
नेपाल उद्योग परिसंघ (सीएनआई) को युथ विङ सीएनआइवाइइएफले दोस्रो स्टार्टअप फेस्टिभल गर्दैछ। नेपाली युवाहरुको ठूलो संख्या लगातार विदेशिइरहेको अवस्थामा स्वदेशमै सम्भावना खोज्न प्रेरित गर्ने उद्देश्यले फेस्ट हुँदैछ। भलै ९० प्रतिशतभन्दा बढी स्टार्टअप आइडिया न दिगो हुन्छन् न कार्यान्वयनयोग्य। यस्तो अवस्थामा नेपालमा नवप्रवर्तन व्यवसायका चुनौती, स्टार्टअप फेस्टले दिन खोजेको सन्देश लगायतका विषयमा सीएनआइवाइइएफका अध्यक्ष तथा गोयल ग्रुपका प्रबन्ध निर्देशक अनुराग गोयलसँग बिजमाण्डूका उन्नत सापकोटाले सोधे –
जेफ बेजोस (अमेजन), ज्याक मा (अलिबाबा), फेसबुक (मार्क जुकरबर्ग), स्टिभ जब्स (एप्पल), ल्यारी पेज (गुगल) स्टार्टअपबाट उदाए। त्योसँगै नेपालमा पनि इसेवा, टुटल, फुडमाण्डू, खालीसिसी लगायतका दर्जनौं कम्पनी स्थापना भए। सयौं स्टार्टअप कम्पनीमध्ये अहिले इसेवा, फुडमाण्डू लगायतका कम्पनी मात्रै संचालनमा छन्। स्टार्टअप भनेर अहिले देखासिकी गर्ने प्रवृत्ति हाबी भएको देखिन्छ। होइन?
स्टार्टअप सुरु गर्ने बेलामा आफूले आफैंलाई दुईवटा प्रश्न गर्नुपर्छ। एउटा समस्या के छ अर्को भनेको त्यो समस्याको समाधान मैले कसरी गरिरहेको छु त्यो स्टार्टअप ल्याएर भन्नेमा स्पष्ट हुनुपर्छ। नेपालमा मात्रै होइन जहाँसुकै आफूलाई विस्तार गर्न चाहनुभएको छ भने यी दुईवटा प्रश्नको जवाफ दिन सक्षम हुनुपर्छ।
जस्तै फेसबुककै उदाहरण लिनुस्। इन्ट्रा कलेज नेटवर्किङ प्रयोजनका फेसबुक सुरु भएको थियो। एउटा कलेजकोले अर्को कलेजकालाई चिन्दैन भनेर फ्रेन्डसिप गर्ने माध्यमको रुपमा फेसबुक जन्मिएको थियो। त्यो एकदमै भाइरल भयो। पब्लिकमा फेसबुक गयो। यस्ता अनेकन उदाहरणहरु छन्। युनिक आइडिया जसले विभिन्न समस्या समाधान गर्छ त्यसको उत्तर पाउनुहुन्छ भने कुनै पनि स्टार्टअपको सक्सेस रेट एकदमै बढी हुन्छ। तर, त्यति मात्रैले पनि नपुग्न सक्छ। त्यो हामीले गर्ने व्यापारमा पनि देखिन्छ। जस्तो म रङ व्यवसायमा छु। हामीलाई दुई करोडसम्मको व्यापार ल्याउन त्यति गाह्रो छैन।
साथीभाइ, दुईचार वटा डिलरलमार्फत त्यो गर्न सकिन्छ। तर, २ देखि १० करोडसम्म व्यापार पुर्याउन गाह्रो छ। अहिलेको इन्फ्लेसनले त्यो २० करोड रुपैयाँ पुग्यो होला। २० करोडबाट माथि बिक्री पुर्याउन अरु फ्याक्टरमा जोडबल गर्नुपर्छ। मार्केटिङ, ब्राण्ड अवेयरनेस, कन्ज्युमर अवेयरनेसमा काम गर्नुपर्छ।

