टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बेच्न नपाउने, मुद्दा खेपिरहेका इलन मस्कलाई धक्का

बिजमाण्डू
२०८० मंसिर १३ गते १८:५२ | Nov 29, 2023
टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बेच्न नपाउने, मुद्दा खेपिरहेका इलन मस्कलाई धक्का

टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ प्रविधिमा निर्माण भएको कार बिक्री गर्न नपाउने भएको छ। बेलायतको नयाँ कानुन अन्तर्गत टेस्लाले यो प्रतिबन्धको सामना गर्नुपरेको हो।

Tata
GBIME
NLIC

बेलायतको यातायात विभागले कार निर्माता कम्पनीहरुलाई गाडीलाई ‘सेल्फ ड्राइभिङ’ वा ‘ड्राइभरलेस’ भनेर व्याख्या गर्न अब रोक्नेछ।  

यससँगै इलन मस्कको ‘रोबट ड्रिभन’ गाडी बिक्री गर्ने योजनामा धक्का लागेको छ। यसअघि नै बेलायतमा टेस्लाविरुद्ध ‘ड्राइभर एसिस्टेन्स’ प्रविधिलाई लिएर मुद्दा चलिरहेको छ। टेस्लामा सेल्फ ड्राइभिङको फिचर भए पनि कार निरन्तर ड्राइभरको निगरानीमा चल्छ। त्यसलाई ‘एसिस्टेन्स सिस्टम’ भनिन्छ। बेलायतमा यही प्रविधिमा ‘फल्ट’ भेटाएको हो।

टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ अपग्रेडका लागि विश्वभरबाट ग्राहकलाई हजारौं पाउण्ड डलर तिर्न लगाइरहेको छ। यद्यपि, उसले सो प्रविधिको ‘टेस्ट भर्सन’ भने उत्तर अमेरिकी देशमा मात्रै ‘एक्टिभेट’ गरेको छ।

गत सातामात्रै बेलायतको सरकारले ‘सेल्फ ड्राइभ’, ‘ सेल्फ ड्राइभिङ’, ‘ड्राइभ इटसेल्फ’, ‘ड्राइभरलेस’ र ‘अटोमेटेड भेहिकल’ लाई नियमन गर्न विधेयक ल्याउने घोषणा गरेको थियो।

अटोमेटेड भेहिकल विधेयक कानुनमा परिणत भएसँगै प्रतिबन्ध कार्यान्वयनमा आउनेछ। यो कानुन सन् २०२४ वा २०२५ देखि लागू हुनेछ।

बेलायतको यो कानुनले टेस्लालाई सोही प्रविधिको आधारमा बजारमा गाडी बिक्री गर्न गाह्रो हुनेछ।

टेस्लाले सन् २०१६ देखि नै ‘फूल सेल्फ ड्राइभिङ क्यापबिलिटी’ भएको कार बिक्री गर्दै आइरहेको छ। तर, यसरी बेचिएका कारहरुको फिचर नियामक निकायले स्वीकृत नगरेसम्म भने ‘एक्टिभेट’ हुँदैन।

बेलायतको यातायात विभागले अटोमेटेड भेहिकल विधेयकमा सुरक्षालाई आफूहरुले प्राथमिकतामा राखेको जनाएको छ। बजारमा व्याप्त गलत मार्केटिङ अभ्यासलाई निरुत्साहन गर्न यो विधेयक ल्याइएको विभागले जनाएको छ।