‘पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रोडक्ट खोइ त?,’ प्रवीणबहादुर पाण्डेको अन्तर्वार्ता

बिजमाण्डू
२०८० पुष १८ गते ०९:२७ | Jan 3, 2024
‘पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रोडक्ट खोइ त?,’ प्रवीणबहादुर पाण्डेको अन्तर्वार्ता

तीन वर्षयता लाजिम्पाटस्थित सांग्रिला होटल बन्द छ। सांग्रिला होटल एण्ड रिसोर्ट ग्रुप अन्तर्गत चार दशकदेखि सेवा संचालन हुँदै आएको लाजिम्पाटस्थित रहेको प्रोपर्टी धमाधम रेनोभेसनको चरणमा छ। आफ्नो व्यावसायिक योजनासँगै मुलुककै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यो समूहले सात महिनाअघि बेलायतको अन्तर्राष्ट्रिय होटल व्यवस्थापन चेन कम्पनी ‘आइएचजी’सँग सहकार्य गर्ने सहमति गरिसकेको छ। दुवै कम्पनीबीच काठमाडौंको इन्टरकन्टिनेन्टल काठमाडौं, पोखराको होटल इण्डिगो, बेगनास ताल छेउको इन्टरकन्टिनेन्टल रिसोर्ट र मेघौलीको इन्टरकन्टिनेन्टल रिसोर्ट व्यवस्थापनका लागि सम्झौता भएको हो।

Tata
GBIME
Nepal Life

पछिल्लो समय आधा दर्जन अन्तर्राष्ट्रिय चेन होटल सञ्‍चालनमा आइसकेका छन् भने आधा दर्जन पाइपलाइनमा छन्। यो समूहले आइएचजीसँगको सहकार्यमा काठमाडौं, पोखरा र चितवनमा चारवटा लक्जरी प्रोडक्ट ल्याउने योजना अगाडि बढाइसकेको छ। होटल उद्योग विस्तार भए पनि अहिले पर्याप्त पर्यटक नआउँदा सञ्‍चालित होटलले ब्रेक इभनमा आउनै धौधौ रहेको जनाउँदै आएका छन्।

अहिलेको जोखिममा पनि बेलायती टप ब्राण्ड ल्याउन लागेको यो समूहका प्रबन्ध निर्देशक प्रवीणबहादुर पाण्डेलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे-  कोभिडसँगै सांग्रिला होटल बन्द छ। रेनोभेसन चलिरहेका बेला तपाईंहरुले बेलायतको इन्टरकन्टिनेन्टलको चेन भित्र्याउने घोषणासहित चार वटा लक्जरी होटल ल्याउने घोषणा गर्नुभयो। के अवसर देखेर हस्पिटालिटीमा आक्रामक लगानी गर्न खोज्नुभएको हो ?

तपाईँको यो प्रश्नमै उत्तर छ। चार दशक अगाडिदेखि हामीले गरेको अनुभव के हो भने हामी त्यसै यहाँसम्म टिकेका होइनौं। सांग्रिलाको लिगेसी भनेको हामीसँग विभिन्न क्षेत्रका मान्छेहरु आबद्ध छन्। सांग्रिला लेजण्डरी डेस्मोन्ड डोयगले डिजाइन गरेयता नै नेपालमा आउने पर्यटकको आवागमन सुरु भएको थियो। हाम्रो डाइरेक्ट लाइन आफ्नै छ। त्यसमा अझै सुनमा सुगन्ध थप्नका लागि अन्तर्राष्ट्रिय चेन भित्र्याउन लागेका हौं। होटल उद्योगमा म्यानेजमेन्ट र मार्केटिङ साइड फरक-फरक हुन्छ।

हामीले जुन बेनिफिट देखिरहेका छौं, त्यो भनेको नेपाल काठमाडौं मात्र होइन। हामीले आफ्नो सेवा पोखरामा पनि पहिलै विस्तार गरेका थियौं। कोभिड-१९ पछि रेनोभेसन र ग्लोबल प्लान्टहरुलाई जुन लेबलको आतिथ्यता दिनुपर्ने हो त्यो दिन नसकेको जस्तो लाग्यो।

