नाङ्लोको एम्बियन्स र मौलिक मेनुमा विस्तारित रेस्टुराँ ‘द लन’, ८० प्रतिशत नयाँ आइटम   

वसन्तराज उप्रेती
२०८० माघ २० गते १५:०८ | Feb 3, 2024
नाङ्लोको एम्बियन्स र मौलिक मेनुमा विस्तारित रेस्टुराँ ‘द लन’, ८० प्रतिशत नयाँ आइटम     

काठमाडौं। पुल्चोकबाट झम्सिखेलतर्फ लाग्दा दायाँतिर रहेको एउटा नयाँ रेस्टुराँले धेरैको ध्यान खिच्छ। मुलद्वारबाट भित्र प्रवेश गरेलगत्तै देखिन्छ- द लन नाङ्लो।

Tata
GBIME
Nepal Life

‘नाङ्लो’ आफैंमा मुलुककै संस्थागत रेस्टुराँको पर्याय बन्दै आएको ब्रान्ड हो, जसले हस्पिटालिटीको साढे ४ दशकको उतारचढाव भोगिसकेको छ। सञ्चालकका अनुसार द लनका दुई विशेषता बनेका छन्- एम्बियन्स र मेनु।

रेस्टुराँको बायाँपट्टि डाइनिङ हल छ। डाइनिङ हल भित्तामा खुत्रुक्के जस्तै देखिने लस्करै राखिएको माटोका भाँडाले यसको लिगेसीलाई प्रतिनिधित्व गरिरहेको अनुभव हुन्छ। डाइनिङ कक्षसँगै दायाँपट्टि खुला बगैंचा। यही बगैंचाले ‘कनेक्ट’ गर्छ रेस्टुराँको पहिचान।

‘लन’ अर्थात् बगैंचा। रेस्टुराँको एउटा हिस्सा आउटडोर स्पेसमा भएकाले चिसोसँग भिड्न हिटरहरु तयारी अवस्थामा देखिन्छन्। बगैंचाबाट थोरै अगाडि बायाँतर्फ छ बार। र, अगाडिपट्टि कृत्रिम छहरा। छहरामाथि विभिन्‍न प्रजातिका बोटबिरुवा। फेदमा सानो तलाउ। अनि त्यहाँ छन् तैरिरहेका माछा।

सहरी कोलाहालको बीचमा आउटडोर ‘एम्बियन्स’ले लठ्याउँछ। यसको सँगै बालबालिका भुल्ने स्थान। काठे पुल, चिप्लेटीसहित ‘प्ले जोन’ले रेस्टुराँ ‘सबै’को बन्‍न पुगेको छ। त्यसभन्दा अगाडिको भवन छ, जहाँ भुइँतलामा किचन छ। ओपन किचनमा सेफ र हेल्परले काम गरिरहेको देखिन्छ।

रेस्टुराँ व्यवसायलाई स्थापित गर्ने क्रममा नाङ्लो समूहले उत्तिकै ध्यान दिएको छ यसको आधुनिकीकरणतर्फ। ग्राहकको अर्डरका लागि कागज कलम चल्दैन यहाँ। किचनमा एउटा ठूलो डिस्प्ले छ, जसलाई ‘किचन डिस्प्ले सिस्टम’ भनिन्छ। डिजिटल रुपमा लिइने ‘अर्डर’ त्यही स्क्रिनमा डिस्प्ले हुन्छ। त्यही हेरेर सेफले परिकार तयार गर्छन्। डिस्प्लेमा खानेकुरा तयार हुने अनुमानित समय पनि देखिन्छ।

मल्टी कुजिन रेस्टुराँ अवधारणाअन्तर्गत गरिएको अध्ययनअनुसार ‘द लन’ सञ्‍चालनमा ल्याइएको नाङ्लो प्रालिका प्रबन्ध निर्देशक तैजस कक्षपति बताउँछन्। पाहुना र बजारको मागअनुसार फरकखाले सेवा दिने उद्देश्यले यसलाई सञ्‍चालनमा ल्याइएको उनले बताए।

यस समूहले केही समय अघिमात्र चाइनिज किचन सञ्‍चालनमा ल्याएको थियो। ‘द लन’ त्यसपछिको आउटलेट हो।

