
काठमाडौं। एनसेलले सन् २०२३ को तेस्रो त्रैमासमा ९ अर्ब ३१ करोड रुपैयाँको व्यापार गरेको छ। बुधबार पछिल्लो वित्तीय विवरण सार्वजनिक गरेको एनसेलको माउ कम्पनी आजियाटाले अघिल्लो वर्ष २०२२ को तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कारोबार ७० करोड ५० लाख रुपैयाँले घटेको जनाएको छ।
बुधबार बिहान मात्रै आजियाटाले एनसेलबाट बाहिरिने बोर्ड बैठकको निर्णय सार्वजनिक गरेको थियो। वित्तीय विवरण अनुसार सन् २०२३ को ९ महिनामा कम्पनीको कारोबार २८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०२२ को ९ महिनामा कम्पनीले ३० अर्ब १९ करोड रुपैयाँको व्यापार गरेको थियो।
आजियाटाका अनुसार २०२३ को तेस्रो त्रैमासमा कुल कारोबारको ३५ प्रतिशत हिस्सा एनसेलले डेटा बिक्रीबाट आर्जन गरेको छ। जुन भनेको ३ अर्ब २६ करोड रुपैयाँ हुन्छ। अघिल्लो वर्षको सोही अवधिमा एनसेलले डेटाबाट कुल व्यापारको ३१ प्रतिशत हिस्सा आर्जन गरेको थियो। जुन भनेको ३ अर्ब १० करोड रुपैयाँ थियो।
वित्तीय विवरणअनुसार कम्पनीको कुल संचालन खर्च कुल आम्दानीको ५२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमासमा कुल संचालन खर्च कुल आम्दानीको ४९.६ प्रतिशत थियो।