महासमितिको संघारमा धर्मबारे मुख खोले देउवाले, के कांग्रेसले हिन्दु राष्ट्रलाई एजेन्डा बनाउँछ?

नेत्र तामाङ
२०८० मंसिर १२ गते २१:०५ | Nov 28, 2023
महासमितिको संघारमा धर्मबारे मुख खोले देउवाले, के कांग्रेसले हिन्दु राष्ट्रलाई एजेन्डा बनाउँछ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकै कम बोल्ने नेतामा पर्छन्। राष्ट्रिय राजनीतिका सामयिक विषयमा मौनतामाथि देउवाले धेरैले आलोचना पनि गर्छन्। पछिल्लो समय शासकीय व्यवस्थामा नै प्रश्न उठाउने क्रम बढिरहे पनि देउवा मौन छन्। व्यवस्थाविरुद्धका आन्दोलनमा मौन देउवाले सोमबार धर्मका विषयमा मुख खोलेका छन्। त्यो पनि वर्तमान संवैधानिक व्यवस्था विपरित हुनेगरी।

Tata
GBIME
NLIC

सोमबार नवलपुरका पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले धर्मनिरपेक्षतामा विचार गर्न सकिने बताए।

पछिल्ला दिनहरुमा सरकारको काम र व्यवस्थाप्रति जनआक्रोश बढ्दो छ। संघीयताविरुद्ध एक व्यक्तिको अगुवाइमा भएको आन्दोलनमा सरकार त्रसित छ। हिन्दु सनातन राष्ट्रबारे पनि यही बेला आवाज उठेको छ।

यी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक प्रष्टीकरण दिँदा पनि देउवा मौन नै रहे। तर सोमबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पुग्दा देउवाले धर्म निरपेक्षताबारे मुख खोले।

देउवाले आफ्नो सम्बोधनमा कुनै पनि अवस्थामा राजतन्त्र नफर्किंने ठोकुवा गर्दा धर्मनिरपेक्षताबारे भने सल्लाह गर्न सकिने धारणा राखेका हुन्। ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन,’ देउवाले भने, ‘अरु विषयमा सोच्नुपर्ने भएको छ। धर्मनिरपेक्ष भनेका छन्। कोही के भनिरहेका छन्। यसबारेमा सल्लाह गर्न सकिन्छ।’

शशांकको मुद्दा, शशांककै मञ्चमा देउवाको साथ!

कांग्रेसमा देश धर्मनिरपेक्ष हुनै नसक्नै भन्दै मुद्दा उठाउँदै आएका नेता हुन् डा शशांक कोइराला। उनै कोइरालाको क्षेत्र पुगेर देउवाले यसबारे सल्लाह गर्न सकिने बताएसँगै कांग्रेसले यो मुद्दालाई संस्थागत बनाउने हो कि भन्ने चर्चा चल्न थालेको छ।

सोमबार दिउँसो नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दलदलेमा देउवा र शशांक एकै मञ्चमा।

‘देश धर्मनिरपेक्ष हुँदैन। न धर्म सापेक्ष हुन्छ। धर्म त स्वतन्त्र हुन्छ,’ शशांकले बेलाबेला उठाउँदै आएको मुद्दा हो यो। १३औं महाधिवेशनपछि खुमबहादुर खड्का यो मुद्दा लिएर जोडतोडले लागेका थिए। त्यसपछि धर्मनिरपेक्षबारे मत लिन जनमतसंग्रह नै हुनुपर्ने धारणा शशांकको थियो। यद्यपि अहिले भने शशांक यसबारे बोल्न छाडेका छन्। शशांकसँगै डा शेखर कोइरालाले पनि पछिल्लो समय हिन्दु राष्ट्रबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।

कांग्रेसमा अहिले शंकर भण्डारीलगायतका नेताहरुले वैदिक सनातन हिन्दु राष्ट्र हुनुपर्ने माग राख्दै आएका छन्। अघिल्लो महासमितिमा उनीसहित कांग्रेस नेताहरुले हिन्दु राष्ट्रका लागि हस्ताक्षरसमेत संकलन गरेका थिए। यद्यपि देउवाले उक्त हस्ताक्षरको कुनै सुनुवाइ गरेनन्। यसपटक महासमिति बैठकअघि सभापति देउवाले नै धर्म निरपक्षेताबारे बोलेकोमा आफूलाई खुसी लागेको कांग्रेस नेता भण्डारीले बताए। ‘मैले रहरले बोलेको हैन रहेछ भन्ने पुष्टि भयो नि हैन? सभापतिज्यूले नै बोल्नुभयो,’ भण्डारीले बिजमाण्डूसँग भने, ‘एकदम राम्रो भएको छ।’

अब के यो कांग्रेसको संस्थागत एजेन्डा बन्छ त?

जवाफमा भण्डारीले भने, ‘अब बनाउनुपर्‍यो नि। वैदिक सनातन हिन्दु राष्ट्र हुनुपर्छ।’ महासमिति बैठकमा आफूहरुले यो विषयलाई फेरि एजेन्डा बनाउने र वैदिक सनातन राष्ट्रका लागि लागि पर्ने उनी बताउँछन्।  

कांग्रेस महासमितिको बैठक पुस १६ गतेबाट चार दिनसम्म ललितपुरको गोदावरीस्थित हलमा हुने तय भएको छ। कांग्रेसका अधिकांश नेता अहिले हिन्दु राष्ट्रबारे प्रश्न सोध्दा मौन रहन्छन्, संस्थापनइतरका होस् या संस्थापन पक्षका। १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा डा शेखर कोइरालाले हिन्दु राष्ट्रको मुद्दा ल्याउने अपेक्षा कांग्रेस नेताहरुले गरेका थिए। यता देउवाले भने जनमत संग्रह गर्न दुई तिहाई मत चाहिने भन्दै टार्दै मत आफ्नो पक्षमा लिए। देउवाको पछिल्लो अभिव्यक्तिकै कारण महासमितिमा हिन्दु राष्ट्रबारे माहोल तातिने अवस्था देखिएको कांग्रेसका एक पदाधिकारीले बताए।

‘अघिल्लो महासमितिमा पनि हिन्दुराष्ट्र हुनुपर्ने माग चर्को थियो,’ ती पदाधिकारीले भने, ‘यसपटक त सभापतिले नै मुख खोल्नुभएको छ। माहोल यही विषयमा तातिने देखियो।’ यद्यपि संघीयतापछि धर्मनिरपेक्ष घोषणा भएकोले पार्टीले संस्थागत निर्णय गर्ने आँट नगर्ने उनी दाबी गर्छन्।  

कांग्रेसको संस्थागत मुद्दाबारे जानकार राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल सभापतिले नै यसबारे बोलेपछि महासमिति तातिने बताउँछन्।

‘सभापतिले नै बोलेपछि महासमितिमा इन्डोर्स हुनसक्छ। किनकि अघिल्लो महासमितिमा पनि करिब आधा सदस्यले हस्ताक्षर बुझाएका थिए,’ दाहालले भने।

दाहालले यसअघि कांग्रेस प्रशिक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत लिएका थिए। पछिल्लो समय धेरै कांग्रेस कार्यकर्ता हिन्दु राष्ट्रको अभियानमा हिडेकाको पछि लागेकाले तिनलाई रोक्न पनि देउवाले यसबारे मुख खोलेको हुनसक्ने उनको अनुमान छ।

‘अहिले पार्टीकै केही साथीहरु धर्मनिरपेक्षको विरोधमा निस्केका छन्। त्यो बहाव रोक्न/छेक्न देउवाले अलिकति हावा चलाइदिएको पनि हुनसक्छ,’ दाहालले भने।

धर्मको परिचयले देश बच्छ भनेर लागे फेरि अर्को पहिचानवादीहरुको द्वन्द्व सुरु हुन सक्ने भएकोले यसबारे अहिले नै पार्टीले धारणा बनाउने विषयमा आफूलाई पत्यार नलागेको उनी बताउँछन्।

माओवादी र एमालेमा पनि चासो

सत्तारुढ दल माओवादी केन्द्रमा पनि धर्मनिरपेक्षताबारे बेलाबेला बहस हुनेगर्छ। गत जेठ ३ गते माओवादी केन्द्रको पोष्टिटब्युरो सदस्य रामकुमार शर्मा र केन्द्रीय सदस्य इन्दु शर्माले प्रधानमन्त्री प्रचण्डलाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै यस विषयमा जनमत संग्रह गराउन सुझाव दिएका थिए।

‘राष्ट्रिय विवाद र बहसको रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्मनिरपेक्ष वा हिन्दु राष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लगियोस्,’ माओवादी अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख थियो।

एमालेमा पनि महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई धर्मनिरपेक्षताबारे बहस गर्न ज्ञापनपत्र नै बुझाएका थिए। पछिल्लोपटक बस्नेतले यसबारे कुनै धारणा राखेका छैनन्। कांग्रेस नेताहरु धर्मनिरपेक्षबारे जनमतसंग्रह भए एमाले र कांग्रेसको लाइन एउटै हुने दाबी गर्छन्। ‘कांग्रेसमा त हिन्दु राष्ट्र हुनुपर्छ भन्ने ७५ प्रतिशत माथि नै छन्, एमालेमा ६० प्रतिशत को हाराहारीमा छ,’ कांग्रेसका एक नेताले भने।