स्टार्टअपमा पनि पहिला आइडिया हुन्छ, आइडियापछिको स्टेपमा साथीभाइ तथा परिवारबाट जुट्ने स्रोतबाट लगानी पुग्छ। त्योभन्दा माथि आफ्नो स्टार्टअप लैजान मेन्टरसहितको आवश्यक सहायता चाहिन्छ। सँगै थप लगानी खाँचो पर्छ। आइडिया एकदमै युनिक छ भने स्टेप बाइ स्टेप माथि जाने हो एकैचोटि माथि पुग्ने होइन। हाम्रोमा एकदमै ग्रो भएका स्टार्टअपहरु जस्तै इसेवा, फुडमाण्डूलगायत एकैचोटि माथि पुगेका होइनन् नि। हरेक मान्छेसँग सीमित ज्ञान हुन्छ। लगानी मात्रै सबै होइन। यो बुझ्न सके स्टार्टअप ग्रो हुन्छ।
हामीमा आइडिया भन्दा पनि नक्कल गर्ने बढी देखिन्छ। देशको आर्थिक अवस्था, बजारलाई आवश्यक वस्तु तथा सेवालाई नहेरी लगानी गर्दा असफलता भोग्ने धेरै भएका छन् होइन?
हेर्नुस् स्टार्टअपमा सफलता दर एकदमै कम छ। नेपालमा मात्रै होइन विश्वभर नै यही ट्रेन्ड देखिन्छ। स्टार्टअपको उच्च सफलता दर नै जम्मा ५ प्रतिशत छ। १०० वटामा जम्मा ५ वटा सफल हुन्छन्। स्टार्टअप सफल हुनुमा परिस्थितिले पनि मद्दत पुग्छ। हाम्रो फेस्टलाई हेर्नुहुन्छ भने टिकटकजस्तै ५ वटा स्टार्टअप आएका छन्। सरकारले टिकटकमाथि प्रतिबन्ध लगायो, टिकटकजस्तै अर्को कुनै स्टार्टअप उदाउन सक्छ।

टिकटकको युजर बेस थियो, अब त्यो प्रयोगकर्तालाई क्यास गर्ने स्पेस छ। कपी गर्यो भने उसले नेपालको मार्केट त लिन सक्छ नि। तर, यसो हुँदा पनि सफलता दर कमै हुन्छ। नट अल आइडियाज सक्सिड।
त्यति मात्रै होइन पछिल्लो समय ठूला व्यावसायिक घरानाहरुले सिड मनि हालिदिएर आफ्ना छोराछोरीलाई समय भुलाउनका लागि मात्रै स्टार्टअपमा लगानी गरिरहेका छन्। यसले स्टार्टअपलाई झन् मारिरहेको छ नि होइन ?
यसमा म असहमत छु। स्टार्टअप भनेको पुँजी मात्रै होइन आइडिया पनि हो। स्टार्टअपको राम्रो पक्ष भनेको लगानीमा मात्रै सीमित हुनुपर्दैन। स्टार्टअपमा नेपोटिजमले काम गर्छ जस्तो लाग्दैन। किनभने स्टार्टअप सुरु गर्न ठूलो पुँजी चाहिँदैन। संसारभर हेर्नुहुन्छ भने स्टार्टअपहरु सानो पुँजीबाटै सुरु भएका हुन्। यसले स्टार्टअपको आइडिया सृजना गर्न रोकेको छ जस्तो लाग्दैन।
यसो २/४ करोड गयो भने पनि केही छैन भन्ने मेन्टालिटीबाट स्टार्टअप उँभो लाग्छ?
लगानीको लागि छ भने छुट्टै कुरा होला, तर भुलाउनलाई एक/दुई करोड लगानी गर्न सायद कसैसँग छुट्टै पैसा छैन होला। यदि कुनै स्टार्टअप सफल भयो भने त्यसको भ्यालुएसन एकदमै बढी हुन्छ।

स्टार्टअपमा लागेकाहरु त्यसको इकोसिस्टम बनाउनभन्दा पनि छोटो समयमा बढी कमाउनुपर्छ भन्नेमा केन्द्रीत देखिन्छ, होइन?
छिटो कमाउने मनस्थितिले असफलता दर घट्दा वा बढ्छ भन्ने हुँदैन। छिटो कमाउन खोज्नाले मार्जिन धेरै हुन्छ। मार्जिन धेरै राख्दा आफ्नो ग्राहक गुम्ने मात्रै हुन्छ। छिटो कमाउँ भनेको प्राइसिङ स्ट्राटेजी हो। यो सफलता नाप्ने मोडल होइन। स्टार्टअप सफल हुनलाई त्यसको युनिकनेस र आइडियाको कार्यान्वयनले तय गर्छ।
सरदर ९० प्रतिशतभन्दा बढी स्टार्टअप फेल हुन्छन् भन्ने मान्यता पाइन्छ। नेपालको हकमा त्यो अझ बढी होला। स्टार्टअप हुर्किन नसक्नुमा के समस्या देख्नुहुन्छ?
किन धेरै फेल हुन्छन् भने स्टार्टअपको संख्या नै धेरै छ। जस्तै उद्योग खोल्दा पुँजी धेरै लाग्छ। त्यसक्रममा धेरै सोचविचार, अध्ययन गरेर खोलिएको हुन्छ। परियोजनाको विस्तृत अध्ययन हुन्छ। मार्जिनदेखि बजारमा आफ्नो पहुँचको विषयमा गहिरो अध्ययन गरिएको हुन्छ। तर, स्टार्टअप त आइडियाबाट सुरु हुन्छ। एकदमै सानो स्केलको हुन्छ। त्यही भएर संख्या ज्यादा हुन्छ त्योसँगै असफलता दर पनि बढी हुन्छ।

