काठमाडौं। नेपाल वायुसेवा निगममा उपाध्यक्ष नियुक्त गर्ने निर्णय कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ। मन्त्रिपरिषद्को माघ १८ गते बसेको बैठकले विक्रम राईलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेकामा अझै पनि नियुक्तिपत्र नदिइएको हो।
राई निगम संचालक समितिका सदस्य हुन्। निगमका एक उच्च अधिकृतले राईले उपाध्यक्षका रुपमा पदभार ग्रहण गर्न बाँकी रहेको जानकारी दिए।
‘उहाँले हालसम्म नियुक्तपत्र नै नपाएको जानकारी आएको छ। नियुक्तिपत्र नपाइ पद्भार ग्रहण गर्ने कुरा भएन,’ ती अधिकृतले भने, ‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा किन यति लामो समय लगाइएको हो बुझ्न सकिएको छैन। यसअघि यति लामो समय लगाइएको जानकारी छैन।’
निगममा यसअघि कहिल्यै उपाध्यक्ष नियुक्त गरिएको थिएन। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कामबाट रुष्ट भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चाहनामा राईलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय भएको हो। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राईलाई उपाध्यक्ष नियुक्त गर्ने प्रस्ताव लगेका थिए।
निगम सम्बन्धी ऐनमा अध्यक्ष, उपाध्यक्ष वा कुनै संचालकलाई महाप्रबन्धकको काम कर्तव्य सुम्पी कार्यकारी अध्यक्ष, कार्यकारी उपाध्यक्ष वा कार्यकारी संचालकको रुपमा नियुक्त गर्ने सक्ने व्यवस्था छ। निगममा अहिले महाप्रबन्धक छैनन्।
प्रधानमन्त्रीको चाहना र पर्यटनमन्त्रीको प्रस्तावमा उपाध्यक्ष बनाउने निर्णय गरिएका राईलाई ९ दिन भइसक्दा पनि नियुक्तिपत्र नदिइएपछि कतै अध्यक्ष अधिकारीले अर्को चलखेल गर्न भ्याइसकेका त होइनन् भन्ने आशंका निगमभित्र गर्न थालिएको छ। अधिकारीले आफूलाई हटाउने तयारीका रुपमा राईलाई उपाध्यक्ष बनाउने निर्णय भएको रुपमा लिएका छन्।