सरकारी भवनमा सर्‍यो बागमतीको उद्योग मन्त्रालय, प्रदेश सरकारको जोड कृषि र आर्थिक विकास

बिजमाण्डू
२०८० मंसिर १३ गते १९:०७ | Nov 29, 2023
सरकारी भवनमा सर्‍यो बागमतीको उद्योग मन्त्रालय, प्रदेश सरकारको जोड कृषि र आर्थिक विकास


हेटौंडा। भाडाको घरमा रहँदै आएको बागमतीको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बुधबारदेखि आफ्नै सरकारी भवनमा सरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज भवन उद्घाटन गरेका हुन्।

Tata
GBIME
NLIC

सो अवसरमा जमरकट्टेलले प्रदेश सरकार फरक ढंगले अगाडि बढेको बताए। उनले प्रदेश सरकार अनावश्यक खर्च कटौती, उत्पादनको क्षेत्रमा लगानी र परिणाम आउने क्षेत्रमा लगानी गरिरहेको दाबी गरे।

उनले कृषि क्षेत्रको प्रदेश सरकारले गर्दै आएको लगानी व्यक्ति केन्द्रित भएकाले त्यसले कुनै परिणाम दिन नसकेको भन्दै अब समुदायमा आधारित उत्पादनको मोडेलमा अगाडि बढ्ने बताए। प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र किसानको सहभागितामा समुदायमा आधारित कृषि उत्पादन गर्ने उनले बताए। उत्पादित वस्तुको बजारीकरणको जिम्मा समेत प्रदेश सरकारले लिने गरि काम अगाडि बढाइएको उनको दाबी थियो।

सो कार्यक्रममा उनले सार्वजनिक विश्वविद्यालय निर्माण गर्न लागेको जानकारी दिँदै मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाइने घोषणा गरे।

त्यस्तै, बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा (तामाङ) ले रोजगारी सिर्जना गर्न उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए। विगतमा प्रदेश सरकारले उद्योग, व्यापार र व्यवसायलाई प्राथमिकतामा राख्न नसकेको स्वीकार्दै उनले अब उच्च प्राथमिकतामा राखेर आर्थिक विकासमा लाग्नुपर्ने बताए।

कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले नयाँ भवनमा प्रवेश गरेसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताए।

‘जनताले महसुस गर्ने खालको काम गर्न सकिरहेको अवस्था छैन। जनतालाई अब हामीले काम गरेर देखाउनुपर्छ,’ उनले भने।