नेपालमा स्टार्टअप गर्नुको मुख्य चुनौती भनेको मार्केट साइज हो। भारत र चीनजस्ता ठूला जनसंख्या भएको देशसँग जोडिएको नेपाललाई मार्केट साइजले समस्या पार्छ। भारतमा हेर्छौं अनेक स्टार्टअप युनिकर्न भएका छन्। हाम्रोमा लक्षित ग्राहकको संख्या ज्यादै कम छ। तर, आफ्नै भनाइलाई काट्दै छु म। हामीभन्दा सानो मार्केट साइज भएका देशमा स्टार्टअप सफल भएका उदाहरण छन्। किनकि ती स्टार्टअपको आइडिया ग्लोबल स्तरमा थियो। उनीहरुको समस्या समाधान गर्ने हैसियत पनि विश्वस्तर मै थियो। त्यही कारण उनीहरु सफल भए।
फेरि स्टार्टअपबाट सुरु भएका आइडिया आज मार्केट लिडर भएका उदाहरण पनि छन् जस्तै इसेवा। गर्न सकिने पनि रहेछ असल व्यवस्थापन गर्न जान्यो भने। अरु स्टार्टअप पनि यसैगरी ग्रो हुन सक्दैनन् र?
असल व्यवस्थापन गर्न त तपाईंले हायर गर्न सक्नुहुन्छ। म फेरि दोहोर्याउँछु- सफलता दर स्टार्टअपले भइरहेका समस्या समाधान कसरी गर्छ भन्नेमा निर्भर हुन्छ। तपाईंले कुरा गर्नुभएको इसेवाले विद्युतीय भुक्तानीमा भएका समस्यालाई समाधान गर्यो। आज यति सजिलो भएको छ भुक्तानी गर्न। इसेवा टिम र उनीहरुसँग भएको भिजनले आज उनीहरु मार्केट लिडर बने। इसेवाका संस्थापकहरु हेर्नुहुन्छ भने सूचनाप्रविधि क्षेत्रमा पोख्त हुनुहुन्छ। कतिपय स्टार्टअपहरु त्यहाँ जागिर खाएर आएर अनि आफ्नै केही सुरु गरिरहेका छन्।

व्यवस्थापन गर्ने खुबी छ भने त आफू कुनै न कुनैरुपमा सबल देखिन्छ। टिमदेखि कर्मचारीसम्मलाई परिचालन गर्न त्यो खुबीले सघाउँछ। तर, आफूसँग पुँजी र स्रोत छ भने त व्यवस्थापन गर्ने एक्सपर्टिज हायर गर्न सकिन्छ। व्यवस्थापनभन्दा पनि लिडरसीप खुबी हुन अत्यन्त जरुरी हुन्छ। तपाईं ड्राइभर सिटमा हुनुहुन्छ, तपाईंलाई आफ्नो आइडिया प्रति विश्वास हुन जरुरी छ। त्यसले आफ्नो टिमलाई अघि बढ्न बल पुर्याउँछ। त्यसको प्रभाव बजारमा देखिन्छ र स्टार्टअप सफलताको दिशामा अघि बढ्छ।
अहिलेको बिग्रेको अर्थतन्त्रमा ठूला संस्थालाई त सस्टेन गर्न गाह्रो परिरहेको छ झन् स्टार्टअप कसरी टिकिरहेका छन्?
फाइनासियल क्राइसिसको असर ऋणीलाई बढी पर्छ। किनकि ब्याजदर बढेर आफ्नो खर्च बढिरहेको हुन्छ। तर, चलिरहेका स्टार्टअपमा त मलाई लाग्दैन समस्या पर्छ। पक्कै बजारको आकार पक्कै तल जान्छ। उपभोक्ताहरुको क्रयशक्ति घटेको छ। स्टार्टअपको आम्दानी र कारोबार घट्न सक्छ। तर, उनीहरुलाई आफ्नो स्टार्टअप सञ्चालन गर्न धेरै असर पुग्दैन जस्तो लाग्छ। यदि ऋण नै लिएर स्टार्टअप गरिरहेका छन् भने त फरक पर्छ। नभए इक्विटी इन्जेक्ट गरेर सञ्चालन भइरहेका स्टार्टअपलाई धेरै असर पर्दैन।

