेकी मुलुक भारतबाट आइरहेका पाहुना ह्यातका लागि मात्र नभई समग्र मुलुककै लागि महत्वपूर्ण रहेको उनी बताउँछन्। पछिल्लो समय चिनयाँ पाहुना पनि उल्लेख्य रुपमा आउँदै गरेको उनले बताए।
होटलमा विभिन्न मुलुकबाट आउने हरेक वर्गका पाहुनालाई एकैनास आतिथ्यता सेवा दिनु नै होटलको मुख्य उद्देश्य रहेको बताउँदै वालियाले बिजमाण्डूसँग भने, ‘कम होस् या मजबुत अर्थतन्त्र भएको मुलुक होस्। हाम्रा लागि सबै पाहुना एकै हुनुहुन्छ, हाम्रो यही विशेषताका कारण यहाँ ताइवानी, अमेरिकी, थाइ, इण्डोनेसिया लगायत सबै मुलुकबाट पाहुनाहरु आइरहनुभएको छ।’
होटलमा काम गर्दै आएका सबै अनुभवी जनशक्तिका कारण दशकौं देखिको वर्चश्व निरन्तर कायम हुँदै आएको उनले जानकारी दिए। होटलमा आवद्ध हरेक जनशक्तिलाई स्वदेशीदेखि विभिन्न मुलुकका पाहुनाको माग अनुसार सेवा दिनेगरी क्षमता अभिवृद्धिमूलक तालिम दिँदै आएको उनले बताए।
ह्यातको रिजेन्सी ब्राण्ड नेपालमा भित्रिएसँगै आतिथ्यता क्षेत्रको लिडरसिप नै उसैले गर्दै आएको उनको जिकिर छ। यही लिडरसिपलाई आउँदा दिनहरुमा पनि निरन्तर्ता दिनेगरी समयको माग अनुसार क्षमता विस्तार लक्षित काम अगाडि बढाउँदै गएको उनले बताए।
‘हामी पाहुनाको माग अनुसारको सेवासँगै जनशक्तिको क्षमता अभिवृद्धिमा पनि केन्द्रित छौँ,’ उनले भने, ‘हामी संचालनमा आएको २३ वर्ष भइसकेको छ। समय अनुसार जनशक्तिलाई तालिम दिँदै पाहुनाको अनुभवलाई पनि उही अनुसार विस्तार गर्दै आएका छौँ।’
एउटै गन्तब्यमा धेरै युएसबी छ
नेपाल आफैँमा फ्रेस डेस्टिनेसन रहेका कारण यहाँ पर्यटन उद्योगमा प्रचुर सम्भावना रहेको उनी बताउँछन्।
‘अन्तर्राष्ट्रिय पर्यटकहरुका लागि भ्रमण गर्ने गन्तव्य भनेको थाइल्याण्ड, इण्डोनेसिया, दुबई लगायत मुलुक रहेका छन्,’ उनले भने, ‘अब पर्यटकले नयाँ र अपूर्व गन्तव्यको आवश्यकता महसुस गरिसकेका छन्। र त्यो नयाँ गन्तव्य भनेको नेपाल नै हो। त्यसैले नेपालको सम्भावना प्रचुर रहेको छ।’
ह्यातकै ग्लोबल सेटअपमा विभिन्न मुलुकको अन्तर्राष्ट्रिय होटलमा काम गरेका उनी भन्छन्, ‘अब तटीय गन्तव्यमा तटमात्र हुन्छ। धार्मिक पर्यटकीय गन्तब्यमा मठमन्दिरहरु धेरै हुन्छन्। तर नेपाल आफैँमा अपूर्व गन्तव्य छ। नेपालमा धार्मिक पर्यटनका लागि मानसरोवर, मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी लगायत आकर्षक गन्तव्य छन्। यो सँगै साहसिक क्षेत्र पनि यहीँ छ। पदयात्रा, पर्वतारोहण यहीँ छ। अर्को कुरा भनेको संस्कृति। यहाँ विभिन्न संस्कृति छन्।’
काठमाडौंमा रहेको रिजेन्सीमा नेवारी संस्कृति र परम्परा झल्किने कला समावेश हुनुका साथै कन्टिनेन्टल तथा रैथाने परिकारलाई पनि उत्तिकै जोड दिइएको उनले बताए।
‘६-७ प्रतिशत जीडीपी पर्यटन क्षेत्रबाटै आइरहेको अवस्था छ। पर्यटन क्षेत्रमा करिब ४५० मिलियन अमेरिकी डलर कायम हुँदै आएको छ। यो पनि सन् २०२८ सम्म वृद्धि भएर ६०० मिलियन अमेरिकी डलर पुग्ने देखिएको छ। यसको लाभ भनेको समग्र सहरले नै लिने हो,’ उनले भने।
