बहालवाला प्रहरी नै पैसा बुझाएर रुसी सेनामा गएको खुलासा, फर्केपछि पनि पदमै

सविन ढकाल
२०८० मंसिर २० गते १८:११ | Dec 6, 2023
बहालवाला प्रहरी नै पैसा बुझाएर रुसी सेनामा गएको खुलासा, फर्केपछि पनि पदमै
रुसी सेनामा भर्ती गराउन नेपाली युवालाई पठाउनेहरु प्रहरीको नियन्त्रणमा

काठमाडौं। बहालवाला प्रहरी नै रुसी सेनामा भर्ती हुन गएको खुलेको छ। अवैध क्रियाकलापमा संलग्नलाई पक्राउ गर्ने जिम्मेवारीमा रहेका बहालवाला प्रहरी कर्मचारी ७ देखि १० लाख रुपैयाँसम्म बुझाएर रुसी सेनामा भर्ती हुन गएको पाइएको हो।

Tata
GBIME
NLIC

तीमध्ये तीन जना रुसी सेनामा काम गर्न नसकेर फर्किएका छन्।

सशस्त्र प्रहरीका दुई असई नेपाल फर्किएपछि प्रहरीकहाँ पुगेका थिए। तर उनीहरूले उजुरी भने दिएनन्। ‘समातिएकाहरुका आफन्तले रकम फिर्ता दिएपछि उनीहरू उजुरी दिन नै आएनन्,’ एक प्रहरी अधिकृतले भने।

‘एक प्रहरीले त रुसी सेनामा केही दिन काम गरेर फर्कि फेरि नेपाल प्रहरीमा जागिर खाइरहेको पनि भेटियो,’ एक प्रहरी अधिकृतले सुनाए।

रुसी सेनामा भर्ती गराउन नेपालीहरुलाई पठाउनेमध्ये १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हरिबहादुर विश्वकर्मा, सन्तोष रोका, मनिष न्यौपाने, रोजल महर्जन, क्षितिज गिरी, दिपेन परियार, सुभाष लामा, गोकर्ण अर्याल, सन्तोष नेपाल, ईश्वरी अधिकारी र सुजाता दाहाललाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। हरिबहादुर, सुजाता र ईश्वरी मुख्य हुन्।

हरिबहादुर नेपाली सेनाबाट अवकाशप्राप्त हुन्। उनीहरूले एक जनाबाट ७ देखि १० लाख रुपैयाँसम्म उठाएको खुलेको छ। तर अहिलेसम्म कति जनालाई पठाए भन्ने खुलेको छैन। हरिबहादुरले भने ११ जनालाई पठाएको बताएका छन्।

‘राम्रो तलब पाउने प्रलोभनमा रुसी सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्व कर्मचारी धेरै गएको पाइयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले भने।

गिरोहले भारत र युएई हुँदै रसिया पठाउने गरेको खुलेको छ। ‘भारतबाट स्थल मार्ग प्रयोग गरेर समेत रुस पुर्‍याएको देखिएको छ,’ एसएसपी खत्रीले भने।

रुसी सेनामा भर्ती भएका ६ नेपालीहरु युद्धमा मारिएको समाचार बाहिरिएपछि सरकारले प्रतिबन्ध लगाएको अवस्थामा कसरी भर्ती हुन पुगे भनेर प्रहरीले अनुसन्धान थालेको थियो।