
काठमाडौं। छैटौं पटक एकदिवसीय विश्वकप च्याम्पियन बन्न अस्ट्रेलियाले २ सय ४१ रनको चुनौती पाएको छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो।
भारतका लागि राम्रो सुरुवात गर्दै कप्तान रोहित शर्माले ४ चौका र ३ छक्काको सहायतामा ३१ बलमा ४७ रन जोडे। तर, अर्का ओपनर शुभमन गिल र श्रेयस ऐय्यर भने ४/४ रन बनाउँदै पभेलियन फर्किए। त्यसपछि भारतको ब्याटिङ अर्डर धर्मरायो। जसका कारण शर्मा बाहेकका खेलाडीले छक्का प्रहार गर्नै सकेनन्। ५० ओभर पूरा खेलेको भारतीय टोलीले १३ वटा मात्र चौका प्रहार गर्यो।
भारतका लागि सबैभन्दा ठूलो साझेदारी विराट कोहली र केएल राहुलले गरे। उनीहरुले १०९ बलमा ६७ रनको साझेदारी गरे। त्यसअघि रोहित शर्मा र कोहलीले ४६ रनको साझेदारी गरेका थिए।
संयमित ब्याटिङ गरेका राहुलले सर्वाधिक ६६ रन बनाए। कोहलीले ५४ रन जोडे। त्यस्तै सूर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन बनाए।
अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए। प्याट कमिङ्स र जोस हेजलवुडले २/२ तथा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १ विकेट लिए।
अस्ट्रेलिया केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।