काठमाडौं। टाटा मोटर्स इन्डियाले नयाँ वर्षदेखि प्यासेन्जर सेग्मेन्टका भेहिकलको मूल्य बढाउने तयारी गरेको छ। उत्पादक कम्पनीहरुले नयाँ वर्षको अवसर पारेर आफ्नो गाडीको मूल्य समायोजन गर्ने गरेका छन्। सोही बमोजिम टाटाले पनि आगामी जनवरीमा आफ्नो प्यासेन्जर सेग्मेन्टका गाडीहरुको मूल्य केही प्रतिशत बढाउने तयारी गरेको हो।
यसले नेपाली बजारमा पनि जनवरीपछि आयात हुने टाटाका गाडीहरुका मूल्य बढाउने छ। उत्पादक कम्पनीले मूल्य बढाएपछि बिक्रेताहरुले पनि त्यहीअनुसार मूल्य बढाउनु स्वाभाविक पनि हो।
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको नेक्सन इभी म्याक्स र टियागो इभीको पनि मूल्य केही समायोजन हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार डिसेम्बरसम्म यी गाडीहरु खरिद गर्दा पुरानै मूल्यमा पाइने छ।
कम्पनीले डिसेम्बरको लागि भनेर १-३ तारिखसम्म नेक्सन इभी म्याक्समा एक्सचेन्ज अफर पनि चलाउने योजनामा छ। यसको मूल्य ४५ लाख ९९ हजार रुपैयाँ छ। अफरमा १ वर्षको रोड ट्याक्स निःशुल्क, एक्सचेन्ज बोनस, भेहिकल एक्सेसरिज, फास्ट चार्जर निःशुल्क र एक वर्षको लागि अटो प्लस इन्सुरेन्स निःशुल्क प्रदान हुनेछन्।
डिसेम्बर अन्तिमसम्म बुकिङ लिएका र नयाँ मूल्य तय हुनुअघि बुकिङ लिने सबै उपभोक्तालाई हालकै मूल्यमा गाडी उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता जनाएको छ। सिप्रदीले लगभग जनवरीको पहिलो साताबाट प्यासेन्जर गाडीको मूल्य बढाउने योजना बनाएको छ।
हाल टियागो इभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँ छ। यस्तै नेक्सन इभी म्याक्सको ४५ लाख ९९ हजार रुपैयाँ छ। जुन जनवरीमा मूल्य समायोजन हुँदा अहिले भएको मूल्यमा १ लाख रुपैयाँ वा त्योभन्दा केही बढीले बढ्ने अनुमान गरिएको छ।
कम्पनीले हालसम्म टियागो इभी मात्र ८०० वटा डेलिभरी गरिसकेको छ। यस्तै ३ हजार नेक्सन इभी र म्याक्स नेपाली सडकमा चलिरहेका छन्।
टियागो इभी दुई वटा ब्याट्री प्याकमा उपलब्ध छ। जसमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको छ। यसमा भएको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा २५० किलोमिटरदेखि ३१५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
टाटाको नेक्सन इभी म्याक्समा भने ४० किलोवाटको ब्याट्री प्याक छ। यसमा १०० किलोवाटको मोटर छ। टाटाको नेक्सन इभी म्याक्समा रहेको सो ब्याट्रीले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
यस्तै नेक्सन इभी म्याक्समा १९० एमएमको ग्राउन्ड क्लियरेन्स छ। यो एसयूभीमा १६ इन्चको डायमन्ड कट एलोय ह्वील्स छ। यसमा भएको मोटरले २५० एनएम टर्क उत्पादन गर्छ।
टाटाले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।