
काठमाडौं । रुपन्देहीको गुरु कृपा गाईभैंसी फार्मले ऋण नतिरेपछि महालक्ष्मी विकास बैंकले लिलामी प्रक्रिया अगाडि बढाउने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रुपन्देहीकै नमुना किराना पसलको धितो लिलामी प्रक्रिया थालेको छ।
यस्तै, एभरेष्ट बैंकले रौतहटको नेपाल बिउबिजन उद्योग, लक्ष्मी बैंकले खोटाङको तारा इन्टरलक ब्लक उद्योग, हिमालयन बैंकले तनहुँको सहयोगी कृषि तथा पशुपक्षी फार्म प्रालि, माछापुच्छ्रे बैंकले कञ्चनपुरको रोकाया किराना पसलको धितो लिलामी गर्दैछन्।
देशमा आर्थिक मन्दी, घट्दो उपभोग र बजार, बढ्दो लागतले स-साना उद्यमीदेखि कृषकसम्म आर्थिक संकटमा परेका छन्। उनीहरु आर्थिक रूपमा उठ्नै नसक्ने भएपछि निक्षेपकर्ताको पैसा सुरक्षित राख्नका लागि पनि बैंकहरु लिलामी प्रक्रियामा अगाडि बढ्नु परेको हो।
गाउँठाउँमै केही गरौं भनेर उद्यम थालेकादेखि व्यवसायिक रुपमा कृषिलाई अगाडि बढाएर देशमा अडिएकाहरु धेरैले ऋण दिइएको थियो। बैंकहरुले यो ऋण हचुवाका भरमा भने दिएका थिएनन्। नेपाल राष्ट्र बैंकको विशेष मार्गदर्शन पच्छ्याउँदै आफ्नो आन्तरिक जोखिम मूल्यांकनदेखि भविष्यको सम्भावनासम्म हेरेर बैंकहरुले ऋण प्रवाह गरेका थिए।
तर, ती व्यवसाय टिकेनन्। अहिले हरेक दिन साना साना पसल, उद्यम, कृषि फर्महरु लिलामीमा चढ्न थालेका छन्। उनीहरु संकटमा पर्नुको प्रमुख कारण- सरकार, राष्ट्र बैंकको नीतिका साथै व्याप्त आर्थिक संकट रहेको बैंकरहरु बताउँछन्।

‘अहिले तपाईंहरुले जति पनि साना साना व्यवसाय डुबेको देखिरहनु भएको छ, त्यो यत्तिकै समस्यामा परेको होइनन्। मैले मेरो २५ वर्ष लामो बैंकिङ करियरमा यतिबिघ्न मान्छेहरु आर्थिक रुपमा समस्यामा परेको देखेको थिइन‚’ एक बैंकरले भने, ‘सरकार र राष्ट्र बैंकको नीतिले उनीहरुलाई संकटमा पुर्याएको छ। बैंकले यसमा चाहेर पनि गर्ने ठाउँ देखिरहेको छैन। आफ्नै आँखा अगाडि राम्रो ऋण डुबेको हेरिरहनु परेको छ।’
राष्ट्र बैंकले गाउँगाउँमा वित्तीय स्रोत उपलब्ध गराउने भन्दै सस्तो ब्याजको पुनर्कर्जादेखि बैंकहरुलाई आफ्नै कोषबाट लगानी गर्न बाध्यात्मक व्यवस्था गरेको थियो। त्यसपछि बैंकहरुले उद्यमशीलतामा लाग्ने मान्छे खोज्दै ऋण दिन थाले।
‘अहिले त्यही ऋणमा समस्या आएको छ‚’ अर्का एक बैंकरले भने, ‘यहाँ हामी ठूलाठूला ऋणको कुरा गर्छौं तर एकदमै सानो सानो ऋण झन् धेरै बिग्रिएको छ।’
उनका अनुसार एक-डेढ वर्षअघि पसल देखाएर ऋण लिनेहरु धेरै थिए। व्यापार-व्यवसाय पनि राम्ररी चलेको थियो।
