हिमालयन रिका आइपीओ लगानीकर्ता मुनाफा बुकिङमा लागेपछि बजारमा घट्यो कारोबार

अन्जना सुवेदी
२०८० माघ १५ गते १३:१७ | Jan 29, 2024
हिमालयन रिका आइपीओ लगानीकर्ता मुनाफा बुकिङमा लागेपछि बजारमा घट्यो कारोबार


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २०७७ माघ २ देखि ६ गतेसम्म आइपीओ जारी गर्‍यो। कम्पनीको ८ करोड कित्ता आइपीओमध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि थियो। ५० कित्तासम्म माग्नेले मागे अनुसार नै पाए। ५० कित्ताभन्दा बढी माग्ने ११ लाख ९४ हजार ४ आवेदकको भागमा पनि ५० कित्ता भन्दा बढी परेन।

Tata
GBIME
NLIC

निफ्राको सेयर २०७७ फागुन २ गतेबाट कारोबारमा आयो। कारोबार खुलेको पहिलो दिन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। त्यसदिन लगानीकर्ताले ५९ हजार ९३१ कित्ता सेयर २ करोड २१ लाख रुपैयाँमा बिक्री गरे। १०० रुपैयाँको आइपीओको मूल्य दोस्रो बजारमा कारोबार भएको ८ औं दिनमा बढेर प्रति कित्ता ६७२ रुपैयाँसम्म पुग्यो। त्यसपछि कम्पनीको सेयरमा सेलिङ प्रेसर देखियो। ९ औं कारोबार दिनमा मात्र निफ्राका लगानीकर्ताले साढे ३ अर्ब रुपैयाँ बराबरको निफ्राको सेयर बिक्री गरे।

त्यो समय चन्द्रागिरी हिल्सको आईपीओ पनि भर्खरै सूचीकृत भएर कारोबार भइरहेको थियो। सप्लाइ कम रहेको कम्पनीको सेयर मूल्य प्रति कित्ता २ हजार ८०० रुपैयाँ पुगेकाले कतिपय लगानीकर्ता आइपीओ बिक्री गरेर बाहिरिए।  

त्यो समयमा सेयर बजारमा दैनिक ६ देखि १० अर्ब रुपैयाँको कारोबार भइरहेकामा सेलिङ प्रेसरपछि आइपीओ लगानीकर्ता राम्रो मुनाफा लिएर बजारबाट बाहिरिए। निफ्रा र चन्द्रागिरी हिल्सका आइपीओ लगानीकर्ताले मुनाफा खल्तीमा राखेपछि बजारमा कारोबार रकम ३ अर्ब रुपैयाँमा झर्‍यो।

‘निफ्रा र चन्द्रागिरीको आइपीओमा मुनाफा बुकिङ गरेका लगानीकर्तामध्ये १० प्रतिशतले पनि बजारमा लगानी गरेनन्। घर व्यवहार चलाउन र अन्य प्रयोजनका लागि रकम गयो। बजारबाट पैसा बाहिरिएपछि कारोबारको भोलुम घट्यो,’ त्यतिबेलाको स्थितिबारे भिजन सेक्युरिटिजका प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले बिजमाण्डूसँग भने।

१९९८ बिन्दुबाट निरन्तर उकालो लागेर २६७६ बिन्दुसम्म पुगेको नेप्से निफ्राको सेयरमा बिक्री चापले बजारबाट दिन दिनै पैसा बाहिरिएपछि २३६९.५२ बिन्दुसम्म झरेको थियो।

एक महिनाअघि हिमालयन रि- इन्स्योरेन्सले ३ करोड कित्ता आइपीओ बाँडफाँड गर्‍यो। सर्वसाधारणका लागि मात्र २ करोड ४९ लाख कित्ता बाँडफाँड गरिएको थियो। १५ लाख ६४ हजार ५६४ सर्वसाधारणले १० देखि ३० कित्तासम्म माग गरे अनुसार र त्यसभन्दा बढीको हकमा ५८ हजारले थप १० कित्ता पाएका थिए।

अंकित मूल्य १ सयमा १०६ रूपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रूपैयाँका दरले बिक्री गरिएको आइपीओको मूल्य अहिले दोस्रो बजारमा साढे ६ सय रुपैयाँ छ।

