चीनसँग किनेर ल्याएको लाइटर भारतमा तस्करी, त्यसैले ७ गुणा बढ्यो आयातको ग्राफ

अनन्तराज न्यौपाने
२०८० पुष २५ गते २०:३१ | Jan 10, 2024
चीनसँग किनेर ल्याएको लाइटर भारतमा तस्करी, त्यसैले ७ गुणा बढ्यो आयातको ग्राफ


विराटनगर। कात्तिकमा नयाँ दिल्ली प्रहरीले नेपालबाट ग्यास लाइटर बोकेर गएको ट्रक बरामद गर्‍यो। चीनमा निर्मित लाइटर नेपालहुँदै भारत तस्करी भएको थियो। त्यसपछि नेपाललाई लाइटरको भन्सार बढाउन दबाब पर्‍यो।

Tata
GBIME
NLIC

विभागले मंसिर १५ गते ग्यास लाइटरको भन्सार बढायो। विभागले प्रति गोटा ४ सेन्ट भन्सार मूल्यांकनलाई बढाएर ६ र ७ सेन्ट निर्धारण गर्‍यो। विभागले भन्सार कार्यालयलाई पठाएको परिपत्रमा नन् रिफिलेबल ग्यास लाइटरको प्रति गोटा ६ र रिफिलेबलको ७ सेन्ट भन्सारमूल्य कायम गरेको थियो।

चीनबाट आयात हुने ग्यास लाइटरको आयात निरुत्साहित गर्न भारतले एक वर्षअघि भन्सार वृद्धि गरेको थियो। यो वृद्धिसँग भारतको राजस्व घटबढका आधारमा व्यापार गर्ने केही व्यवसायी सक्रिय भए। त्यसपछि आयातको ग्राफ सात गुणासम्म बढ्यो।

भन्सार विभागका अनुसार मंसिर मसान्तसम्ममा २३ करोड मूल्यका ४ करोड २८ लाख ३१ हजार ७९४ वटा ग्यास लाइटरहरू आयात गरिएको थियो।

चालु आवको मंसिर मसान्तसम्ममा १ अर्ब ६५ करोड ४८ लाख मूल्यका २९ करोड ३३ लाख २१ हजार १७३ वटा ग्यास लाइटरको आयात भइसकेको छ। पुस महिनामा पनि ग्यास लाइटरको आयात उल्लेखनीय रूपमा भएको र त्यसको तथ्यांकको सम्पादन हुन बाँकी रहेको विभागले जनाएको छ।

घटाउन दबाब, पुनरावलोकन पनि अस्वीकार
विभागले ग्यास लाइटरको भन्सारमूल्यमा ५० प्रतिशतभन्दा बढीले वृद्धि गरेपछि आयातकर्ताहरू यसलाई साबिककै दरमा ल्याउने उद्देश्यले लबिइङ गर्न थाले। तर विभागले भन्सारमूल्य घटाउन मानेन।

यसपछि उनीहरू ग्यास लाइटरमा मंसिर १५ गतेको नयाँ मूल्यांकनले वृद्धि भएको महसुलको रकम धरौटी राखेर जाँचपास गराउने प्रयत्नमा सक्रिय भए। यसरी धरौटी राखेपछि पुनरावलोकनका लागि विभागमा निवेदन दिन पाइन्छ। विभागले पुनरावलोकनमा सम्बन्धित भन्सार कार्यालयकै निर्णयलाई सदर गरेमा व्यवसायीलाई राजस्व न्यायाधिकरण जाने बाटो खुल्छ।

तर भन्सार कार्यालयले धरौटीमा लाइटर छाड्न नमानेपछि व्यवसायीको पुनरावलोकनका लागि विभाग र त्यसपछि राजस्व न्यायाधिकरण जाने बाटो बन्द भयो। यही कारणले आयातकर्ताले बढेकै भन्सार मूल्यमा राजस्व तिरेर धमाधम ग्यास लाइटरका कन्टेनरहरू नाकाबाट छुटाएका हुन्।

वीरगंजको सुक्खा बन्दरगाह भन्सारको लजिस्टिक व्यवस्थापन गरिरहेको प्रिस्टिन भ्यालीका व्यवस्थापक अतुल शर्माले हाल गोदाममा ग्यास लाइटरका कन्टेनर नरहेको स्पष्ट पारे। व्यवस्थापक शर्माले गोदाममा केही दिन १० वटा कन्टनेर रहेको र अहिले सबै छुटिसकेको जानकारी दिए।