त्यसको प्रमाणीकरण नेपालमा अहिले भित्रिएको इन्टरनेसनल चेन होटलले पुष्टि गर्दै आएका छन्। सांग्रिला चार दशकदेखि सञ्‍चालनमा छ। अनि हामी अन्तर्राष्ट्रिय चेनसँग प्रतिस्पर्धा गर्न नसक्ने भयौं भने त यसको त मान्यतै भएन।

विश्‍वको एक जना होटलियरले तीनवटा कुरा याद गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यो भनेको लोकेसन, लोकेसन र लोकेसन नै हो। हामी यही अवधारणामा छौं। विशेषगरी होटल उद्योग राम्रै लोकेसनमा चल्ने हो। एउटा कुरा चाहिँ बिर्सनु भएन। नेपाली नागरिकको पनि यसमा ठूलो योगदान छ। अहिले हेर्दा बैंक्विट बिजनेस, काठमाडौं बाहिरको जुन किसिमको ट्राभल छ, सबै डोमेस्टिक ट्राभलले नै धानेको छ। अर्को भनेको रिजनल ट्राभल हो। भारत र चीन नजिकको बजार हो। यहाँबाट आउने पर्यटकको संख्या पनि बढ्दो क्रममा छ।

यतिखेर हाम्रो आँकडा लगभग सन् २०१९ को लयमा फर्किसकेको अवस्था छ। तर विश्‍वको आँकडा हेर्ने हो भने सन् २०१९ को अनुपातलाई नै उछिनिसकेको छ। अब नेपालले पर्यटक भित्र्याउन सकेन भन्ने अवस्था त छैन नि। सरकारको पक्षबाट हेर्दा पनि पूर्वाधार विस्तार भइरहेको छ। तयार भएका अन्तर्राष्ट्रिय विमानस्थलको मार्केटिङ गर्नका लागि हाम्रो जस्तो प्रोडक्ट आयो भने चार्टर उडानको ठूलो सम्भावना छ।

सम्भावना देखेरै हामीले इन्टरनेशनल चेन ल्याउन लागेका हौं।

हाम्रो मुलुकको जुन प्राकृतिक भौगोलिक अवस्था अनुसारको अन्तर्राष्ट्रिय स्तरको प्रोडक्ट खोइ त? त्यो त  कस्तो भने नयाँ होटल आउँदै गर्छ पुरानोले प्रतिस्पर्धासँगै पाहुनालाई उच्चस्तरको सेवा दिनका लागि क्षमता विस्तार गर्छ।

भनेपछि तपाईँहरुको लागि कोभिडले निम्त्याएको अप्ठ्यारो अवस्थामा पाइएको अवसर हो यो? 

होटल चौबिसै घण्टा चल्ने उद्योग हो। तर कोभिडको समयमा हामीले मुलुकको पर्यटन क्षेत्रमा थप अवसरको अध्ययन गर्‍यौं। अर्को कुरा गर्दा हामीले लाइसेन्स लिएर र नलिइ संचालन भएका होटलको अध्यन गर्‍यौं। म आफैं होटल संघ नेपालको प्रथम उपाध्यक्ष भएको हिसाबले के हेर्छु भने एउटा लेजिटीमेट बिजनेसलाई हामीले प्रमोट गर्नै पर्छ। जस्तो एयर बी एण्ड बीको कुरा आउँछ। संसारको अधिकांश मुलुकमा यो कुरा ब्याण्ड भइसकेको छ।

किनभने कुनै पनि नागरिकलाई अन्तर्राष्ट्रिय मुद्रा लिएर आफ्नो घरमा पैसा राख्ने भनेको होमस्टे कन्सेप्ट हो। तर सहरी क्षेत्रमा त्यो मान्य छैन। त्यसका लागि अहिले पसल खोल्यो भने पनि व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ।

होटलमा त यो अति आवश्यक कुरा हो। फेरि आन्तरिक र बाह्य पर्यटकलाई आवश्यक भनेको सुरक्षा हो र कानुनले बन्देज गरेको मुद्रा अपचलन लगायतको मुद्दा आइरहेको छ। होटल भनेको एकदम संवेदनशील उद्योग हो। यसलाई रोक्नका लागि भए पनि होटल व्यवसायलाई उद्योगमै समावेश गर्नका लागि उद्योग वाणिज्य महासंघको सहकार्यमा विभिन्न मन्त्रालयसँग छलफल गरिरहेका छौं।

उद्योग भइसकेपछि राज्यलाई दिनुपर्ने आफ्नो दायित्व पुरा गर्नै पर्छ। अर्को कुरा के योगदान गरिरहेको छ भने जति पनि आन्तरिक उत्पादन हुन्छन् त्यो उपभोग गर्ने भनेको होटल उद्योग नै हो। यसको स्याटलाइट अकाउन्टिङबाट त धेरै क्षेत्र छन्। भनौं न ट्याक्सी, पोर्टर लगायउत धेरै क्षेत्रमा कभरेज  गर्छ।

हाम्रो मुलुकको जुन प्राकृतिक भौगोलिक अवस्था अनुसारको अन्तर्राष्ट्रिय स्तरको प्रोडक्ट खोइ त? त्यो त  कस्तो भने नयाँ होटल आउँदै गर्छ पुरानोले प्रतिस्पर्धासँगै पाहुनालाई उच्चस्तरको सेवा दिनका लागि क्षमता विस्तार गर्छ। जब लगानीको वातावरण बन्छ मलाई लाग्छ सरकारले पनि बुझेर सहजीकरण गर्छ।

जसअन्तर्गत नेपाल वायुसेवा निगममा थप हवाई जहाज, निजगढ नबनुन्जेल सञ्चालित अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल विस्तार गर्न आवश्यक छ। छिमेकी मुलुक भारतमा तीनवटा टर्मिनल पछि चौथोमा विस्तार हुँदै छ। यसो हुँदा वार्षिक ३० लाख पर्यटक ल्याउन हामीलाई कुनै गाह्रो छैन।

सरकारलाई राजस्व चाहिएको छ र हामीलाई पनि सिस्टम चाहिएको छ। इन्टरनेशनल चेनमा गरेको लगानी खेर जाँदैन।

तपाईं र तपाईँको समूह अत्यन्तै लो प्रोफाइलमा बस्न चाहनुहुन्छ। केही ठूला परियोजना ल्याउँदा धेरै सोचविचार गरेर लगानी लगाउनुहुन्छ। तर अहिले हस्पिटालिटीमा ओभर सप्लाइ छ। माग भन्दा बढी आपूर्ति भएकाले घटाघटमा रुम बिक्री भइरहेका छन्। यी सबै आधारमा अर्बौ लगानी जोखिमपूर्ण बन्छ जस्तो लाग्दैन?

हामीले चार दशकदेखि आफैं होटल चलाउँदै आएका थियौं। बजारमा हाम्रो करिब २०० कोठा थियो। काठमाडौं र पोखरामा अब नयाँ प्रोडक्टको रुपमा आउँदैछ। चितवनमा पनि आउँदैछ। बोर्डरसँग पनि कनेक्सन छ।

अब पोखराकै कुरा गर्दा अहिले बाटो बन्नुभन्दा अगाडि दैनिक एक सयवटा गाडीमार्फत भारतीय पर्यटक आउँदा रहेछन्। अहिले बाटो बनिसकेपछि लगभग ५०० वटा गाडीमा पर्यटक आइरहेका छन्। चितवन, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यमा अझै धेरै पर्यटकको आवागमन हुने देखिन्छ।

भारतको कनेक्टीभिटीको विकास भइरहँदा दिल्लीबाटै पनि धेरै खर्च गर्ने पर्यटक आइरहेका छन्। पर्यटनमा सम्भावना कम बढी भन्ने हुँदैन। जबसम्म प्राकृतिक सौन्दर्यता निरन्तर राख्न सकिन्छ तबसम्म पर्यटकको आवागमन निरन्तर रहने हो। राज्यको मुख्य दायित्व भनेको प्रकृतिलाई जोगाउनु हो।

हाम्रो कला, संस्कृति जीवन्त छ। जुन अरु कुनै मुलुकमा छैन। जीवित देवी, बुद्धको देश हो हाम्रो। हाम्रो मुलुकसँग अवसर लिन सक्ने क्षमता धेरै छ। ५० लाख पर्यटक त सातै प्रदेशमा रहेका होटलले धान्न सक्छ। तर हामीले त्यही किसिमको पूर्वाधार विस्तार गर्न आवश्यक छ।