‘काठमाडौंमा खुला ठाउँसहितको रेस्टुराँ धेरै छैन। यहाँ आइसकेपछि काठमाडौंको साँघुरोपनाबाट केही भए पनि खुला र हरियाली अनुभूति हुन्छ। त्यही अनुसार खानपिन सेवा दिनसक्ने गरी तयार गरेका छौं,’ प्रबन्ध निर्देशक कक्षपतिले भने, ‘लनमा नेपाली स्वादसहित ‘सेयर्ड प्लेट’ को अवधारणा कायम गरिएको छ।’

द लनले मौलिक पहिचान झल्कने शैलीमा मेनु तयार गरेको छ। नाङ्लो ब्राण्ड अन्तर्गतका रेस्टुराँभन्दा भिन्‍न, नौलो र अत्याधुनिक मेनु रहेको कक्षपतिको दाबी छ। अनि सेयर्ड प्लेट चाहिँ के त?

उनका अनुसार एसियन प्रस्पेक्टिभ झल्काउन खोजिएको हो सेयर्ड प्लेट मार्फत्। एसियाली नागरिक सामूहिकतामा र पारिवारिकतामा विश्‍वास गर्छन्। त्यसैलाई ‘सर्भ’ गर्न सेयर्ड प्लेटको अवधारणा ल्याइएको उनले बताए।

‘हामीले सबै मेनु सेयर्ड प्लेट अवधारणा अनुसार तयार गरेका छौं। नेपाली संस्कृति अनुसारकै खानपिनको अवधारणालाई प्राथमिकता दिइएको हो,’ उनले थप प्रष्ट्याए।

यहाँको मेनुमा करिब १०० थरी खाना उपलब्ध छ। तीमध्ये ८० प्रतिशत नयाँ हुन् भने २० प्रतिशत नाङ्लोकै। द लनका लागि छुट्टै मेनु तय गर्न मात्र दुई महिना लागेको थियो।

‘हामीले बजार अध्ययन गरेर मेनु बनाएका छौं। सहरैपिच्छे नै खाना फरक हुन्छ। ठाउँ अनुसारको स्वाद त तयार गर्नै पर्‍यो,’ उनले भने, ‘नाङ्लोमा हामीले नौलो कुरालाई नै प्राथमिकता दिएका छौं।’

नाङ्लोको ‘भ्यालु फर मनी’ अवधारणा अन्तर्गत रेस्टुराँमा अधिकतम एक हजार रुपैयाँसम्मको फुड मेनु समावेश गरिएको छ।

‘मेनु बनाउँदा आफैं पाहुना बनेर महसुस गर्नुपर्ने हुन्छ। स्थान, परिकार, एम्बियन्स र मेनु तयार गर्दा आफ्नो अन्तिम बिक्री मूल्य कति हो?,’ उनले भने, ‘पैसा तिर्दा आफूलाई महँगो लाग्छ कि लाग्दैन? यो हेर्न आवश्यक छ। हामीलाई महँगो महसुस भयो भने त्यो मूल्य राख्नुको कुनै अर्थ रहँदैन।’

पछिल्लो ११ वर्ष पुस्तैनी रेष्टुराँ व्यवसायको जिम्मेवारीमा छन् तैजश कक्षपति। उनले ४ वर्ष अमेरिकामा कलनरी आर्ट्स अध्ययन गरे। त्यही शिक्षालाई प्रयोगात्मक रुपमा अहिले सदुपयोग गरिरहेका छन्।

द लन नाङ्लो समूहअन्तर्गत अहिसम्मकै ठूलो स्केलको रेस्टुराँ रहेको उनले बताए।

सन् १९७६ मा नाङ्लो स्थापना भएको हो। १९७२ मा कक्षपति परिवारले रत्नपार्कमा क्याफे दी पार्क सञ्‍चालन गरे। त्यसको ४ वर्षपछि दरबारमार्गमा नाङ्लो सञ्‍चालनमा आयो।