‘ तर, अहिले जताततै मन्दी छ। नियमित साँवा ब्याज तिरिरहेको मान्छेले किन पैसा हालेन भनेर पसल पुग्दा त्यहाँ पसलै नहुने अवस्था छ’ ती बैंकरले भने, ‘राष्ट्र बैंकले पनि पुनर्कर्जा बन्द गरिदियो।’
उनका अनुसार, सरकारी ब्याज अनुदानवाला ऋणमा पनि समस्या देखिएको छ। बैंकहरुले सरकारले पैसा तिर्छ भनेर ऋण दिए। अहिले सरकारले बैंकहरुको दायित्व नै भुक्तानी गरेको छैन। ऋणीले थप पैसा नपाउने अवस्था आयो। अन्य कारणले पनि ऋणी संकटमा पुगे।
‘अहिले ऋणी त संकटमा गयो गयो, ऋण डुबेका कारण बैंकहरु पनि संकटमा जान थालेका छन्’ ती बैंकरले भने, ‘खराब ऋण आगामी दिनमा अझ बढ्ने देखिन्छ।’
केही दिनअघि आफ्नो पूर्वदेखि पश्चिमसम्मका अधिकांश शाखा डुलेर फर्किएका एक बैंकका प्रमुख कार्यकारी ‘अहिलेसम्मकै सबैभन्दा धेरै निराशा उत्पन्न भएको’ बताउँछन्।
‘ऋण खाने त संकटमा छन् नै ऋण नलिएकाहरु पनि सकारात्मक छैनन्,’ उनले भने, ‘केही गरौं न त भनेर अडिएकाहरुलाई ऋण तिर्न नसकेर समस्यामा परेका पात्रहरुको दुर्दशाले विदेश पलायन हुन प्रेरित गरिरहेको छ।’
उनले सरकारको रवैयाले ऋणीहरु झन् आत्तिएको बताउँछन्। एक व्यवसायीले मदिरा उत्पादन गर्ने भनेर अंगुर खेती सुरु गरे। सरकारले एक किलो अंगुरबाट १ हजार ५०० मिलिलिटर मदिरा बनाउनु पर्छ भन्ने नीति लिइदियो। व्यवसायी त्यही नीतिका कारण संकटमा परे।
‘यस्ता उदाहरण त बैंकैपिच्छे कति छन् कति‚’ उनले भने, ‘आर्थिक संकटले समस्या त पारिरहेको छ नै, सरकारी निकायहरुले संकटमा नपरेकाहरुलाई पनि जबर्जस्ती तान्ने काम गरिरहेका छन्।’

बैंकरको बुझाइमा साना उद्यमहरु डुब्ने क्रमको सिलसिला लामो जान्छ।
‘बैंकले ब्याज घटाएनन् भन्ने सरकारको गुनासो छ। तर, अहिलेको समस्या ब्याज मात्रै होइन भन्ने कुरा सरकार बुझ्नै खोज्दैन’ अर्का एक बैंकरले भने, ‘राष्ट्र बैंकका प्रमुखहरुलाई त के भन्नु, उद्यम व्यवसाय भन्ने के हो बुझ्नु छैन। टेबुलमा बस्यो कोठे अनुसन्धान गरेर निष्कर्ष सुनाइदियो।’
ती बैंकरका अनुसार अबको विकराल परिस्थिति न सरकारले सम्हाल्न सक्छ न त राष्ट्र बैंकले नै।
‘उनीहरुलाई सम्हाल्नु नै छैन। समस्याको गहिराइमा जानु नै छैन,’ ती बैंकरले प्रश्न गरे, ‘ताइनतुइका अनुसन्धान गरेर बस्ने राष्ट्र बैंकले समस्या कहाँ छ भनेर एउटा अनुसन्धान गरेको छ?’
सरकारले मनोबल नदिने, नीतिगत सहजीकरण नगर्ने र कोठे विश्लेषण गर्नाले संकट गहिरिएको उनको पनि बुझाइ छ।
‘अहिले घरजग्गाले संकट आयो भनिएको छ। धितो नै नभएका ऋणमा पनि समस्या छ भनेर किन नबुझेको होला,’ उनले भने, ‘संकट अझै गहिरिन्छ। सुधार हुने विन्दुमा हामी पुग्न धेरै टाढा छ।’