हिमालयन रि- इन्स्योरेन्सको हकमा पनि निफ्रामा जस्तै प्रोफिट बुकिङको लहर चलेको छ। माघ ४ गते एकैदिन यो कम्पनीको पौने २ अर्बको सेयर बिक्री भएको थियो। त्यसदिन नेप्सेमा १० अर्ब हाराहारीको कारोबार भएकामा अहिले ४ अर्ब मुन्तिर झरिसकेको छ। दोस्रो बजारमा आएपछि पछिल्लो १३ कारोबार दिनमा हिमालयन रिको ५ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ। यो कम्पनीको आइपीओमा लगानीगरेकाहरुले प्रति कित्ता ४ सय रुपैयाँभन्दा बढी मुनाफा पाइसकेका छन्।

हिमालयन रिको सेयर बिक्रीबाट पनि ठूलो रकम बाहिरिएका कारण नेप्से माथि जान नसकेको जानकारहरुको बुझाइ छ। ‘अहिले बैंकको ब्याजदर घट्दो क्रममा छ। राजनीतिकरुपमा पनि कुनै असहज अवस्था छैन। सबै माहोल हेर्दा बजार बढ्नुपर्ने देखिन्छ। तर आइपीओमा लगानी गरेकाहरुले मुनाफा बुकिङ गरी ठूलो रकम लगेका कारण बजार माथि जान सकिरहेको छैन,’ तिमल्सिनाले भने।

सेयर ब्रोकर तथा विश्‍लेषकहरु आइपीओ बिक्री गरेको पैसा बजारमा रि-इन्भेष्ट नहुँदा यस्तो भएको बताउँछन्। नासा सेक्युरिटजका प्रबन्ध निर्देशक मदन पौडेलले आईपीओ बिक्री गरेको करिब ९० प्रतिशत पैसा बजारमा नआउने बताउँछन्।

‘मेरो विचारमा आइपीओ बिक्रीपछिको ९० प्रतिशत पैसा बजारमा आउँदैन। कोरोनाकालदेखि आइपीओ भर्नेको संख्या बढ्यो। तर उनीहरुमध्ये धेरै दोस्रो बजारमा चासो राख्दैनन्। हामीकहाँ आईपीओ बेच्ने लगानीकर्तामध्ये अधिकांशले मुनाफाको रकम अन्यत्रै लगिरहेका छन्,’ प्रबन्ध निर्देशक पौडेलले भने।

ठूलो मात्रामा आइपीओ सूचीकृत भएपछि त्यसको इम्प्याक्ट समग्र बजारको भोलुममा देखिने गरेको ब्रोकरहरुको बुझाइ छ। अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्तकुमार पौडेल र कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका भरत रानाभाटले पनि आइपीओ बिक्री गरेर आर्जन गरेको पैसा लगानीकर्ताले बजारमा पुन: लगानी गर्ने गरेको अनुभव गरेका छैनन्।

‘अहिले हिमालयन रि-का लगानीकर्ताले मुनाफा बुकिङ गरेर रकम लगे। उनीहरुमध्ये धेरैले आइपीओ बिक्रीको पैसा बजारमा ल्याएका छैनन्। त्यसैले त बजारमा भोलुम घटेको हो। केही दिनयताको कारोबारबाट पनि यो छर्लंग हुन्छ,’ अनलाइन सेक्युरिटिजका अध्यक्ष पौडेलले भने।

आइपीओ निरन्तर आइरहेकाले पनि त्यस्ता लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्न जोखिम नलिएका हुन्। कोहिनुर इन्भेष्टमेन्टका रानाभाटले आइपीओ बेचेर मुनाफा बुकिङ गर्ने प्रवृत्तिकै कारण बजार दबाबमा परेको बताए।

‘हिमालयन रिको आइपीओ साढे १५ लाखभन्दा बढीलाई पर्‍यो। तीमध्ये धेरैले मुनाफा बुकिङ गरिसकेका छन्। कम्पनीको एनालाइसिस गर्न सक्ने, बजारबारे चासो राख्ने, इन्टरनेटको पहुँचमा भएका, फन्ड ट्रान्सफर गर्न तथा इडीआइएस गर्न सक्ने बाहेक दोस्रो बजारमा सक्रिय छैनन्। यसले गर्दा पनि ठूलो परिमाणको आइपीओ बजारका लागि जोखिमपूर्ण देखिइरहेको छ,’ उनले भने।