बिजनेस हाउसहरुलाई समस्या परेको भनेको त त्यही ब्याजदर बढेकाले न हो। बिक्री घट्ने तर, ब्याजदर उकालो लाग्दा समस्या परेको हो। ऋण लिने जुनकुनै व्यवसायलाई पर्ने समस्या यही हो। सानो स्केलको हुने भएकाले स्टार्टअपसँग ठूलो दायित्व हुँदैन।
आर्थिक सुस्तताले ठूला व्यावसायिक घरानाहरुले राम्रो आइडिया भएका संस्थामा गर्न लगानी (सिड मनि वा अक्वायर) त हुनै छोड्यो होला होइन? यसले त नयाँ आइडिया सिर्जनामा असर परिरहेको होला?
आइ डन्ट सी देयर इज अ डिफ्रेन्स। किनकि सबै कम्पनी छुट्टाछुट्टै इन्टिटीले सञ्चालन गरिरहेको हुन्छ। जतिबेला बजार राम्रो हुँदैन, कन्फिडेन्समा कमी हुँदा पक्कै लगानी कम हुन्छ। तर, त्यही समयमा लगानी फिल्टर पनि हुन्छ। त्यही कारण लगानीको संख्या पनि घट्ने हो।
यस्तो बेला लगानीकर्ता बढी सजग र सचेत हुन्छन्। सिड मनि वा अक्वायर गर्ने काममा कमी हुँदैन। कुनै पनि व्यावसायिक संस्था वा व्यवसायीले एकै ठाउँमा धेरै लगानी खन्याउँदैन। त्यसले सफलता दिलाउन गाह्रो पर्छ। ठूला बिजनेस हाउसले पनि लगानी गरेका ५० मध्ये १० वटाले रिटर्न दिन्छन्। सबै सफल हुन्छन् भन्ने छैन। त्यसैले लगानी कम हुँदैन। बिजनेस आफैंमा रिस्क हो। त्यसैले लगानी नगर्ने भन्ने त हुँदैन। घाटालाई कसरी हुन्छ कभरअप गर्ने रणनीति ठूला व्यापारिक संस्थासँग विकल्प हुन्छ।

गत वर्ष सीएनआईको युथ विङ सीएनआइवाइइएफले सञ्चालन गरेको स्टार्टअप फेस्टमा कुल ६ लगानीकर्ता सामेल थिए। यो वर्ष त्यसलाई बढाएर ११ पुर्याएका छौं। यसले पनि लगानीको आकार र संख्या बढ्दै गएको देखाउँछ। लगानीकर्तापछि हटेको जस्तो लाग्दैन।
अहिले अधिकांश युवा नेपालमा भविष्य नदेखेर विदेशिने क्रम झन्-झन् बढ्दो छ। तपाईंहरु स्टार्टअप फेस्ट गर्दैहुनुहुन्छ? फेस्टले ती युवाको भावनालाई समेट्न सक्छ?
स्टार्टअप फेस्ट हामीले नेपालका युवाहरुसँग सेलिब्रेट गर्न खोजेका हौं। यहाँका युवाहरुलाई उद्यमशीलतामा कसरी आकर्षित गर्न सकिन्छ भनेर छलफल गर्दा हामी यो मोडलमा अघि बढेका हौं। हामीले बढीभन्दा बढी युवाहरुलाई यसमा टार्गेट गरेका छौं। मुख्यगरी कलेजका विद्यार्थीलाई हामीले बोलाएका छौं। हामीले ७ वटाभन्दा बढी कलेजहरुसँग साझेदारी गरिसकेका छौं। अझै एमओयु हुने क्रममा रहेकाले यो संख्या पक्कै बढ्दै जान्छ।
हामीले यो फेस्टमार्फत लगानी सुनिश्चितता, रेकग्निसिनसहित स्टार्टअपलाई बुस्ट गर्न खोजेका हौं। युवाहरुलाई नेपालमा पनि एउटा सानो आइडिया आज यत्रो ठूलो हुन सक्छ है भन्ने सन्देश दिनसमेत यो फेस्ट गर्दैछौं। आइडिया भयो भने लगानीसहित अरु पक्षहरु जुटाउन सकिन्छ भन्ने सन्देश हामीले दिन खोजेका हौं। अहिलेको ब्रेन ड्रेन रोक्न यस्ता प्रयासले केही न केही सहयोग पुर्याउँछ।

