६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, ७९ करोड ७१ लाख राजस्व संकलन

बिजमाण्डू
२०८० माघ २८ गते १४:१६ | Feb 11, 2024
६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा, ७९ करोड ७१ लाख राजस्व संकलन

काठमाडौं। ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्‍न सवारी साधनहरुलाई कारबाही गरेको छ। गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८ सय ५२ रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

Tata
GBIME
NLIC

राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३ रुपैयाँ, मधेशबाट १० करोड ५ लाख ५८ हजार ९०१ रुपैयाँ, बागमतीबाट ७ करोड ८८ लाख ४० हजार संकलन भएको छ। त्यस्तै, गण्डकीबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनीबाट ९ करोड ३८ लाख ६४ हजार २, कर्णालीबाट १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्‍चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार ट्रक/ट्यांकरबाट १५ करोड १९ लाख ९५ हजार ४ सय रुपैयाँ, बस/मिनिबसबाट ९ करोड २० लाख ५, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६ रुपैयाँ, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको हो।

राजस्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्याङ्कमा उल्लेख छ। मादक पदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजस्व संकलन गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्यांकर १ लाख ७० हजार ८४२ वटा, बस/मिनिबस १ लाख ९ हजार ३७७, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल ४ लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन्। कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङकले देखाएको छ। रासस