
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमको कर्पोरेट सेफ्टी म्यानेजरमा विकास थापाको नियुक्ति स्वीकृत गर्ने तयारी गरेको छ। थापाको अनुभवमा विवाद भएपछि प्राधिकरणले पुनः सबै कागजात अध्ययन गरेर जिम्मेवारी दिने तयारी गरेको एक कर्मचारीले बताए।
‘सुरुमा उहाँको नियुक्तिका लागि बुझाइएको कागजपत्र अध्ययन अनुसार अनुभव कम हुने देखिएको थियो। तर नौ वर्षदेखि यही काममा उहाँको अनुभव देखिएको छ,’उनले भने,’हामी विभिन्न चरणको एसेसमेन्टपछि उहाँको नियुक्ति स्वीकृत गर्नेछौँ।’
युरोपेली युनियनले निगमको समग्र सुरक्षा व्यवस्थापन नै सुधार गर्नुपर्ने सुझाव दिएसँगै निगमले सेफ्टी म्यानेजरमा थापालाई नियुक्त गर्न प्रक्रिया अघि बढाएको थियो।
कर्पोरेट सेफ्टी र जहाज सर्टिफाइ दुवै कामका लागि एउटै व्यक्ति नराख्न ईयूले दिएको सुझाव अनुसार निगमले प्रक्रिया अघि बढाएको हो। सेफ्टी डाइरेक्टरको जिम्मेवारी इन्जिनियर, पाइलट, सुरक्षा विभाग, सञ्चालनलगायतको निरीक्षण हो।