घट्दो बिक्रीलाई सम्बोधन गर्न एप्पलले तयार पार्‍यो नयाँ आइप्याड र एमथ्री म्याकबुक एयर

बिजमाण्डू
२०८० मंसिर २१ गते ०९:३१ | Dec 7, 2023
घट्दो बिक्रीलाई सम्बोधन गर्न एप्पलले तयार पार्‍यो नयाँ आइप्याड र एमथ्री म्याकबुक एयर
Photo: appleinsider.com

एप्पलले म्याकबुक र आइप्याडको नयाँ मोडल तथा अपग्रेडहरु छिट्टै लन्च गर्ने भएको छ। म्याकबुक र आइप्याडको घट्दो बिक्रीलाई उल्ट्याउन २०२४ को सुरुवातमै एप्पलले नयाँ मोडल तथा अपग्रेडहरु लन्च गर्न सक्ने बताइएको छ।

Tata
GBIME
NLIC

जसअन्तर्गत एप्पलले आइप्याड एयर, आइप्याड प्रो र म्याकबुक एयरलाई अपडेट गर्न लागेको कम्पनी स्रोतलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ। नयाँ आइप्याड एयर पहिलो पटक दुई वटा साइजमा उपलब्ध हुनेछन्। प्रो मोडलमा ओलेड स्क्रिन रहने बताइएको छ। त्यस्तै, म्याकबुक एयरमा नयाँ एमथ्री प्रोसेसर उपलब्ध हुनेछ।

म्याकबुक र आइप्याड दुवैको बिक्रीले एप्पलको आम्दानीको १५ प्रतिशत हिस्सा ओगटेको छ। उपभोक्ताहरुको प्रविधि क्रय शक्ति कमजोर भएसँगै म्याक र आइप्याड दुवैको बिक्रीमा ह्रास आएको छ।

नयाँ मोडलहरु नआउँदा आइप्याडको बिक्रीमा गिरावट आएको बताइएको छ। २०२३ यस्तो वर्ष हो जसमा आइप्याडका कुनै पनि नयाँ भर्सनहरु लन्च गरिएनन्।

अघिल्लो वर्ष नयाँ म्याक रिलिज भएको थियो तर पान्डेमिकले यसको बजारमा निकै प्रभाव पारेको थियो। म्याकबुकको बिक्री गतवर्षको अन्तिम चौमासिकमा ३४ प्रतिशतले घट्दै ७ अर्ब ६१ करोड डलरमा सीमित भएको थियो भने आइप्याडको बिक्री १० प्रतिशतले घट्दै ६ अर्ब ४४ करोड डलरमा रोकियो।

एप्पलले अर्को वर्ष मागलाई पुनर्जीवित पार्न नयाँ मोडेलहरू लन्च गर्न लागेको हो। आइप्याड र यसका एसेसोरिजहरू आइप्याडओएस १७.४ सहित मार्चको अन्त्यतिर लन्च हुने अपेक्षा गरिएको छ।

म्याकओएस १४.३ उपलब्ध हुने गरी नयाँ म्याकबुकहरु उत्पादन गरिँदैछ। सफ्टवेयर अपडेट जनवरीको अन्त्यदेखि फेब्रुअरीसम्म रिलिज हुन सक्ने देखिएपनि हार्डवेयर भने मार्चमा मात्रै रिलिज हुन सक्ने सम्भावना बढी छ।

आइप्याड एयर हाल १०.९ इन्चको स्क्रिन भएको एउटा मात्र साइजमा आउँछ। तर अर्को वर्ष रिलिज हुने मोडलमा १२.९ इन्च स्क्रिन भएको भर्सन पनि उपलब्ध हुनेछ। उक्त भर्सन हालको सबैभन्दा ठूलो आइप्याड प्रो जत्तिकै आकारको हुनेछ। कम्पनीले हाल जे५०७, जे५०८, जे५३७ र जे५३८ मोडल तयार पार्दैछ। जसमा वाइफाइ मात्र चल्ने र सेलुलर पनि भएको दुवै भर्सनमा आउनेछन्।

विभिन्‍न मूल्यमा धेरै अप्सन उपलब्ध गराउने हिसाबले एप्पलले नयाँ साइजमा पनि आइप्याड एयर ल्याउने रणनीति लिएको हो। यसले ग्राहकहरुलाई आइप्याड प्रोको मूल्य नतिरिकनै ठूलो डिस्प्ले लिन पाउने अप्सन दिनेछ। यसमा एप्पलले म्याकबुक एयर र म्याकबुक प्रोकै रणनीति अवलम्बन गरेको हो।