एउटा स्टार्टअप खुल्यो भने त्यो खोल्ने मात्रै नेपालमा बस्ने होइन नि, त्यहाँ काम गर्ने कर्मचारीदेखि त्यससँग जोडिएका धेरै नेपालमै बस्छन्। एक्लैले काम गर्न सकिँदैन। एउटा सक्सेस स्टोरीले धेरैलाई नेपालमा रिटेन्सन गर्न सघाइरहेको छ। त्यसलाई नै हामीले फेस्टमार्फत देखाउन खोजेका हौं।
कतिवटा स्टार्टअप सहभागी हुँदैछन् ?
समयका कारण हामीले १०-१२ राम्रा आइडियाहरुलाई पिचिङ गर्दैछौं। हामी एक्सिलिरेटेड मोडलमा काम गरिरहेका छौं। स्टार्टअपको स्क्रिनिङ लगभग सकिसकेको छ। उनीहरुलाई वकिल, चार्टर्ड एकाउन्टेन्टसहित डीडीए गर्ने टिमसँग स्टार्टअपहरुले छलफल गर्छन्।
त्यससँगै हामीले ८ वटा स्टार्टअप अवार्ड दिँदैछौं। विभिन्न क्याटेगोरीमा हामी सम्मान गर्दैछौं। यसपालि आइडिया अवार्ड थपिएको छ। स्टार्टअप सुरु नगरिसकेका तर नयाँ र युनिक आइडिया भएकाहरुले यसमा आवेदन दिन सक्छन्।

साढे २ सय हाराहारी स्टार्टअपले इन्ट्री गरेकोमा फेस्टमा विभिन्न क्षेत्रमा काम गर्न खोज्ने आइडिया छन्।
फेस्ट आयोजना गर्नुको कारण तथा उद्देश्य के हुन्?
हामी सीएनआइको युथ विङ भएको नाताले हामी युवालक्षित कार्यक्रम गर्न चाहन्छौं। सीएनआइवाइइएफ सुरु भएदेखि नै वर्षमा एउटा सिग्नेचर इभेन्ट गर्नुपर्छ भन्ने सोच थियो। त्यहीबेला स्टार्टअपसँग सम्बन्धित मन्त्रालयले स्टार्टअपको परिभाषा गर्ने सन्दर्भमा हामीसँग सहकार्य भयो। त्यही बेला सीएनआईले युथ विङलाई नै यो जिम्मेवारी दिनुपर्छ भनेपछि हामी संलग्न भयौं।
सन् २०१९ देखि नै स्टार्टअपलाई सहुलियत कर्जा दिने सरकारले बजेटमार्फत घोषणा गर्यो। तर, त्यो कार्यान्वयन हुन सकिरहेको थिएन। किनकि स्टार्टअपको परिभाषा नै थिएन। कसलाई स्टार्टअप भन्ने यकिन नै थिएन। त्यहीबेला हामीले यसमा केही गर्न सकिन्छ भनेर सरकारसँग मिलेर काम गर्यौं।

त्यसपछि हामीले युवाहरुबाट पाएको रेस्पोन्सले हामीलाई फेस्ट आयोजना गर्न सघाउ पुग्यो। गत वर्षको फेस्टले हामीलाई थप हौसला र बल मिल्यो। हामीले आफैंले अपेक्षा गरेका थिएनौं ६ हजार हाराहारी विद्यार्थी आएर इभेन्टमा भाग लिन्छन् भनेर। युवाहरुको यो हौसलालाई हामी आगामी दिनमा थप परिस्कृत गर्दै लग्नेछौं।
पहिलो फेस्ट गरेपछि लगानी र रेकग्निसनले मात्रै स्टार्टअपलाई नपुग्ने रहेछ भन्ने हामीले बुझ्यौं। उनीहरुले फड्को मार्न आवश्यक इन्क्युभेसन सेन्टर सुरु गरिसकेका छौं। यसले व्यापार गर्न सिकाउनेदेखि समस्या समाधान गर्न सघाउँछ। १० वटा स्टार्टअपलाई हामीले इन्क्युबेसन सेन्टरमार्फत भारतीय नलेज पार्टनर ल्याएर नर्चरिङ गर्यौं।