विमानस्थल २४ सै घण्टा पनि चलाउन सकिन्छ नि। नेपाली वायुसेवाले कति पर्यटकलाई सेवा दिन्छ? पर्यटक भन्नाले नेपालमै घुमघाम गर्ने आन्तरिक पर्यटक र विदेशी पर्यटक दुवै पर्न आउँछन्। सबैलाई घुम्ने अधिकार छ नि। कोभिडपछि विश्वव्यापीरुपमा आन्तरिक भ्रमण वृद्धि भइरहेको छ। अमेरिकाकै कुरा गर्ने हो भने कन्ट्री फर्स्ट भन्ने कुरा छ। 

कुनै समय एलटीए (लेजर ट्राभल अलाउन्स)को घोषणा पनि भएको थियो। यी सबै कुरा लागू गरेर गुणस्तरको सेवा प्रवाहसँगै तीनै तहको सरकारले वैधानिक रुपमा होटल उद्योग संचालनमा जोड दिन आवश्यक छ। सरकारलाई राजस्व चाहिएको छ। र, हामीलाई पनि सिस्टम चाहिएको छ। यसो गर्नाले इन्टरनेशनल चेनमा गरेको लगानी खेर जाँदैन।

हामीले पनि धेरै अध्ययन गरेर आएका छौँ। हामी लो प्रोफाइलभन्दा पनि काम हाई प्रोफाइल गरिरहेका छौं। एक्पोजर समय अनुसारको हुने हो। हुन त कुराले मात्र पनि एक्सपोजर हुन्छ। हामी दुई महिनापछि आफ्नो सबै योजना सार्वजनिक गर्नेछौं।

भनेपछि लगानी जोखिम देख्नुभएको छैन?

जोखिम छैन भन्न त मिल्दैन। जोखिम धेरै कुरामा निर्भर छ। हामीमा मात्र नभइ देशसँगै बाह्य कारणले पनि हुन सक्छ। हामी विश्लेषण गरेर जोखिम न्यूनीकरणको अभ्यासमा छौं। सबैभन्दा ठूलो कुरा भनेको हाम्रो आफ्नै प्रोपर्टी छ।

अर्को भनेको हाम्रो चार दशक अगाडिदेखिको अनुभव पनि छ। हामी मुलकको नीति, बजार प्रवर्धनमा पनि लागि पर्दै आएका छौं। हामीले आफ्नो मात्र होइन मुलुकको समग्र पर्यटन उद्योग प्रवर्धन अवधारणालाई लिएर अगाडि बढिरहेका छौं।   

सरकारले पूर्वाधार तयार गरिदिने हो व्यवस्थापन गर्ने नै होइन। सरकारले व्यापार गर्ने होइन। सरकारले राजस्व उठाउने हो र निश्चित राजस्व भएपछि चल्ने हो।

हामीसँग पर्यटन क्षेत्रका धेरै बोटलनेक छ। पहिलो हवाई कनेक्टिभिटीको समस्या छ। निर्माण सकिएका दुई अन्तर्राष्ट्रिय विमानस्थल कहिले क्षमताअनुसार चल्ने भन्ने यकिन छैन। त्यसमा एकपछि अर्को होटल निर्माण र संचालनमा आइरहेका छन्। यो अवस्थालाई कसरी नियाल्नुभएको छ ?

विमानस्थलको कुरा गर्दा विदेशमा के हुन्छ भने व्यवस्थापन ग्लोवल टेण्डर गरेर जिम्मा दिइँदै आएको छ। सरकारले पूर्वाधार तयार गरिदिने हो व्यवस्थापन गर्ने नै होइन। सरकारले व्यापार गर्ने होइन। सरकारले राजस्व उठाउने हो र निश्चित राजस्व भएपछि चल्ने हो।

हामीसँग भएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यही अवधारणाको आवश्यकता छ। सिधै भन्नुपर्दा भैरहवामा के चल्छ भन्दा रोजगार र धार्मिक पर्यटन। कुनै बच्चाले सोध्यो भने पनि यही उत्तर आउने हो। त्यही कुरा एड्भेन्चर सिटी र पर्यटक क्यापिटल भन्छौं।

