आइएमई ग्रुपका दोस्रो पुस्ता सचिन, जसले फुटबलमार्फत ‘लङ रनको रिटर्न’ खोज्दैछन्

मुकुन्द घिमिरे
२०८० मंसिर ६ गते १५:१६ | Nov 22, 2023
आइएमई ग्रुपका दोस्रो पुस्ता सचिन, जसले फुटबलमार्फत ‘लङ रनको रिटर्न’ खोज्दैछन्
सचिन ढकाल

काठमाडौं। आइएमई समूह नेपालको ठूलो व्यावसायिक घरानामा पर्छ। बैंक तथा वित्तीय संस्था, अटोमोबाइल, हस्पिटालिटी, केवलबार, उत्पादनमूलक उद्योग, ऊर्जा, खुद्रा व्यापार लगायत दर्जनौं व्यवसायमा यो समूह आबद्ध छ।

Tata
GBIME
NLIC

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष हेमराज ढकालले साढे दुई दशकमा आइएमई समूह अर्बौंको साम्राज्य तयार पारेका छन्।

त्यो साम्राज्य हेर्न आइएमई समूहमा दोस्रो पुस्ता तयार भइसकेको छ। यो समूहको दोस्रो पुस्ताको प्रतिनिधित्व सचिन ढकालले गर्छन्। उमेरले भर्खरै २३ पुगेका सचिन समूहले तयार पारेको व्यापार व्यवसायभन्दा भिन्न क्षेत्रमा रुचि राखेका छन्।

सानै उमेरदेखि फुटबलमा आकर्षित सचिनलाई समूहले पनि साथ दिएको छ। उनले रोजेको क्षेत्रमा समूहले लगानी जुटाइदिएको छ। सचिन अहिले चितवन एफसीलाई लिड गर्छन्।

नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करण शुक्रबार सुरु हुँदैछ। उनी लिगको तयारीका लागि क्लबको क्लोज क्याम्प राख्‍नेदेखि प्रिसिजन खेलाउन व्यस्त छन्। यस्तै मार्केटिङ आक्रामकरूपमा गरिरहेका छन्।

भारतमा अध्ययन गर्दा उनका स्कुले साथीहरु सबै फुटबलमा लागेका थिए। पछि अमेरिका र युरोप जाँदा पनि उनलाई फुटबलको मोहले छाडेन। त्यो मोहका पछाडि विश्वका क्लबको प्रसिद्धि पनि जोडिएको छ। विश्वका ठूला क्लबको सम्पत्ति खर्बौ छ। गत वर्ष मात्रै नम्बर वान बनेको रियल मड्रिडको सम्पत्ति ४.१ अर्ब पाउण्ड(पौने सात खर्ब रुपैयाँ बराबर) थियो।

विश्वका क्लबको सम्पत्ति नेपालको क्लबसँग तुलना हुन सक्दैन। क्लबमा अहिले भइरहेको लगानीको प्रतिफल आउन लामै समय कुर्नुपर्छ।

‘तपाइँका लागि विकल्प धेरै थिए। चाँडै रिटर्न आउने क्षेत्र थिए। यस्तोमा फुटबल नै किन रोज्नु भयो?,’ बिजमाण्डूको प्रश्‍नमा सचिनले जवाफ दिए, ‘बुवाले पनि आजको भोलि सफलता पाएको होइन। २० औं वर्ष काम गरेर यहाँ पुग्नु भएको हो। म पनि हृदयबाटै लागेर केही गरौं भनी फुटबलमा लागेको हुँ। भएन भने अरु केही गरौंला। लर्निङ एक्पेरियन्स हुन्छ। ट्राइ गरें भन्ने त हुन्छ।’

कसरी भइरहेको छ तयारी ?

