मोदीको नोटबन्दीपछि हटकेक बनेको पेटीएम किन हुँदैछ क्र्यास ! बुधबारयता सेयर मूल्य ४२% झर्‍यो

बिजमाण्डू
२०८० माघ २२ गते १५:१० | Feb 5, 2024
मोदीको नोटबन्दीपछि हटकेक बनेको पेटीएम किन हुँदैछ क्र्यास ! बुधबारयता सेयर मूल्य ४२% झर्‍यो

एक समय भारतको हटकेक मानिएको स्टार्टअप पेटीएमले पछिल्लो केही समयमा सेयरबजारबाट ८० प्रतिशतभन्दा बढी मूल्य गुमाइसकेको छ।

Tata
GBIME
Nepal Life

भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्दै पब्लिक कम्पनी बनेको पेटीएमले सन् २०२१ मा सेयर जारी गरे यता उसको सेयरमूल्यमा ८० प्रतिशतभन्दा बढी गिरावट आएको छ। गत बुधबारदेखि उसको सेयरमूल्य ‘क्र्यास’ हुँदै पाँच दिनमा ४२ प्रतिशत गिरावट आएको हो।

भारतको असाध्यै चर्चित डिजिटल पेमेन्ट कम्पनीको सेयर मूल्य क्र्यास हुँदा भारतको सेयर बजार आफैं भने ‘अल टाइम हाइ’ रेन्जमा छ।

हुन त सन् २०२१ को नोभेम्बरमा सेयर बजारमा डेब्यू गरेको कम्पनीले सुरुवातदेखि नै सेयर बजारमा संघर्ष गरिरहेको छ। उसले लगानीकर्तालाई कन्भिन्स गर्न नसकेको बताइन्छ। भारतमा बढ्दो घरेलु  कम्पनीहरु तथा अन्य अमेरिकी टेक फर्महरुसँगको प्रतिस्पर्धामा जान सकिन्छ र नाफामा लैजान सकिन्छ भन्ने आत्मविश्वास जगाउन नसकेपछि कम्पनी लगातार समस्यामा छ।

त्यो भन्दा बढी त फेब्रुअरी १ मा भारतको केन्द्रीय बैंक आरबीआईले जारी गरेको एक ‘निर्देशन’ पेटीएमका लागि सबैभन्दा ठूलो संकट साबित भएको छ। केन्द्रीय बैंकले उसलाई नयाँ ग्राहक बनाउन रोक लगाएको छ भने उसको पेटीएम बैंकलाई बन्द गर्न आदेश दिएको छ।  

हाल पेटिएमको सेयर मूल्य जम्मा ४३८ भारु अर्थात प्रति सेयर ५ डलरभन्दा पनि कम मूल्यमा कारोबार भइरहेको छ। केन्द्रीय बैंकले पेटीएमको व्यापार विस्तारलाई रोकिदिएपछि कम्पनी थप गम्भीर अवस्थामा पुगेको हो।

आरबीआईले गत बुधबारमात्रै पेटीएम बैंकमार्फत निक्षेप नलिन तथा अन्य प्रमुख सेवाहरु रोक्न आदेश दिएको छ। पेटीएमको ‘निरन्तरको अवज्ञा तथा लापरवाही’ लाई कारण देखाउँदै आरबीआईले यस्तो कदम उठाएको जनाएको छ।

यो सर्कुलर जारी भएपछि भारतको टेक कम्युनिटी आश्चर्यमा परेको छ भने पेटीएम उसका ३० करोडभन्दा बढी ग्राहक तथा  करोडौं लगानीकर्ताहरुलाई आश्वस्त पार्न प्रयासरत छ।

नियामकहरुसँगको समस्या सुल्झाउन तत्काल आवश्यक कदम चालेको विश्वास दिलाउँदा पनि बजारमा पेटीएमको सेयर मूल्य घट्न रोकिएन। दुई दिनमै उसले आफ्नो मार्केट क्यापिटलाइजेसनको २ अर्ब ४० करोड डलर गुमाइसकेको छ। अब कम्पनी जम्मा ३ अर्ब ३० करोड डलरको छ।

