काठमाडौं। मुलुकमै पहिलो पशुपक्षीको एकीकृत दाना उद्योग सुनसरीको लौकहीमा स्थापना भएको छ। पोल्ट्री उद्योगी गुणचन्द्र विष्ट र टीका पोखरेलको करिब ५ अर्ब रुपैयाँ लगानी स्थापना भएको यो उद्योग माघ महिनाभित्र संचालनमा आउनेछ।
विष्टको अविनाश समूह नेपालको पोल्ट्री उद्यममा अग्रणी हो। यो समूह अन्तर्गत नेपाल ग्यास, अविनाश ह्याचरी, अविनाश पोल्ट्री र दाना उद्योग छ। भारतको स्काईलार्क समूहको संयुक्त लगानीमा यो समूहले चितवनको ब्रम्हपुरमा कुखुराको दाना उद्योग संचालनमा ल्याइसकेको छ।
सुनसरीमा सञ्चालन तयारीमा रहेको उद्योग लगानी‚ मेसिनरी‚ भौतिक संरचना र उत्पादनका दृष्टिले मुलुककै पहिलो ठूलो दाना उद्योग हुने भएको छ। जसमा कुखुरा, गाईभैंसी, माछाको दाना उत्पादन हुनेछ। केही समयपछि यही उद्योगले कुकुरका लागि आवश्यक आहारा पनि बनाउने योजना छ।
गौरीशंकर एग्रो इन्डस्ट्रिजका नाममा लौकहीमा उद्योग माघबाट संचालनमा ल्याउने तयारी छ। नवलपरासीमा साताकै ५ लाख चल्ला उत्पादन गर्ने मुलुककै ठूलो अविनाश ह्याचरी चलाएका विष्टले महत्त्वाकांक्षी योजनासहित लौकहीमा १० बिघा जग्गामा दाना उद्योग स्थापनाको योजना अघि बढाएका हुन्।
कोशी ब्यारेजबाट १६ किलोमिटरको दूरीमा रहेकाे उद्योगमा अहिले संरचना निर्माणका काम धमाधम भइरहेको छ। उद्योग निर्माण २०७९ असारबाट थालिएको हो।
उद्योगमा जडान भइरहेका मेसिनरीहरु जर्मनीको एनड्रिज कम्पनीका हुन्। एनड्रिज नेपालका जलविद्युत क्षेत्रमा परिचित नाम हो। यही कम्पनीअन्तर्गत दानाका अत्याधुनिक मेसिनरी पनि उत्पादन हुन्छ। अत्याधुनिक मेसिनरी उत्पादन गर्ने भएकाले विष्टले एनड्रिज नै रोजेका हुन्।
माछा, पोल्ट्री र गाईवस्तुको दाना बनाउने मेसिन छुट्टाछुट्टै कम्पनीमार्फत बन्ने भएकाले गौरीशंकरले तीन वटा एलसी खोलेको थियो। मेसिनरी जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ।
उद्योगले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थ भण्डारणका लागि ठूलो आकारको गोदाम बनाइरहेको छ। विष्टका अनुसार उद्योगले एक घण्टामा ३० टन दाना उत्पादन गर्ने छ। नेपालमा दानाको कुल मागको एक तिहाइ आफ्नो उद्योगले उत्पादन गर्ने लक्ष्य रहेको विष्टको भनाइ छ।
उद्योगबाट फुल फ्याट सोयासमेत उत्पादन गर्ने तयारी छ। सोयाको गेडा ल्याएर उद्योगबाटै गुणस्तरीय फुल फ्याट सोया उत्पादन हुनेछ।
‘अब हामीलाई आवश्यक उच्च गुणस्तरको पोल्ट्री, माछा तथा गाईवस्तुलाई आवश्यक पर्ने दाना नेपालमै उत्पादन हुन्छ। घरपालुवा जनावरलाई चाहिने हरेक किसिमको दाना बन्छ। बिस्तारै हामी कुकुरको फिडमा पनि जाँदैछौं,’ उनले भने, ‘मेरो आफ्नै पोल्ट्री फार्मलाई इनहाउस दाना चाहिन्छ। बाहिर बिक्री गर्दा पनि उच्च ग्रेड तथा क्वालिटीको किन नबनाउने भनेर परियोजना अघि बढाएका हौं। त्यसैले अरु फिडतर्फ पनि लगानी बिस्तार गर्ने रणनीति लिएका हौं।’
