काठमाडौं। टिकटक बन्द गर्ने सरकारी निर्णयको प्रतिवाद गर्दै भीपीएन र डीएनएसको प्रयोग अत्यधिक बढ्दा इन्टरनेटको अन्तर्राष्ट्रिय ट्राफिक २० प्रतिशतसम्म बढेको छ। अन्तर्राष्ट्रिय ब्यान्डविथको ट्राफिक २० प्रतिशतसम्म बढेपछि सेवा प्रदायकहरुको गुणस्तरमै धक्का पुगेको छ। इन्टरनेट निक्कै सुस्त भएको छ।
नेपालमै सर्भर राखेको टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि प्रयोगकर्ताहरुले भीपीएन र डीएनएस प्रयोग गर्दै चलाउन थालेका छन्। जसका कारण अन्तर्राष्ट्रिय ट्राफिक ह्वात्तै बढ्न पुगेको हो। अन्तर्राष्ट्रिय ट्राफिक बढ्दा ब्यान्डविथ खपतसमेत बढ्न पुगेको छ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगत्तै इन्टरनेटको ट्राफिक बढ्न थालेको बताए। उनका अनुसार प्रयोगकर्ताहरुले भीपीएन वा डीएनएसको बढी प्रयोग गरिरहेका छन्।
‘ट्राफिक बढ्दा सबै आईएसपीहरुले समस्या भोग्नुपरिरहेको छ। सबै आईएसपीहरुबाट एकैपटक ट्राफिक बढ्ने हो भने हामीलाई ब्यान्डविथ बेच्ने टाटा, एयरटेललगायत कसैले पनि एकैचोटि अपग्रेडको सुविधा दिन सक्दैनन्। यसले गर्दा इन्टरनेट स्लो हुनेदेखि अरु समस्या देखापरेको गुनासो आइरहेको छ,’ पराजुलीले भने।
इन्टरनेट सेवा प्रदायकहरुले आफूलाई आवश्यक मागको १० देखि १५ प्रतिशतसम्म ब्यान्डविथ अतिरिक्त राखेका हुन्छन्। तर, एकैचोटि २० प्रतिशत ट्राफिक बढेपछि आईएसपीहरुलाई दबाब सृजना भएको छ। अतिरिक्त राखेको ब्यान्डविथ पनि खपत भएर ट्राफिक उच्च हुँदा इन्टरनेट निक्कै सुस्त भएको हो।
भीपीएन प्रयोग गर्दै टिकटक चलाउँदा त्यसले अन्तर्राष्ट्रिय ट्राफिक बढाउँछ। स्थानीय क्यास सर्भरलाई छलेर ट्राफिक अन्तर्राष्ट्रियतर्फ मोडिंदा सेवा प्रदायकहरुको खर्चसमेत बढ्ने देखिन्छ।
पराजुलीका अनुसार कुनै पनि आईएसपीले थप ब्यान्डविथ भने किनेका छैनन्। थप ब्यान्डविथ किन्नुपर्दा विदेशी मुद्राको सञ्चिति घट्न जान्छ।
इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई टिकटक प्रतिबन्ध नगर्न बरु नियमनको बाटो अपनाउन सुझाव दिएका थिए। तर, कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिएको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
यसअघि कोरोना महामारीका बेला इन्टरनेट ब्यान्डविथ खपत ३० प्रतिशतसम्म बढेको थियो। सरकारले लकडाउन गरेपछि २०७८ वैशाखमा ब्यान्डविथ खपत बढेको हो। धेरै प्रयोगकर्ताहरु एकैसाथ सक्रिय बन्दा इन्टरनेटको गुणस्तर कायम गर्न सेवा प्रदायकहरुलाई चुनौती थपिएको थियो।
अहिले गुणस्तर खस्किंदा धेरै आवासीय तथा व्यावसायिक इन्टरनेट ग्राहकले इन्टरनेटको गतिलाई लिएर आईएसपीसामु गुनासो गरिरहेका छन्। इन्टरनेटको गुणस्तर खस्किंदा यसको असर काममा पर्छ।
ब्यान्डविथ क्षमता कसको कति?
अन्तर्राष्ट्रिय ब्यान्डविथ सबैभन्दा धेरै वर्ल्डलिंकले आयात गरिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार वर्ल्डलिंकको ब्यान्डविथ क्षमता ४०० जीबीपीएस छ।
वर्ल्डलिंकपछि नेपाल डिजिटल सर्भिस प्रालिको २००, सुबिसुको १८०, नेपाल टेलिकमको १७३, एनसेल आजियाटाको १४०, भायनेटको १३०, डिस होमको १००, क्लासिक टेकको ६० र सिजी नेटको १५ जीबीपीएस छ।
यस्तै कम्युनिकेसन एण्ड कम्युनिकेसन नेपाल प्रालिको ७ र मर्कन्टाइल कम्युनिकेसनको २ जीबीपीएस अन्तर्राष्ट्रिय ब्यान्डविथ क्षमता छ।