पछिल्लो समय पोखरामा जुन किसिमले चिनीयाँ वायुसेवाले चार्टर उडान गर्‍यो। नियमित उडान त सुरुवाती चरणमा कम होला। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ६ दशकपछि फुलफ्लेजमा उडान-अवतरण भएको हो नि। विमानस्थल निर्माण भएलगत्तै चल्न सकेन भन्न भएन। व्यवस्थापन गर्नका लागि एउटा प्रणाली ल्याउनका साथै निजी क्षेत्रलाई पनि सँगै अगाडि बढाउन आवश्यक छ।

हामी पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर उडानमार्फत पर्यटक ल्याउने पक्षमा छौं। आइएचजीअन्तर्गत विश्वभर ८  हजार होटल छन्। त्यसमा इन्टरकन्टिनेन्टलअन्तर्गत ३ सयभन्दा बढी ब्राण्ड छ। अन्तर्राष्ट्रिय चेन ल्याउने भनेको विश्व सञ्जाल विस्तारका लागि हो। यो अन्तर्राष्ट्रिय संजाल हो, जसमा नेपाल पनि पर्न आउँछ।

छिमेकी मुलुक विश्वव्यापी रुपमा अगाडि बढिरहेका छन्। हामी पनि अगाडि बढ्नुपर्‍यो नि। नेपालीहरु विभिन्न मुलुकमा बसेर सक्षम काम गर्दै आउनभएको उदाहरण पनि छ। यहाँ बसेर किन नगर्ने भन्ने हाम्रो अवधारणा हो।

यही अवधारणा अनुसार हामी वैदेशिक रोजगारमा रहेका दाजुभाइ दिदीबहिनीलाई यहाँ ल्याउन सक्छौं नि। यही क्षेत्रमा काम गर्दै आउनुभएका उहाँहरुलाई पुनः स्वदेश फर्काउन सकिन्छ नि।

अर्को भनेको विमानस्थल, सडकलाई पूर्ण क्षमतामा चलाउनका लागि त डेस्टिनेसन प्रमोट गर्ने प्रोडक्ट त चाहियो नि। पहिला ट्राभल एजेन्सीमार्फत भ्रमण हुन्थ्यो, अहिले डिजिटल मार्केटिङमार्फत घुमघाम गर्ने पर्यटक वृद्धि भइरहेका छन्। विश्वभरका पर्यटकलाई कन्भिन्स गराउन त ग्लोाल मार्केटिङ थ्यौरी र प्रोडक्ट आवश्यक छ। यही कुरा होटल क्षेत्रमा गर्न खोजेका हौं।

नेपालमा रहेका लोकल होटलले अहिले नै १२ लाख पर्यटकलाई सेवा दिँदै आएको छ। अन्तर्राष्ट्रिय  चेन त भर्खरै आएको हो। यो लहरले सप्लाइ मात्र होइन डिमाण्ड पनि बढाइरहेको छ। अहिले होटल रुमको आधारभूत मूल्य पनि बढिरहेको छ। मान्छेले पैसा प्रोडक्टलाई तिर्ने हो।

त्यो पैसा आउने भनेको त मुलुकलाई नै हो। अहिले रिजर्भ बढिरहेको छ, रेमिट्यान्स पनि बढिरहेको छ। तर रेमिट्यान्स कन्ट्रोलमा छैन। पर्यटन क्षेत्र हाम्रो नियन्त्रणमा छ। अहिले जुन तवरमा पर्यटनको प्रचारप्रसार हुनुपर्ने थियो पर्यटन बोर्डकै बेथितिले गर्दा पर्याप्त मात्रामा हुन सकेको छैन, जुन यहाँ लिन सकिने अवसर अरु देशमा गइरहेको छ।

बोर्डले पर्यटन प्रवर्धन प्रचारप्रसार, नेपाल वायुसेवा निगमले जहाज विस्‍तार नगर्दा, विमानस्थल पर्याप्त मात्रामा  नचल्दा त यतिको पर्यटक ल्याउन सफल भइरहेका छौं। यी सबै कुरा अगाडि बढाउन सकियो भने त अवश्य पनि धेरै पर्यटक भित्र्याउन सकिन्छ नि।

आर्थिक मन्दीसँगै मध्यमवर्गसँगै उच्चवर्गको पलायन बढ्ने देखिएको छ। यसले आन्तरिक उपभोग(ब्यांकेट)बाट होटल व्यवसायलाई भरथेग गर्न कठिन देखिन्छ नि?