मुलुकमा हाल माछाको दाना दैनिक ३ सय टन हाराहारी भारतबाट आयात हुने गरेको छ। यो बजारलाई विष्टले देखेका छन्। माछाको प्रकार हेरेर उनको उद्योगले तीन किसिमको दाना उत्पादन गर्नेछ। एउटा फ्लोटिङ (तैरिने) फिड‚ जुन ट्राउट माछाले खान्छ। अर्को भुँइमा पुग्ने दाना (स्रिङ्किङ) हुन्छ। तेस्रो न तैरिन्छ, न डुब्छ। बीचमा बस्ने (सेमि स्रिङ्किङ) दाना पनि यो उद्योगबाट उत्पादन हुनेछ।
त्यस्तै, डेरीको बढ्दो बजारलाई लक्षित गर्दै क्याटल फिडसमेत उत्पादन गर्ने उद्योगको तयारी छ। उद्योग परिसरमै ३० हजार टन क्षमताको साइलो पनि निर्माण भइरहेको छ। उद्योगले गाईवस्तुलाई चाहिने कन्सन्ट्रेटेड फिडसँगै फाइबर धेरै भएको पौष्टिक साइलेजसमेत उत्पादन गर्ने योजना बनाएको छ।
बारीमा खेर गइरहेका मकैका ढोड, खोस्टा र पराललाई उपयोग गरेर साइलेज बनाइनेछ। यसका लागि आवश्यक पर्ने प्रविधि खोज्ने काम भइरहेको विष्टले जानकारी दिए।
‘यसबाट हामीले पिउने दूधमा धेरै परिवर्तन गर्न सक्छौं। अहिले पनि राम्रो गुणस्तरको दूध उपभोक्ताहरुले नपाइरहेको अवस्थामा यसले केही मद्दत पक्कै पुर्याउँछ। राज्यले पनि नेपालमा उत्पादन हुने दूधको गुणस्तर बढाउन किसानहरुलाई केही गरेको छैन,’ विष्टले भने।
जुन व्यवसाय वा उद्योगमा हात हाले पनि जोखिम मोलेर ठूलो लगानी गर्न रुचाउने विष्ट सानो स्केलमा हुने लगानीले माग नै पूर्ति नहुने बताउँछन्। कम लगानीसहितको प्रविधि भएको उद्योगले गर्ने उत्पादन कस्ट इफेक्टिभ नहुने उनको भनाइ छ।
‘उत्पादन लागत धेरै भएपछि उपभोक्ताले पनि कम मूल्यमा पाउने कुरा हुँदैन,’ उनले भने। नेपालको सन्दर्भमा ५ अर्ब रुपैयाँ ठूलो पुँजी भए पनि अहिलेको विकास अनुसार धेरै नभएको उनको भनाइ छ।
१० वर्षअघि करिब साढे ३ अर्ब लगानीमा सुरु गरेको अविनाश ह्याचरी र झण्डै १ अर्बमा किनेको नेपाल ग्यासमा लगानी २ अर्ब पुर्याइसकेका विष्टको व्यावसायिक यात्रा मन्दीको समयमा दाना उद्योगमा इन्ट्रीसँगै थप रोचक बन्ने देखिन्छ। जोखिम नलिइ कुनै परिवर्तन नहुने भन्दै उनले दाना उद्योगमा लगानीसँगै कम गुणस्तरको सामानलाई उच्च मार्जिन राखेर व्यापार गरिरहेकाहरुले अब बिजनेस खाली गर्नुपर्ने समय आएको बताए।
कम्पनीलाई केही समयमै पब्लिक कम्पनीमा रुपान्तरण गर्ने विष्टको योजना छ। सेयर निष्कासनपछि लगानीकर्तालाई वार्षिक न्यूनतम २० प्रतिशत लाभांश दिने दाबी उनले गरे।
सञ्चालनमा आएपछि उद्योगले ३ मेगावाट बिजुली खपत गर्नेछ। भविष्यमा उद्योगमै सौर्य ऊर्जाको वैकल्पिक पूर्वाधार निर्माण गर्ने विष्टको योजना छ।