लामो बिदाले कात्तिकमा घरजग्गा कारोबार प्रभावित, किनबेच घट्दा २.२७ अर्बले घट्यो राजस्व

बिजमाण्डू
२०८० मंसिर ३ गते ०९:३४ | Nov 19, 2023
लामो बिदाले कात्तिकमा घरजग्गा कारोबार प्रभावित, किनबेच घट्दा २.२७ अर्बले घट्यो राजस्व


काठमाडौं । दसैंतिहारका कारण कात्तिकमा घरजग्गा कारोबार ह्वात्तै घटेको छ। दसैं र तिहार एकै महिना पर्दा कात्तिकमा चारवटा शनिबारबाहेक १० दिन सार्वजनिक बिदा परेको थियो। जसका कारण घरजग्गा कारोबार संख्यासँगै सरकारले उठाउने राजस्वसमेत घटेको हो।

Tata
GBIME
NLIC

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार कात्तिकमा देशभरका मालपोत कार्यालयहरुबाट २६ हजार ४६ लिखत पारित भएको छ। असोजमा लिखत पारित संख्या ३९ हजार ८८१ थियो। अधिकांश सेवाग्राहीहरु चाडबाडमा रमाउँदा कात्तिकमा झण्डै २४ हजारले लिखत पारित घटेको देखिन्छ।

भदौको तुलनामा घरजग्गा कारोबार अघिल्लो महिना असोजमा केही बढेको थियो। असोजमा देशभरका मालपोत कार्यालयहरुबाट ३९ हजार ७९३ लिखत पारित भएको थियो।

कात्तिकमा इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक घरजग्गा किनबेच भएको छ। त्यहाँ ११८२ घरजग्गा कारोबार भएको छ। यस्तै, मालपोत कार्यालय जनकपुरबाट १ हजार १०७, भद्रपुरबाट १ हजार ११ घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाउँछ।

यस्तै, घरजग्गा कारोबारबाट सरकारले उठाउने राजस्व कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। असोजको तुलनामा कात्तिकमा राजस्व संकलन २ अर्ब २७ करोड रुपैयाँले घटेको छ।

कात्तिकमा सरकारलाई काठमाडौं उपत्यका भित्रकै मालपोतहरुले बढी राजस्व दिलाएका छन्। घरजग्गा कारोबारको मूल्य बढी हुने भएकाले काठमाडौं भित्रका मालपोत कार्यालयहरुले बढी राजस्व संकलन गर्छन्। कात्तिकमा लगनखेल मालपोतले सर्वाधिक करिब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, डिल्लीबजार मालपोतले १८ करोड १५ लाख, भक्तपुरले १४ करोड २६ लाख, चाबहिलले १३ करोड १८ लाख र कलंकीले १२ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकले देखाउँछ। देशभरका अरु मालपोत कार्यालयहरुको राजस्व संकलन १० करोड रुपैयाँभन्दा कम छ।

अघिल्लो महिना असोजमा घरजग्गा किनबेचबाट उठ्ने राजस्व बढेको थियो। असोजमा सरकारले देशभरका मालपोत कार्यालयबाट ४ अर्ब ४३ करोड रुपैयाँ राजस्व उठाएको थियो। भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।

भदौमा गएको साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँ बढी राजस्व उठेको थियो। भदौको तुलनामा असोजमा राजस्व उठ्ती १ अर्ब ३८ करोड रुपैयाँ बढी थियो।

बैंकको ब्याजदर, लगानी गर्ने आँट र खरिदकर्ता नभेट्नुले घरजग्गा कारोबारलाई निरन्तर सिथिल बनिरहेको घरजग्गा व्यवसायीहरुको भनाइ छ।

घरजग्गा कारोबार चलायमान नबन्दा देशको समग्र अर्थतन्त्र नै संकुचित भएको भन्दै सरकारले तीन महिनाअघि कित्ताकाट खुलाउने निर्णय गरेको थियो। कित्ताकाट खुलाए पनि बजार तयार नहुँदा घरजग्गा कारोबार अपेक्षितरुपमा उठ्न सकेको छैन।

दसैंतिहार सकिएसँगै आगामी महिनाबाट कारोबार केही सुधार हुने अपेक्षा व्यवसायीहरुको छ।