हो अहिले विद्यार्थी र रोजगारीका लागि दक्ष जनशक्ति विदेश पलायन हुँदै आएका छन्। कोभिडले नै गर्दा कतिपय होटल उद्योग बन्द भएको समाचार आइरहेको छ। भोलि बन्द उद्योग पुनः खुलेर अझै राम्रो सेवा दिएको समाचार पनि पक्कै आउँछ नि। जस्तै सांग्रिलाकै कुरा गरौं। अहिले बन्द रहेको होटलले चार वटा हाइ इण्ड प्रोडक्ट ल्याएको समाचार पनि फैलिन्छ नि।

यसरी हेर्दा बाहिर गएका जनशक्तिका लागि पनि अवसर सिर्जना हुने हो। कहिलेकाहिँ एक दुईवटा प्रोडक्टका कारण पनि प्रत्येकलाई निर्णय बनाउनमा ठूलो योगदान पुर्‍याउँछ।

भनेपछि विदेशिएका दक्ष जनशक्ति स्वदेशमै अवसर खोज्दै आउने कुरामा तपाईँ आशावादी हुनुहुन्छ?

आशावादी हुने कुरा भाषणले मात्र हुने होइन। कामले गति लिएको आधारमा हुने हो। त्यसैकारण हामी आफ्नो नयाँ प्रोडक्टको विस्तृत विवरण छिट्टै ल्याएर सार्वजनिक गर्ने योजनामा छौँ। यथार्थ कुरा देखाउने हो। यो एआइ (आर्टिफीसीयल इन्टेलिजेन्स) होइन। विश्वको स्टाण्डर्ड अनुसारको प्रोडक्ट आउँछ त? नेपालमा त्यो सम्भावना छ? नेपाल यसका लागि तयार छ? नेपालले राम्रो रेट दिन सक्छ त? पूर्वाधारले टेवा पुर्‍याउँछ त? यी कुरासँग जोडिएका छन् योजना।

अहिले हाम्रो टुरिजम हब भनेको काठमाडौं, पोखरा र चितवन हो। तर सातै प्रदेशमा बढाउनका लागि यी तीन गन्तव्यलाई अधिकतम प्रयोग गरेर सेवा वितरण विस्तार गर्दै लाने हो नि। प्रक्रिया अगाडि बढिसकेको छ। तर बोटलनेक कहीँ न कहीँ छ।   

मैले नबुझेको कुरा भनेको मन्दी छायो भन्ने हल्ला छ। पर्यटन र कृषिमा कहिले पनि मन्दी आउँदैन। हामी खान छोड्दैनौँ घुम्न छोड्दैनौं।  कि खानै छोड्नु पर्‍यो। आलु प्याज छैन भनेर त भएन नि। आवश्यकअनुसार रोप्नुपर्‍यो नि त।

विगतमा होटल क्षेत्रमा लगानी गर्ने अनुभवी र पर्यटन क्षेत्र बुझेका लगानीकर्ता हुन्थे। तर अहिले देखासिकीमा लगानी गर्ने प्रवृत्ति बढी छ। यस अन्तर्गत पस्मिना, गार्मेन्ट उद्योगलाई पनि हेर्न सकिन्छ। त्यही प्रवृत्तिका कारण प्रत्येक चोक र सहरमा ठूला लगानीमा होटल खोल्ने प्रतिस्पर्धा छ। यसले हस्पिटालिटी क्षेत्रको लगानी जोखिम कतिको देख्नुहुन्छ?

हामी सिजनल होटेलियर भयौं। हामीलाई होटलसँगै समग्र पर्यटन उद्योगबारे थाहा छ। नयाँ आउने उद्योगीलाई यो विषयमा थाहा छैन भन्ने भ्रम हो। हामीले के बुझ्यौं भने विदेशी सञ्जालले नेपालमा कुनै ब्राण्ड ल्याउँदा सम्भाव्यता अध्ययन गर्छन्। उनीहरुको पनि ब्राण्ड भ्यालु हुन्छ नि।