विभिन्न मुलुकमा फ्लाइट कनेक्टिभिटी विस्तार भएकै कारण काठमाडौंमा पर्यटन व्यवसायको उल्लेख्य सम्भावना रहेको उनले बताए। पछिल्लो समय नेपालमा धमाधम भित्रिएको अन्तर्राष्ट्रिय होटल ब्राण्डले प्रतिस्पर्धामा थप महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।
‘प्रोडक्टको अनुभव गर्ने हो भने यतिखेर सहरमा विभिन्न अन्तर्राष्ट्रिय चेन होटल आइसकेका छन्। नेपाली लगानी र व्यवस्थापनमै रहेका कतिपय होटलहरुको अनुभवका आधारमा आ-आफ्नै विशेषता छन्। तर ह्यात जत्तिको होटल भने पाउन मुस्किल छ। सहरमै भिन्न अनुभव दिने होटल हो ह्यात रिजेन्सी,’ उनले भने।
ह्यात रिजेन्सी नेपालको प्राइड प्रोजेक्ट अन्तर्गतको होटल रहेकै कारण कर्पोरेट हाउस, ट्राभल एजेन्ट्स लगायत क्षेत्रको उल्लेख्य सहयोग पाउँदै आएको उनले जानकारी दिए।
होटलको संरचनासँगै मार्केटिङ स्ट्राटेजी, राइट सेल्स स्ट्राटेजीकै कारण पाहुनाको आवागमन उल्लेख्य रहँदै आएको उनले बताए।
‘हामी एउटा सेग्मेन्टमा मात्र सीमित छैनौँ। हामीले आफ्नो सेवालाई विविधीकरण गरेका छौँ। हामीसँग पर्यटक छन्, कर्पोरेट बिजनेस छ, प्राकृतिक सौन्दर्यता छ जसका कारण निरन्तर रुपमा अकुपेन्सी कायम हुँदै आएको छ,’ उनले भने, ‘सेल्स एण्ड मार्केटिङमार्फत बिजनेस एक पटक आउने हो। तर निरन्तर व्यवसाय चलायमान बनाउनका लागि समग्र पर्यटन क्षेत्रको बराबर भूमिका हुन आवश्यक छ।’
होटलमा पाहुनाको प्रवेशसँगै हरेक कर्मचारीमा आफू जुनसुकै पदमा रहे पनि आतिथ्यता सत्कार संस्कार रहँदै आएको उनले बताए।
उनले भने, ‘म यहाँ डाइरेक्टर अफ सेल्स एण्ड मेनेजरको पदमा रहेपनि पाहुनाका लागि हामी जुनसुकै पदमा रहेपनि आतिथ्यताकै लागि यहाँ छौँ। ह्यातमा यो संस्कार हाबी छ। र आतिथ्यता उद्योगका लागि यो नै महत्त्वपूर्ण छ।’
अरु होटलसँगको प्रतिस्पर्धा भन्दा गन्तव्यको हिसाबले विभिन्न मुलुकसँग प्रतिस्पर्धा गर्नु नै होटलको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए।
‘यहाँ लागू हुँदै आएको मूल्य अरु मुलुकसँग तुलनै गर्न मिल्दैन। सबैको आ-आफ्नो महत्व हुन्छ। नेपाललाई अरु गन्तव्यसँग तुलनै गर्न मिल्दैन,’ उनले भने।
पर्यटनसँग जोडिएका समग्र निकायले सहकार्य गरेर लजिस्टिक, प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संजाल विस्तार लगायतमा ध्यान दिँदा होटल क्षेत्रमात्र नभई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको तर्क थियो।
समय अनुसार अनवरत गुणस्तरीय सेवा दिनुको पछाडि जनशक्तिलाई निरन्तर रुपमा दिँदै आइएको तालिम रहेको उनी बताउँछन्। सिकाइ कहिले पनि नसकिने भएका कारण सबै जनशक्तिलाई नियमित तालिम दिएर परिचालन गर्दै आएको उनले बताए।
‘दुई दशक अगाडिको समय र अहिलेको समय फरक छ। पहिला मान्छेहरु आफ्नो लगानी घर सम्पत्ति गरगहना जोड्नमा लागिपर्ने। तर अहिलेको पुस्ता नयाँ अनुभव लिनका लागि उत्सुक छन्। अहिले खरिद कार्यमा आमुल परिवर्तन आइसकेको छ,’ उनले भने, ‘होटलमा कार्यरत कर्मचारी र पाहुना हाम्रो लागि अर्थपूर्ण हुनुहुन्छ। ह्यात सबै पाहुनाका लागि हो। कलेज, कर्पोरेट हाउस, सामाजिक समारोह लगायत सबै प्रयोजनका लागि सबैले सेवा लिन सक्नुहुन्छ।’