जम्मा १२ वटा कुर्सीबाट सुरु भएको रेस्टुराँले बिस्तारै आफ्नो सेवा बेकरीमा पनि विस्तार गरेको हो। नाङ्लो, द बेकरी क्याफे, द चाइनिज रुम र अहिले आएर द लन। पबबाट सुरु भएको रेस्टुराँ यात्रा अहिले मल्टी कुजिनसम्म पुगेको छ।

पाहुनाका लागि कमन स्पेस क्रिएट गर्नु नै नाङ्लोको मुख्य अवधारणा हो। ‘२४ घण्टामा न्यूनतम आधा घण्टा यहाँ व्‍यतीत गर्ने पाहुनाका लागि विशेष अनुभव प्रदान गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने।

नाङ्लोको लगानी त विस्तार भयो। तर फुटफल कस्तो छ त?

पुराना ग्राहक त खिचिने नै भए। नयाँ पनि उत्तिकै आइरहेको उनले बताए। लन आफैंमा योङ्गर प्रोडक्ट भएकाले सोचेभन्दा उल्लेख्य फुटफल रहेको उनले जानकारी दिए।

‘हामीलाई हाम्रो पाहुनाले आतिथ्यता, भ्यालु फर मनी, स्वादका कारण माया गर्दै आउनुभएको छ। हामी धमाधम ब्रान्च विस्तार गर्नुभन्दा पनि सिर्जनात्मक ढंगले नयाँ रुपमा विस्तार हुँदै जानेछौँ,’ उनले भने।

परिकार, स्वाद, आतिथ्यता एकैनास कायम गर्नका लागि लनमा कोर टिम चार दशक अगाडिकै रहेको उनले जानकारी दिए। हाल रेस्टुराँमा ४० जना जनशक्ति खटिएका छन्।

तीन रोपनी क्षेत्रफलमा रहेको रेस्टुराँको ग्राउण्ड फ्लोरमा १०४ जना, ५० जना क्षमताको कन्फ्रेन्स हल, बच्चाहरुका लागि प्ले जोन समावेश गरिएको छ। रेस्टुराँ छेउको पार्किङले आउनेहरुलाई सहज वातावरण प्रदान गरेको छ। उनका अनुसार ३ करोड ५० लाख रुपैयाँको लागतमा रेस्टुराँ तयार भएको हो।

‘यो बिजनेस मात्र होइन, पैसा कमाउन हतार छैन। बरु दुई वर्षको ठाउँमा चार वर्ष लागोस्,’ उनले भने, ‘यहाँ आउने पाहुनालाई सेवा लिएपछि पैसा तिर्दा पनि अर्थपूर्ण महसुस होस् भन्‍ने हाम्रो चाहना हो।’

नाङ्लोले स्थापनाको ५० औं वर्षसम्म थप यस्तैखाले तीनवटा प्रोडक्ट ल्याउने योजना समेत राखेको छ।

यस्तो छ द लनको स्पेशल मेनु

एसियन चिकेन नुडल बल

एसियन चिकेन नुडल बलमा चिकेन मिटबल, मसरुम, नुडल्स, फ्राइड अनियन, चिल्ली आयल, भेजिटेबल, येलो कोकोनट करी समावेश गरिएको छ। सुपसहित आउने यो परिकार हाल पाहुनाको विशेष रोजाइमा रहेको छ।

किमा बन

मटनको प्रयोग गरिएको किमा बन एपिटाइजर अन्तर्गत रहेको छ। भारतमा प्रसिद्ध परिकार पाउ भाजी जस्तै यो परिकारमा बन र मटन किमाको प्रयोग गरिएको छ।

मटन स्याङ्क

मटनको फिलाको सबै भाग आठ घण्टा आगोमा रोस्ट गरेर मेन कोर्स अन्तर्गतको यो परिकार तयार गरिएको हुन्छ।

बेबी ब्याक रिब्स

पोर्कको रिब्स पार्टलाई ओभनमा रोस्ट गरेर तयार गरिएको यो परिकार फोर्ककै सहायतामा लिन सकिन्छ।

सेयर्ड प्लेट अवधारणामा रहेको रेस्टुराँमा हेभी एपिटाइजर तयार गरिएको छ। १० मिनेट भित्रै पाहुनाले अर्डर गरेको परिकार लिन सक्ने उनले बताए।