एनएसएलमा सचिनले सफलताका लागि केही स्ट्रयाटेजिक मुभ पनि गरिरहेका छन्। उनले विदेशी खेलाडीलाई महँगै मूल्य तिरेर भित्र्याइरहेका छन्। ट्रेनिङ क्याम्पलाई सबल बनाएका छन्।

‘तयारी फुल फ्लेजमा गइरहेको छ। यसपाला फरक तरिकाले जाने सोचिरहेका छौं। काठमाडौंको धुवाँ धुलोभन्दा अलि टाढा कन्सन्ट्रेट ट्रेनिङ क्याम्प चितवनमा राखेका छौं,’ सचिनले भने, ‘विदेशी खेलाडीको पर्मिट लगायतको काम हुन्छ। १६/१७ जनाको ट्रेनिङ चाहिँ भइरहेको छ।’

सचिन ढकाल

चितवन एफसीलाई भरतपुर महानगर र चितवन फुटबल संघले राम्रो सहयोग गरिरहेका छन्।

नेपाल सुपर लिगको संरचना सामान्य हिसाबले देखिने फुटबल लिगको भन्दा फरक छ। बरु झण्डैझण्डै टिम निर्माण आईपीएल जस्ता क्रिकेट लिगका संरचनासँग मिल्दोजुल्दो देखिन्छ।

टिम फर्मेसनको ‘ब्याकबोन’ हो अक्सन। यसपालिको अक्सनलाई सचिनले सकारात्मक रूपमा लिएका छन्। ‘कतिपय अवस्थामा चिट्ठा पर्नुपर्ने हुन्छ। आइकोनिक, मार्की र विदेशी खेलाडीको विकल्प हुन्छ। कुनै कुनै एक्सपेक्टेसन पूरा नभएपनि टिम कम्बिनेसन राम्रो भएको छ। हामी खुशी छौं,’ उनले भने।

चितवनका पाँचैजना विदेशी खेलाडी आइसकेका छन्। तीमध्ये दुई जनाले यसअघि पनि नेपालमा खेलिसकेका छन्। ‘स्पेनिस डिफेन्डरसँग आईएसएलको पनि राम्रो अनुभव छ। अर्का घानाको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्। इटालियन लिगमा डेड सयभन्दा बढी खेल खेलेको अनुभव भएका उनी बिग प्लेयर हुन्,’ सचिनले भने।

+++

अघिल्लो संस्करणमा फितलो प्रदर्शन गरेको चितवन एफसी यसपालि स्तरीय विदेशी र नेपाली खेलाडीसहित मैदानमा उत्रँदैछ। ‘ए’ डिभिजन लिग जायन्ट मछिन्द्र क्लबको कप्तानी सम्हाल्दै आएका विशाल श्रेष्ठ चितवनका मार्की खेलाडी हुन्। आइकोनिक खेलाडीमा विमल घर्तीमगर छन्।

अक्सनमा चितवनले १८ लाख २० हजार रुपैयाँ खर्च गरेको थियो। ‘ए’ ग्रेडका ३, ‘बी’ ग्रेडका ६ र ‘सी’ ग्रेडका ४ खेलाडी लिँदा चितवनले सबैभन्दा धेरै खर्चिएका खेलाडी छिरिङ गुरुङ हुन्। क्लबले लिलाम बढाबढबाट उनलाई ३ लाख ५० हजार रुपैयाँमा किनेको हो।

विदेशी खेलाडीतर्फ सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई रेलिगेसनबाट बचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका घानाका टोरिक जेब्रिन र रफिक अमिनुलाई चितवनले सुरुमै अनुबन्ध गरेको थियो। घानाका युसिफ मुबारिकलाई पनि क्लबले अनुबन्ध गरेको छ। घानाकै अर्का खेलाडी अफ्रिए अक्वाह बुण्डेस लिगा र सिरि ‘ए’मा पनि अनुभव भएका खेलाडी हुन्।

चितवनले भारतका खालिद जमिलसँगको सम्झौता तोड्दै मेहराज उद्दीन वाडोलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र पर्फमेन्स एनालिस्टमा आलोक अमरनाथ यादव छन्।

+++

चितवन एफसी यसपालि अघिल्लो सिजनको कमजोरी दोहोरिन दिने पक्षमा छैन। ‘अघिल्लो वर्ष इन्ज्युरीले पनि साथ दिएन। एक दुईवटा आन्तरिक समस्याले पनि सोचेजस्तो प्रदर्शन गर्न सकेनौं,’ सचिनले भने, ‘यसपालि चाहिं अलि सिस्टमेटिक हिसाबले अघि बढ्न खोजिरहेका छौं।’

अघिल्लो सिजन अनुभवको कमीले पनि अप्ठेरो परेको उनको बुझाइ छ। अघिल्लो संस्करण कोभिडका कारण लिग बन्द रंगशालामा खेलाइएको थियो। यसपालि दर्शकले रंगशालामा उपस्थित भएर खेल हेर्न पाउनेछन्।