अघि बैंक्विटको कुरा गर्नुभयो। विवाह, व्रतवन्ध, पास्नी लगायत हाम्रो संस्कृति परम्पराकै कारण बैंक्विट सेवा घट्ने होइन बढ्ने सम्भावना छ। किनभने सहरी क्षेत्रमा कम ठाउँ छ। जुन होटलले अहिले रिप्लेसमेन्ट गरिरहेको अवस्था छ। अन्तर्राष्ट्रिय ब्राण्डले विमानस्थल विस्तार, प्राकृतिक सौन्दर्य लगायतलाई आधार मानेर नेपालमा सम्भावना देखेरै आएका हुन्।

अहिले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अधिकतम न्यारोबडी जहाजमार्फत सेवा दिँदै आएका छन्। हामीले पर्यटन प्रचारप्रसार गरेर अगाडि बढ्ने हो भने अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लिट परिवर्तन गर्न तयार अवस्था छन्। राती बाँकी रहेको स्लट पनि विस्तार गर्दा पनि २४ सै घण्टा विमानस्थल चलाउन सकिन्छ।

मैले नबुझेको कुरा भनेको मन्दी छायो भन्ने हल्ला छ। पर्यटन र कृषिमा कहिले पनि मन्दी आउँदैन। हामी खान छोड्दैनौँ घुम्न छोड्दैनौं।  कि खानै छोड्नु पर्‍यो। आलु प्याज छैन भनेर त भएन नि। आवश्यकअनुसार रोप्नुपर्‍यो नि त।

पर्यटन उद्योग पनि रोप्ने नै हो। आज रोपेर भोलि नै फल दिने उद्योग होइन। प्रक्रिया हो। संरचना तयार गर्न समय लाग्छ।

होटल उद्योगमा आएका नयाँ प्लेयरको लगानी जोखिममा छैन?

पर्यटन क्षेत्रमा गरिएको लगानी जोखिममा जानका लागि कारण नै छैन। नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई जीवन्त राखेर संरक्षण गर्न सकिएको अवस्थामा निरन्तर अगाडि बढ्न सकिन्छ। त्यो संरक्षण नै गर्न सकिएन भने त अप्ठ्यारो परिहाल्छ।                     

तपाईँले भनिसक्नु भएको छ होटल क्षेत्रको लगानीको तत्कालै प्रतिफल आउँदैन। तर अहिले होटल निर्माण गर्ने र केही समयभित्रै सर्वसाधारणमा सेयर जारी गर्ने प्रवृत्ति देखिन्छ। यो विस्तारै बढ्दो क्रममा छ। यसलाई तपाईँले कसरी हेरिरहनुभएको छ? तपाईँहरु पनि यस्तै योजनामा हुनुहुन्छ?

हामी तत्काल आइपीओ ल्याइहाल्ने योजनामा छैनौं। यसबारे पछि भन्नेछौं। अब प्रतिफललाई कसरी हेर्न सकिन्छ भने एउटा लगानीको रिटर्नको कुरा हो र अर्को अपरेसन प्रोफिट हो, चेनले यसरी हेर्छ।

अहिले कोभिडपछि चाहिँ उल्टो भएको छ। आइपीओकै कुरा गर्दा सबैभन्दा राम्रो रिटर्न यसबाटै देखिएको छ। अर्को कुरा सेक्युरिटी प्रोपर्टीबाट आउँछ। प्रोपर्टी राम्रो ठाउँमा हुन्छ। प्रोपर्टीको भ्यालुएसनको कारण सेक्योर हुन्छ। यसमा अरुको डिसिजन हुँदैन।       

आइएचजीसँगको सहकार्यमा विस्तार गर्न लाग्नुभएको व्यावसायिक क्षमता अहिलेसम्मकै नौलो छ। नेपालको पर्यटन क्षेत्रमा माइलस्टोन सिर्जना गर्ने यो व्यावसायिक योजना कहिले सम्पन्न गर्ने लक्ष्य छ?

यहाँहरुको जिज्ञासा अनुसार हामी हाम्रो योजनाको बारेमा र आइएचजीसँगको सहकार्यको बारेमा सन् २०२४ को पहिलो चौमासिकमा सार्वजनिक गर्नेछौं।   

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरका आधा दर्जनभन्दा बढीको संख्यामा होटल संचालनमा आए। आधा दर्जन प्रोपर्टी पाइपलाइनमा छ। पर्यटकीय गन्तव्यमा अपूर्व क्षमताको रुपमा मानिएको नेपालमा पर्याप्त पर्यटक भित्र्याउनै नसक्नुको कारण के देख्नुहुन्छ?