आरबीआईको यो आदेशले समग्र पेटीएम बिजनेस संस्थागत रुपमै जोखिममा परेको र यसले उसको भविष्यमा हुने व्यापार प्रदर्शनलाई नै प्रभावित बनाउने स्टोक्स बक्सका अनुसन्धान प्रमुख मनीष चौधरीले बताए।

पेटिएमले उसको बैंकिङ भुक्तानी कारोबार सन् २०१७ मा सुरु गरेको थियो। आरबीआईको एक्सनलाई पेटीएमका संस्थापक तथा सीइओ विजयशेखर शर्माले ‘स्पीड बम्प’ को संज्ञा दिएका छन्।

कम्पनीले मनी लन्ड्रिङका विषयलाई लिएर उसमाथि अनुसन्धान भइरहेको भन्ने प्रश्नलाई भने नकारेको छ। ‘न कम्पनी, न यसका संस्थापक वा सीइओविरुद्ध कुनै अनुसन्धान भइरहेको छ। यसअघि हाम्रो प्लाटफर्ममा रहेका केही व्यापारी तथा प्रयोगकर्ताहरुबारे सोधपुछ हुँदा हामीले यसबारे सधैं नियामक तथा अधिकारीहरुसँग सहकार्य गरेर सहयोगी भूमिकामा रहेका छौं,’ कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ।

सन् २०१६ मा पेटीएम एपले भारतको घरेलु एपका रुपमा चर्चा पाएको थियो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ५ सय र १ हजारका नगद नोटहरुमाथि अचानक प्रतिबन्ध लगाएका थिए।

नोटबन्दीको समयमा भारतीयलाई भुक्तानीका लागि पेटीएमले ठूलो राहत दिएको थियो। एक महिनाभित्रै उसले एक करोड नयाँ प्रयोगकर्ताहरु बनाएको थियो। त्यसपछि भारतभित्र पेटीएम घरेलु ब्राण्डका रुपमा स्थापित हुन पुग्यो।  

किन आयो आरबीआईको आदेश ?

आरबीआईले पेटीएमको पेटीएम पेमेन्ट बैंकलाई बन्द गर्ने आदेश दिएको छ। यो अनुसार पेटीएमका धेरै सेवाहरु आगामी २९ फेब्रुअरीदेखि बन्द हुनेछन्।

पेटिएमले नियामकले जारी गरेका विभिन्न नियमहरुको बारम्बार उल्लंघन गरेको भन्दै यस्तो निर्णय गरेको आरबीआईले जनाएको छ।

भारतीय डिजिटल पेमेन्ट बजारमा पेटीएमको १६ देखि १७ प्रतिशत बजार हिस्सा छ। पेटीएमको यो सेवा बन्द भएसँगै भारतका करोडौं मानिस प्रभावित हुने छन्। आरबीआईले जारी गरेको निर्देशनअनुसार अडिट रिपोर्ट तथा बाह्य अडिटरहरुको रिपोर्टका आधारमा पेटीएमले लगातार नियमहरु उल्लंघन गरेको पाइएको कारण उसमाथि कारबाही गरिएको हो।

आरबीआईले बैंकिङ रेगुलेसन एक्ट ३५ ए नियमअन्तर्गत २९ फेब्रुअरीपछि पेटीएम पेमेन्ट्स बैंकका ग्राहकले कुनै पनि क्रेडिट, डिपोजिट, कारोबार, वालेट, फास्टट्यागजस्ता सेवाहरु प्रयोग गर्न सक्ने छैनन्।

अब पेटीएमले आफ्ना ग्राहकहरुलाई वालेटमा रहेको सबै ब्यालेन्स निकाल्ने तथा प्रयोग गर्न सम्पूर्ण सुविधा दिनुपर्ने पनि आरबीआईले बताएको छ। २९ फेब्रुअरीपछि पेटीएम पेमेन्ट्स बैंकका ग्राहकले यसको प्रयोग गर्न मिल्ने छैन। आरबीआईले आगामी १५ मार्चसम्ममा पेटीएमको नोडल एकाउन्ट सेटल गर्न पनि भनिसकेको छ।

तर पेटीएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन ओसीएलले पेटीएम पेमेन्ट्स बैंक आरबीआईले दिएको निर्देशनहरु पालना गर्ने दिशामै अघि बढिरहेको र अब यी कामहरु अझ तीव्रत्तर गतिमा गर्ने जनाएको छ।

‘एक पेमेन्ट कम्पनी भएकाले ओसीएल केवल पेटीएम पेमेन्ट्स बैंक मात्र नभई अन्य धेरै बैंकहरुसँग पनि काम गर्छ। अब हामी यो प्रक्रियालाई अझ तीव्र रूपमा अघि बढाउँछौं र रोक लागू हुनु अघि नै हामी सम्पूर्ण रुपमा आफ्ना बैंकिङ साझेदारहरुसँग काम गरिसक्नेछौं,’ उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बन्द गर्न लागिएको पेटीएम पेमेन्ट बैंक के हो?

ग्राहकले पेटीएम पेमेन्ट बैंकमा केवल निक्षेपमात्र जम्मा गर्न सक्ने तर ऋण लिन नसकिने किसिमको पेमेन्ट बैंक हो। यसबाट डेबिट कार्ड त जारी हुन्छ तर क्रेडिट कार्डका लागि अन्य कुनै लेन्डर रेगुलेटरसँग उसले सम्झौता गर्नुपर्ने हुन्छ।

अर्थात यो यस्तो बैंक एकाउन्ट हो, जहाँ पैसा राख्न मात्र सकिन्छ। कुनै पनि कारोबारीले  प्राप्त गर्ने रकम सिधै पेटीएम पेमेन्ट एकाउन्टमा जान्छ र त्यसबाट सम्बन्धित व्यक्तिको खातामा उक्त रकम ट्रान्सफर हुन्छ। यसबापत पेटिमले आफ्ना ग्राहकलाई क्रेडिट प्वाइन्ट दिन्छ।

आरबीआईका अनुसार २९ फेब्रुअरीसम्म पेटीएमको सबै सेवाहरु सामान्य रुपमा चल्नेछन्। त्यसपछि भने पेटीएम वालेट तथा युपीआई सर्भिस प्रयोग गर्ने प्रयोगकर्ताले साइटमा केही भिन्नता महसुस गर्नेछन्।

ग्राहकले हालसम्म वालेटमा रहेको पैसा अन्यत्र ट्रान्सफर गर्न सकिने तर अब वालेटमा थप रकम डिपोजिट गर्न नसक्ने पनि बताइएको छ। तर यदि पेटीएम एकाउन्ट अन्य कुनै ‘थर्ड पार्टी’ बैकसँग जोडिएको छ भने पेटीएमले काम गर्ने तथा युपीआई पेमेन्ट पनि प्रयोग गर्न सकिने बताइएको छ।

थर्ड पार्टी बैंक भन्नाले पेटीएम बैंक बाहेक यदि एसबिआई, एचडीएफसी बैंक वा पंजाब नेशनल बैंक जस्ता कुनै पनि मान्यता प्राप्त बैंकको एकाउन्टमा समेत पेटीएम जोडिएको छ भने पुरानै तरिकाअनुसार यो सेवा लिन मिल्ने बताइएको छ।

आरबीआईको यो निर्णयका बारेमा प्रतिक्रिया दिँदै भारत पेका संस्थापक अशनिर ग्रोवर भन्छन् – ‘यस्ता किसिमका कारबाहीले भारतको फिनटेक सेक्टरलाई नै धरासायी बनाउनेछ। आरबीआई फिनटेकको व्यापार किन चाहिरहेको छैन भन्ने मैले बुझेको छैन। यसबारेमा अर्थमन्त्रालय, अर्थमन्त्री वा सिधै प्रधानमन्त्रीले नै चासो देखाउनुपर्छ।’

आरबीआईको यो निर्णयले पेटीएमको एक प्रमुख कारोबार बन्द भए पनि बाँकी दुई भने संचालनमा नै रहिरहनेछ। उसका दुई ठूला सेवा पेटीएम वालेट र युपीआई संचालनमा रहिरहे पनि त्यसले कम्पनीको साखमा भएको नोक्सानी र सेयर मूल्यमा देखिएको लगातारको गिरावटलाई थेग्न सक्छ वा सक्दैन त्यो भने समयले नै बताउनेछ।