‘दर्शक तान्ने भनेको खेलाडीले नै हो। नेपाली फुटबलका केही ठूलो नाम हामीसँग आबद्ध हुनुहुन्छ। यस्तै विदेशी खेलाडी पनि अनुभवी नै ल्याएका छौं,’ सचिनले भने।

पछिल्ला वर्ष नेपाली स्टार खेलाडी विदेशिने क्रम बढेको छ। स्ट्राइकर विमल पनि अस्ट्रेलिया गए। अनुभवी र आफ्नो क्षमता देखाउन सफल खेलाडी विदेशिँदा नेपाली फुटबलको स्तर नै खस्किन पुगेको छ।

विमललाई भने चितवन एफसी लिगमा फर्काउन सफल भएको छ। नेपाली फुटबलमा विमल राम्रो स्टारडम भएका खेलाडीमध्ये एक हुन्। उनलाई चितवनले आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गरेको छ।

‘विमल अस्ट्रेलिया गएपछि नेपाली फ्यानले खल्लो मानेका थिए। हामीलाई एनएसएलको अक्सनपछि आइकोनिक प्लेयरको विकल्प खुला थियो,’ सचिनले भने, ‘त्यहीबेला हाम्रो दिमागमा विमलको नाम आयो। एउटा राम्रो म्यासेज जाओस् भनेर हामीले विमललाई फर्काएका हौं।’

विदेशी खेलाडी ल्याउनै गाह्रो

ठूला विदेशी खेलाडी ल्याउन सहज छैन। एप्रोच गर्नै डराउनुपर्ने अवस्था छ किनभने उनीहरुले धेरै रकम माग्छन्। ‘राम्रो खेलाडीलाई एप्रोच गर्दा पैसा कति आउँछ भनी सोध्छन्,’ सचिन भन्छन्, ‘अफ्रिकन खेलाडीको सन्दर्भमा झन अप्ठेरो छ पेपर वर्कमा। हामीलाई टाइमफ्रेम पनि सानो छ। समय हुने हो भने राम्रो खेलाडी आबद्ध गर्न चाहिं सकिन्छ।’

अघिल्लो संस्करणको तुलनामा यो वर्ष लागत बढेको छ। ठ्याक्कै रकम नखुलाए पनि पहिलो संस्करणमै एकदेखि डेढ करोड लगानी परेको उनले बताए।

‘होटलको शुल्क बढेको छ। पहिला फाइभ स्टारमा लाग्ने शुल्कले अहिले थ्री स्टारको खर्च धान्दैन। खेलाडीको कस्ट पनि बढेको छ। सबै क्लबहरुलाई अप्ठेरो परेको छ,’ उनले भने।

यसका बाबजुद खर्चमा कम्प्रोमाइज  नगरेको उनको दाबी छ। ‘यसपालि गेममा फोकस हुनेछौं। त्यसका लागि विदेशी र लोकल खेलाडी छनोटमा ध्यान दिएका छौं,’ उनले भने।

लिगका लागि चितवनसँग दुई मुख्य स्पोन्सर छन्। ‘यसपालि दुईवटा स्पोन्सर बाहिरबाट खोजेका छौं। कर्पोरेटको ब्याकग्राउण्ड लिएर गइसकेपछि स्पोन्सर तान्नचाहिं गाह्रो हुन्छ। यो स्थापित उद्योग भइसकेको छैन। बाटो अलिक लामो छ,’ उनले भने, ‘बजेटिङको हिसाबले महँगो भएको छ।’

अन्योल चिर्दै एनएसएलको दोस्रो संस्करण त हुँदैछ, तर यसपछिको संस्करण के हुन्छ भन्न सकिने अवस्था छैन। ‘यो लिग भोलि होला/ नहोला। तर, खेलाडीको मनमा चाहिं चितवन एफसीले जतिको कसैले गर्दैन भन्ने हुनुपर्‍यो,’ उनी भन्छन्, ‘भारतबाट आउनु भएको कोचले आईएसएलको टप टिमको जति सेवासुविधा रहेछ भन्नुभयो। यसले बजेट केही बढी आउँछ तर धेरै सकारात्मक छाप छोड्छ।’