काठमाडौं। जाजरकोटका भूकम्प पीडितलाई अस्थायी आवास बनाइदिन प्रमुख प्रतिपक्षी एमालेले स्वयंसेवक टोली परिचालन गरेको छ।
एमाले सचिवालय बैठकको निर्णय अनुसार स्वयंसेवक टोली परिचालन गरेको हो। टोली आइतबार जाजरकोट प्रस्थान गरेको छ।
केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो। टोलीमा १ हजार सदस्य रहेको एमालेले जनाएको छ। स्वयंसेवक टोलीले केही राहत सामग्री पनि लगेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायत नेताले अस्थायी घरटहरा निर्माणका लागि आवश्यक औजार लगायत सामग्री प्रदान गरी शनिबार टोलीको बिदाइ गरेका थिए।
कात्तिक २२ मा बसेको सचिवालय बैठकले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत जिल्लामा स्वयंसेवक खटाउने निर्णय गरेको थियो।
आफ्नो जनसंगठन नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट)ले जाजरकोटमा भूकम्पले क्षति पुर्याएका घरको भग्नावशेष व्यवस्थापनको काम यसअघि नै सुरु गरिसकेको एमालेले जनाएको छ।
स्वयंसेवक टोलीले कतिवटा अस्थायी आवास बनाउँछ भन्नेबारेमा एमालेले केही बताएको छैन।