यो विषयमा हामीले कहिलेकाहिँ नेपाल बाहिर गएर पनि हेर्नुपर्छ। चाहे राज्य चलाउने व्यक्त होस् या सर्वसाधारण होस्। हामीले एउटै टोकरीमा राखेर हेर्छौँ। हाम्रो सोच ग्लोबल हुनुपर्छ। हामी विदेशमा पलायन हुने भन्दा पनि आफ्नो प्रोडक्टलाई विदेशमा लाने हो।

यदी हाम्रो ब्राण्ड भयो भने विदेशमा पनि लान सक्छौं। नेपाली जनताको हार्दिकतासहितको आतिथ्यता अरु सबै मुलुकमा छैन। यो कुरालाई हामीले अहिले सम्म बजारीकरण गर्न सकेका छैनौं। यो ह्‍युमन सफ्टवेयर हो। थाइल्याण्डमा केही हदसम्म भइरहेको छ। दुसीत थानी लगायतले गरिरहेका छन्।

केही समयपछि राज्यको पनि नीति आउला। किनभने ट्याक्स नेपालमा तिरेसम्म समस्या भएन नि। अर्को कुरा भारतलाई हेर्ने हो भने सुरुमा ओबेरोय थियो। अहिले धेरै चेन होटल आइसकेका छन्। मान्छे व्यस्त हुँदै गएको छ। सामाजिक सञ्जाल, इन्टरनेट, डिजिटल पेमेन्टका कारण मान्छेलाई लेजर टाइम नै कम छ। अहिले घरमा पकाउने खाने काम कम भएको छ भने होटलमै रमाउने शैली वृद्धि भएको छ।

भारतमा अहिले ६० प्रतिशत नागरिकहरु अन्तर-सहर भ्रमणमा लागिसकेका छन्। त्यहाँ पर्यटकको खासै योगदान छैन। त्यहाँ ग्यारेन्टेड अकोमोडेसन कायम गर्नका लागि चेनको विस्तार भइरहेको छ। चेनमा बस्दा मान्छेले आफूले तिरेको पैसाअनुसार सेवा पाइरहेको हुन्छ।

यो चेनको विस्तार विश्वव्यापीरुपमा भइरहेको छ। कोभिडपछि मान्छेमा आफ्नो जीवनको महत्त्व झन् बढेको छ। यही जीवनकालमा सक्दो घुम्नुपर्छ भन्ने मनस्थिति बनिसकेको छ। हाम्रो मुलुक धर्म, संस्कृति, कला, प्रकृति लगायतले धनी छ। पानीकै कुरा गर्दा कतिपय उचाइमा रहेका पानी पिउनाले निरोगी रहने कुरा पुष्टि भइसकेको छ।

पर्यटन प्रवर्धन प्रचार प्रसारका लागि हाम्रो मुलुक योग्य छ। यो १० लाख संख्याको पर्यटक भनेको केही होइन। किनभने पहिला सर्वेक्षण गर्दा नेपाली नै यहाँ धेरै आउजाउ गर्छन्। विदेशी पर्यटकलाई पनि ठाउँ दिनुपर्‍यो नि। विश्वव्यापीरूपमा विमानस्थलमा बोर्डिङ ब्रिजसहितको अवधारणा लागू भइसकेको छ।

सन् २०२५ लाई पर्यटन वर्षको रुपमा घोषणा गर्नुपर्‍यो। दशक पोलिसीका लागि हो। भोलि उद्योगसरह मान्यता दिइयो भने आँकडा विभिन्न स्तरको होटलको आउँछ नि। यहाँ बसमा आउने पर्यटकले पनि राम्रो सेवा लिन पाउँछ।

यहाँ आउने पर्यटकले स्वास्थ्यवर्धक खानपिन, राम्रो बसाइँको अनुभव लिन सकोस् भन्ने हाम्रो मूल उद्देश्य हो।

अहिले समयमै सडकमार्ग नबन्ने, बनिसकेको विमानस्थल नचल्ने, पर्यटन प्रचार प्रसार नगर्ने भनेको जबर्जस्ती निरोगी भएर पनि इन्जेक्सन लगाएर बिरामी हुनु हो।