धितोपत्र बोर्डको अध्यक्षका लागि लबिङ सुरु, हमालको दोहोरिने दाउ, दुई जना सदाबहार उम्मेदवार

बिजमाण्डू
२०८० मंसिर ११ गते १२:५४ | Nov 27, 2023
धितोपत्र बोर्डको अध्यक्षका लागि लबिङ सुरु, हमालको दोहोरिने दाउ, दुई जना सदाबहार उम्मेदवार


काठमाडौं। अर्को स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने तयारीमा रहेको नेपाल धितोपत्र बोर्डको नेतृत्वमा निकट व्यक्ति पुर्‍याउन व्यावसायिक घरानाबीच नै प्रतिस्पर्धा देखिन थालेको छ।

Tata
GBIME
Nepal Life

नयाँ स्टकका लागि ठूला व्यावसायिक घरानाबीच देखिएको लडाईंसँगै अध्यक्षको नियुक्तिका लागि राजनीतिक लविङ तीब्र भएको छ। नयाँ स्टकको लाइसेन्स लिन वाहिर देखिएका व्यावसायिक समूहबीच बोर्डमा आफ्नो अनुकुल अध्यक्ष ल्याउन ठूलै रस्साकस्सी चलेको छ।

भीष्मराज ढुङ्गानामाथि अनियमितताको आरोपसँगै पद गएपछि बाँकी कार्यकालका लागि रमेश हमाल बोर्ड अध्यक्ष नियुक्त भएका थिए। उनको कार्यकाल पुस मध्यमा सकिंदैछ।

हमालकै पहलमा नयाँ ब्रोकर लाइसेन्स वितरण भइसकेको छ। व्यावसायिक घरानाहरुले अर्को स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज चाहिरहेका थिए। हमालले यसको लाइसेन्स वितरण प्रकृया अगाडि बढाएपछि संसदको अर्थ समितिदेखि सरकारसम्मले रोक्ने निर्णय गरेका थिए।

अर्थ समितिले पुरानो निर्णय उल्टाउँदै लाइसेन्स दिन बाटो खोलिदिइसकेको छ। सरकारले भने निर्णय गरिसकेको छैन। यो विषय सर्वोच्च अदालतमा पनि पुगेकामा सर्वोच्चले लाइसेन्स वितरण गर्ने बाटो खुलाइ दिएको थियो।

बोर्डको अध्यक्षका लागि अहिले पाँच जनाको नाम चर्चामा छ। वर्तमान अध्यक्ष हमाल आफ्नो काम नसकिएको र पूर्ण कार्यकाल पनि खान नपाएको भन्दै एक पटक दोहोरिने दाउमा छन्।

बोर्डको अध्यक्षको कार्यकाल ४ वर्षको हो। तर हमाल अध्यक्ष नियुक्त भएको चानचुन दुई वर्ष मात्र भएको छ। बोर्ड ऐन अनुसार अध्यक्षले कुनै कारण कार्यकाल पूरा नगरी बीचमै छाड्नु पर्ने अवस्थामा आए बाँकी अवधिका लागि नयाँ अध्यक्ष नियुक्त गर्न पाइन्छ। ढुङ्गाना आधा कार्यकाल नसकिंदै पदमुक्त भएपछि बाँकी कार्यकालका लागि हमाल नियुक्त भएका थिए।

सरकारले हमाललाई दोहोर्‍याउन चाहे आवेदन माग गरिरहनु पर्दैन। मन्त्रिपरिषद्ले सोझै चार बर्षका लागि नियुक्ति दिन सक्छ। हमाललाई नरुचाए आवेदन आह्‍वान गर्नुपर्छ। हमालले आफू दोहोरिन नचाहेको बताउँछन्। ‘मेरो खासै दोहोरिने चाहना छैन,’ उनले बिजमाण्डूसँग भने।

नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज खोल्नका लागि व्यावसायिक घरानाले हमाललाई अध्यक्ष बनाएका हुन्। शंकर समूह र इन्फिनिटी होल्डिङले हमाललाई नयाँ स्टकको लाइसेन्स दिने योजनासहित ल्याएका हुन्। स्टकको लाइसेन्स दिने अन्तिम कसरत भइरहेको छ।

सम्भवत: अबको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक खोल्न अनुमति दिनेछ भने लगतै धितोपत्र बोर्डको संचालक समिति बैठक बसेर स्टकको अनुमति दिइनेछ। स्रोतका अनुसार शंकर र इन्फिनिटी समूहले आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जले अनुमति पाउनेछ। स्टक र कमोडिटीको आशयपत्र दिन भ्याए भने उनी अध्यक्षमा दोहोरिने सम्भावना नरहेको स्रोतको दाबी छ।

बोर्ड अध्यक्ष हुन दुई जना सदाबहार उम्मेदवार छन्। बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी र कृष्णराज पोखरेलले पनि दाबी गरिरहेका छन्। यसअघि पनि यी दुवै जनाले आवेदन दिएका थिए। पोखरेल अन्तिम समयसम्म मैदानमै थिए। स्रोतहरुका अनुसार, त्यो बेला उनले व्यावसायिक घरानाहरु पनि प्रयोग गरेका थिए।

बोर्ड अध्यक्ष हुनका लागि अहिले अन्य दुई जनाको नाम पनि चर्चामा छ। नेपाल बिमा प्रधिकरण (तत्कालीन बिमा समिति) का पूर्वअध्यक्ष चिरञ्जिवी चापागाइँ र नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बोर्ड अध्यक्ष हुन चाहेका हुन्।

साउद यसअघि ढुङ्गानालाई जस्तै अनियमितताको आरोप लागेपछि राजीनामा दिएर नेप्सेबाट बाहिरिएका थिए। उनले ‘क्लिन चिट’ पाइसकेका  छैनन्। त्यसैले उनको सम्भावना कम रहेको स्रोतले बतायो। तैपनि उनलाई अध्यक्ष बनाउन एउटा समूहले दौडधुप थालिसकेको छ।

चापागाइँ राजनीतिकरुपमा माओवादी निकट हुन्। माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले आफू अर्थमन्त्री हुँदा उनलाई बिमा समितिको अध्यक्ष बनाएका थिए। चापागाईंलाई नेशनल स्टक एक्सचेन्जमा आवेदन दिएको समूहले बोकेर हिडिरहेको छ। नेशनलमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी छ।