त्यस्तै ग्यास लाइटर आयात गरिने अर्को नाका रसुवा भन्सार कार्यालयले पनि केही दिन ४–५ वटा कन्टेनर रोकिएको र हाल सबै छुटिसकेको जनाएको छ। कार्यालयका प्रमुख रामप्रसाद पाठकले भने, ‘अहिले ग्यास लाइटरका कुनै पनि कन्टेनर यहाँको गोदाममा छैनन्।’

वीरगंंजका आयातकर्ता लोकेश जैनले भन्सार कार्यालयले व्यवसायीलाई पुनरावलोकनका लागि धरौटी राख्न नदिएर कानुनी अधिकारबाट वञ्चित गरेको आरोप लगाए। उनका अनुसार भन्सार ऐनको दफा ६१ को उपदफा १ ले भन्सार कार्यालयले निर्धारण गरेको राजस्वमा चित्त नबुझे व्यवसायी राजस्वको रकम धरौटी राखेर पुनरावलोकनमा जान पाउँछन्। यो व्यवसायीको कानुनी अधिकार हो। तर, ग्यास लाइटरको प्रकरणमा भन्सार पक्षबाट जबर्जस्ती भएको छ। व्यवसायीको अधिकार खोसिएको छ।

जैनले यस विषयमा व्यवसायीहरू कानुनी उपचारमा जाने तयारी गरिरहेको बताए।अर्का आयातकर्ता ओमप्रकाश मोरले सरकारी निकायले नै व्यवसायीलाई कानुनी अधिकारबाट वञ्चित गरेको आरोप लगाए। मोरले भने, ‘भन्सार कार्यालयको पहिलो काम र कर्तव्य व्यापार सहजीकरण हो। कार्यालयबाट यसको परिपालन भएन। त्यसैले व्यवसायीहरू रिट दर्ताको तयारी गरिरहेका छन्।’

तर सरकारी पक्ष कानुनले व्यवसायीलाई पुनरावलोकनमा जान अधिकार होइन सुविधा मात्र दिएको जिकिर गरिरहेको छ।
‘पहिलो कुरा त व्यवसायीले ग्यास लाइटर भारत तस्करी गर्ने उद्देश्यले आयात गरेका हुन्’, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बिजमाण्डूसँग भने, ‘यस्तो आयातलाई हामी सधैँ निरूत्साहित गर्छौं। यसमा हामी कडा रूपमा प्रस्तुत हुन्छौँ । दोस्रो, पुनरावलोकन र धरौटी उहाँहरूलाई ऐनले सुविधा दिएको हो। त्यो उहाँहरूको अधिकार होइन।’

महानिर्देशक पौडेलले व्यवसायीलाई भन्सार विभाग वा कार्यालयले ऐनकानुन उल्लंघन गरेको लाग्छ भने कानुनी उपचारमा जाने बाटो खुला छ भन्ने धारणा व्यक्त गरे। वीरगंज सुक्खा बन्दरगाहका प्रमुख रामप्रसाद मैनालीले केही आयातकर्ताले भन्सार विभागले मंसिर १५ गते निर्धारण गरेको भन्सार मूल्यकै आधारमा राजस्व तिरेर ग्यास लाइटर जाँचपास गराएपछि कार्यालयले अन्यसित धरौटी लिन अस्वीकार गरेको स्पष्ट पारे।

प्रमुख मैनालीले भने, ‘सँगैका आयातकर्ता नयाँ मूल्यांकन प्रति गोटा ६ वा ७ सेन्टमै ग्यास लाइटर छुटाइरहेका छन् भने अन्यलाई धरौटी र पुनरावलोकनको सुविधा दिने प्रश्न नै भएन।’

भारत सरकारले गत वर्ष चीनबाट गरिने ग्यास लाइटरको आयातलाई नियन्त्रण गर्न यसको भन्सारमूल्यमा वृद्धि गरेको थियो। त्यसपछि नेपालका आयातकर्ताले चीनबाट धमाधम ग्यास लाइटर मगाउँदै भारत पठाउँदै गर्न थालेका थिए।