गुहेश्वरी र कमलपोखरीमा यस्तो देखियो छठको रौनक, सूर्यलाई पूजा आराधना गरी दिइयो अर्घ्य

बिजमाण्डू
२०८० मंसिर ३ गते १८:३७ | Nov 19, 2023
गुहेश्वरी र कमलपोखरीमा यस्तो देखियो छठको रौनक, सूर्यलाई पूजा आराधना गरी दिइयो अर्घ्य


काठमाडौं। छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गर्दै यो पर्व मनाइन्छ।

Tata
GBIME

छठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्। पूजास्थल पुगी राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेका हुन्।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

अत्यन्तै श्रद्धा र निष्ठाका साथ वत्र बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ। छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ।

रानीपोखरीमा उल्लासपूर्वक मनाउने गरिएको यो पर्व भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा गएर मनाउन थालिएको छ। यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ।