भवानीलाई आत्मविश्वासी बनाएको त्यो मन्त्र – लगानी र जोखिम सँगसँगै, धन भनेकै सन्तुष्टि

बिजमाण्डू
२०८० कात्तिक २३ गते ०९:०१ | Nov 9, 2023
भवानीलाई आत्मविश्वासी बनाएको त्यो मन्त्र – लगानी र जोखिम सँगसँगै, धन भनेकै सन्तुष्टि

अञ्चलाधीश रहेका बुवाको ‘पावर एक्सरसाइज’ र उनीप्रति मानिसहरुको अदव देख्दा भवानीलाई लाग्थ्यो – म पनि प्रशासक बन्छु। बुवाको रवाफबाट आकर्षित भए पनि आमाको जीवन दर्शनले उनको जीवनलाई सधैं निर्देशित गर्‍यो। 

Tata
GBIME
Nepal Life

उनलाई आमाको उपदेश हुन्थ्यो – ‘जे गरे पनि आफ्नै खुट्टामा उभिनुपर्छ।’ उनलाई लाग्छ आमाको त्यही दर्शन ‘वुमन इम्पावरमेन्ट’सँग जोडिएको सशक्त अभिव्यक्ति थियो। त्यसैले उनमा केही न केही गर्ने हुटहुटी जागिरह्यो।

तीस वर्षभन्दा अघि राम्रो स्कुलबाट शिक्षा लिएपछि डाक्टर वा इन्जिनियर बन्ने विषय प्राथमिकताको पहिलो नम्बरमा हुन्थ्यो। अधिकांशका लागि त्यो महँगो सपनामा पर्थ्यो‚ जुन उनका लागि रोजाइको विषय बनेन।

‘मुमा त्यतिखेरै बिजनेस ‘ओरेन्टेड’ हुनुहुन्थ्यो। ‘वुमन इम्पावरमेन्ट’ हुन कसैसँग पैसाका लागि हात पसार्न नपर्ने अवस्था आउनुपर्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्। आमाको यही दृष्टिकोणले हो उनलाई सधैं केही नयाँ गर्न हौस्याइरहने।

त्यसैले व्यावसायदेखि समाज सेवासम्मका गतिविधिमा उनको सक्रियता लोभलाग्दो रह्यो। बिहेपछि त झन् उनको व्यावसायिक उडानले थप उचाइ लियो। होटल, ट्राभल एजेन्सी, कार्गो व्यवसाय हुँदै सिरिन्ज फ्याक्ट्रीसम्मको यात्रामात्र होइन, नेपाल उद्योग वाणिज्य महासंघलाई नेतृत्व दिने पहिलो महिला अध्यक्ष बनिन् उनी। यति पृष्ठभूमिपछि भवानी राणाका रूपमा परिचय गराइरहन आवश्यक रहेन।

सन् १९८० को दशकमै उनले उद्यमशीलतातिर पहिलो पाइला राखिन्। सेन्ट मेरिजको पढाइ पूरा गरेर भारतमा अध्ययन थालेसँगै उनमा भरिएको व्यावसायिक चेतले आकार लिन थालिसकेको थियो। नेपालका सामान उता र उताका सामान नेपाल ल्याउथिन् उनी।

‘ल्याएका सामान केही साथीहरुलाई र केही दरबार पठाउँथेँ,’ उनले सुनाइन्। बुटिकले अहिलेजस्तो बजार नलिइसकेको अवस्थामा उनले जे गरिन्, त्यो नौलो बन्यो। त्यस्तै कारोबारबाट आठ/दश हजार रुपैयाँ नाफा निकाल्दा निक्कै उत्साहित हुन्थिन् उनी।

भवानीका बुबा प्रशासक। साँघुरो घेराको नेपालमा समाजको चरित्रको ठीक विपरीत छोरीलाई फराकिलो उडान गर्न सधैं हौस्याइरहने स्वभावका। त्यसैले उनलाई नयाँ नयाँ प्रोजेक्टमा जोड्यो। कुनै सफल भए त कुनै सिकाइको अवसर। पढ्दै गर्दा आयोजना गरेका स-साना ‘इभेन्ट’ प्रति पनि उनको उत्तिकै सन्तुष्टि छ जति नेपाल उद्योग वाणिज्य महासंघजस्तो मुलुककै सबैभन्दा ठूलो व्यावसायिक संगठनको नेतृत्व लिँदा। उनका खातामा धेरैखाले बिजनेस छन् अहिले। चार तारे होटलदेखि सिरिन्ज फ्याक्ट्रीसम्म जुन तन्किँदै आधुनिक कृषितिर पनि अघि सर्दैछ। आफूसँगको धन र धान्यबाट सन्तुष्ट छिन् उनी।

तिहारको मुखैमा हामी भवानीसँग ‘लक्ष्मी’का कुरा गर्दैछौं। गफिँदै गर्दा हामीले प्रश्न गर्‍यौं – ‘कति धनी हुनुहुन्छ तपाईँ?’

कूटनीतिक शैलीमा उनले जवाफ दिइन्, ‘मनको त म एकदम धनी छु।’ मुस्कुराउँदै बोलीमा एकैछिन ‘पज’ लिइन्। अनि थपिन्, ‘खान लाउन र एउटा कम्फर्टेबल लाइफ बिताउन चाहिँ आइ थिङ्क इट्स इनफ।’

‌‌‌+++

व्यावसायतिर छोरीहरुको रुचिका कारण उनका बुबाले गार्मेन्ट फ्याक्ट्री नै संचालन गर्न लगाए। उनी गार्मेन्टका लागि फेसन डिजाइन पढ्न भारत गइन्। २०४५ सालको आन्दोलनले गति लिँदै थियो। भारतले नाकाबन्दी लगायो। भर्खरै खुलेको गार्मेन्ट फ्याक्ट्री त्यही नाकाबन्दीको सिकार भयो। त्यतिखेर लगानी भएको २५ लाख रुपैयाँ सबै डुब्यो।

लगानी डुब्दा त्यसको दोष उनीहरुमाथि लागेन। सन् १९९० अघिको २५ लाख रुपैयाँ गुम्नु चानचुने कुरा चाहिँ थिएन। ‘के भयो त यति भएर? पैसा भनेको आउँछ जान्छ भन्नुभयो बुबाले,’ उनले सुनाइन्। त्यसैले लगानी र जोखिम सँगसँगै आउँछ भन्ने बुझ्न उनलाई कठिन भएन।

यिनै मेसोमा हाम्रो प्रश्न उनीतिर सोझियो  – तपाईँको हिसाबमा धन भनेको के हो?

‘धन भनेको सन्तुष्टि हो मेरा लागि।’’

रेडिमेड जस्तै जवाफ। त्यो पनि तत्कालै।

‘पैसा चाहिँदै चाहिँदैन भन्ने होइन। आवश्यकता पूरा गर्न चाहिन्छ। सामाजिकदेखि राजनीतिक कामसम्मका लागि पैसा चाहिन्छ,’ त्यसलाई केही व्याख्या गरिन् उनले – ‘तर यो होइन कि पैसाको पछाडि म दौडिन्छु।’

सन्तुष्टिलाई सम्पन्नता मान्ने भवानीले धेरै मानिस देखेकी छिन्‚ जसका ‘एम्बिसन’ आकाश छुनेखालका छन्। धेरै छन् जसमा देशकै धनी मान्छे बन्ने रहर छ त्यो पनि दशकमै। आफू धनी रहेको देखाउने रहर बोक्नेहरु पनि देखेकी छन्। त्यस्ता रहरका किस्साहरु पनि छन् उनीसँग। नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहँदा चिनियाँ गाडी जिलिङ चढेर जान्थिन् उनी। उपाध्यक्ष पदका लागि त्यो गाडी नसुहाउने भन्नेहरुले मुखै खोलेको याद छ उनलाई।

‘जानुपर्ने ठाउँमा पुर्‍याएकै छ। एसी छ। अरु के चाहियो?’ उनले यसै भनिन्। सन्तुष्टिलाई सुविधासँग उनले दाँजिन् – चल्छ भने ठीकै छ।

धन चाहिन्छ भन्नेमा चाहिँ उनी उत्तिकै सचेत छिन्। बिजनेसका लागि पैसा चाहिन्छ। कामदारलाई कामको मूल्य तिर्न पनि पैसा चाहिन्छ। त्यो सबै चल्यो भने असन्तोष गर्नुपर्ने ठाउँ नहुने उनले सुनाइन्। ‘काम गर्नेहरु सबै खुशी छन्। त्यो नै सबैभन्दा खुशीको कुरा हो,’ उनले भनिन्, ‘लक्ष्मी त्यति चाहियो जतिले आफूलाई कम्फोर्टेबल लाइफ बिताउन सकिन्छ। मतलब, जति पनि होइन।’

+++

भवानीले नेपालमा पर्यटनको सुनौलो सम्भावना देखिन्। त्यो सम्भावना माटोमा मिसिएको क्षणको पनि साक्षत्कार गरिन्। १० कोठाको होटलबाट चार तारे होटलसम्मको यात्रामा दुर्गम नेपाल ‘सेल’ गर्न सकिने अथाह सम्भावनाको पहिचान गरिन्। 

फ्रान्सेली निर्देशक एरिक भ्यालीले नेपालगन्ज सेल्टर बनाएर ‘हनी हन्टर’को सुट गर्दा स्नेहा होटललाई मुकाम बनाएका थिए। उनै एरिकले ओस्कर अवार्ड जित्ने फिल्म पनि बनाए – क्याराभान।

फिल्ममा उच्च हिमाली क्षेत्रको कला संस्कृति र जीवन संघर्षमात्र उतारेका थिएनन्, डोल्पाको सुन्दरतालाई पनि कैद गरेका थिए। फिल्मकै कारण फ्रान्स र युरोपका अन्य मुलुकबाट टन्नै इन्क्वेरी आउन थाल्यो। आफ्नै होटलमा बसेर निर्देशक एरिक भ्यालीले खिचेका दृश्यहरुले धेरैलाई नेपालतिर आउने वातावरण बनाउँदा भवानीलाई लागेको थियो – पर्यटन क्षेत्रमा निकै ठूलो फड्को मार्छ। किनभने पर्यटक आउनेक्रम ह्वात्तै बढेको थियो, रुम धेरै थिएन। ‘त्यतिखेर बेड एन्ड ब्रेकफास्टमा २५ देखि ३० डलर तिर्थे,’ उनले सुनाइन्।

हुम्ला, जुम्ला, डोल्पा जस्ता पहाडी जिल्लामा मौसमले हवाई उडानमा असर पार्थ्यो। पर्यटकहरु धेरै दिन नेपालगन्जमै अड्किन्थे। त्यतिखेर भवानी तिनै पर्यटकलाई रिक्सा र टाँगा चढाउँदै डुलाउँथिन्। कल्चरल टुरिजम् भन्दै मुस्लिम बस्तीका बजार, थारु बस्ती र खेतबारी पुर्‍याउँथिन्। ‘टाँगा राइड उनीहरुका लागि गजबको विषय हुन्थ्यो,’ उनले भनिन्।

डोल्पाका लागि बुकिङ तीव्र हुन थालेको थियो। ठीक त्यतिखेर नै दुनैमा माओवादीले आक्रमण गरे। सीडीओ र प्रहरी कार्यालय उडाउने माओवादीको त्यही कदमले कर्णालीको पर्यटन बिस्तारमा नमिठोगरी ब्रेक लाग्यो।

‘सिभिल वारभन्दा अगाडि टुरिजममा निक्कै प्रस्पेक्टिभ थियो,’ उनले भनिन्। पर्यटनमात्र होइन माओवादीको हिंसात्मक द्वन्द्वले पहाड रित्याउने र सहरी क्षेत्रलाई साँघुर्‍याउने क्रमको थालनी गर्‍यो। नेपालगन्जको खुम्चिँदै गरेको सहर बन्नुको पछाडि त्यही द्वन्द्व रह्यो। त्यहाँबाट ज्यान जोगाउन झर्ने मानिसहरु रहे। त्यतिखेरसम्म मानसरोवर खुलिसकेको थिएन पर्यटकका लागि। पछि हुम्लाको रुट निक्कै चल्यो – धार्मिक पर्यटनका हिसाबले भारतीयको भिड लाग्न थाल्यो।

मानसरोवर यात्राले नै हो नेपालगन्जको पर्यटन विकासमा कोसे ढुंगा थपेको। त्यसपछि होटलहरु व्यापक हुन थाल्यो। सिमकोट र हिल्साका लागि हेलिकप्टरको बेस स्टेसन नै राँझामा रह्यो। भारतीय पर्यटकको त्यो फ्लो यतिखेर शून्यमा झरेको छ। चीनले भारतीयलाई तिब्बतको भिसा दिन रोक लगाएको छ। जसको असर नेपालगन्जका होटलमा भएका लगानीमाथि परिरहेको छ। रुम रेट घटाघटको असर उनले देखेकी छन्। दुई दशकअघि ३० डलरमा बिकेको होटलका रुमको रेट अहिले १० डलरमा बेच्न खोज्‍नेहरु पनि छन्। 

+++

हुनेखाने घरकी बुहारी पर्यटकलाई डुलाउँदै हिँडेको देख्दा अचम्म मान्नेहरु थिए बाँकेमा। किनकि भवानी केही नगरी बस्नै नसक्ने। उनी व्यवसायमात्र चलाउँदिनथिन् महिलाहरुलाई उत्पादनसँग जोड्थिन्। त्यहाँका थारु महिलाले उत्पादन गरेका वस्तु पर्यटकलाई बिक्री गराउँथिन्। जेल परेका महिलाले बनाएका सामग्रीलाई त्यसैअनुसार ब्रान्डिङ गर्थिन्।

आफ्नो त्यसखाले सक्रियतालाई उनी ‘रेभुलेसन’ नै मान्छिन्। हुन पनि हो, उनले काम गरेको देखेपछि कमाउने पेसामा महिला पनि लाग्नुपर्छ भन्ने सोचको विकास हुन थाल्यो। ‘सबै कुराले पुगेको घरकी बुहारी गाउँमा काम गरिरहेको देखेपछि त्यसले पनि मानिसलाई एकखाले ‘एक्साइटमेन्ट’ दिने रहेछ। प्रेरित गर्ने रहेछ,’ उनले भनिन्।

व्यवसायसँगै भुइँ तहका महिलाहरुसँग जोडिएकी छन् उनी। उनीहरुका अधिकारका लागि लडेकी छन् – साथी मार्फत्। महिला उद्यमशीलताको त अभियन्ता नै रहिन्। महिलामाथि हुने हिंसा कम गर्ने हो भने ‘इम्पावर’ गर्ने र त्यसका महिलाको हातमा पैसा हुनुपर्छ भन्ने उनको बुझाइ छ।

जतिखेर उनले ग्रासरुटका महिलाका लागि काम गरिन् परिस्थिति निकै फरक थियो। महिलाहरुमा एक्सपोजर थिएन। त्यो बेलामा महिलामा बिजनेस गर्नुपर्छ भन्ने मेन्टालिटी पनि थिएन। ‘मुख्य त एक्सेस टू क्रेडिट नै थिएन। महिलालाई लोन लिन गाह्रो थियो,’ उनले भनिन्, ‘स्रोतमाथिको पुरुषको पकड छ। त्यसैले अहिले पनि सानो बिजनेसमा महिला आए होलान्, लिगेसीका आधारविना ठूला बिजनेसमा ज्यादै कम होलान्।’

यस क्षेत्रमा पहिलेभन्दा सुधार चाहिँ अनुभव गरेकी छन् उनले। महिलाका लागि सरकारले करका दरमा सहुलियत दिएको छ भने मार्केटिङका लागि इन्टरनेटले अवसर बढाइदिएको छ।

उनी आफूलाई सोसल अन्टरपेनियर मान्छिन्। ‘पैसा धेरै कामाएर मात्र के गर्नु? त्यसबाट समाजले पनि फाइदा लेओस् न,’ उनले सुनाइन्।

यस क्षेत्रमा आउन चाहने महिलाका लागि उनको टिप्स के त?

‘केही गर्छु भन्ने आत्मविश्वास हुनुपर्छ। एउटा मिसनमा हिँड्नुपर्‍यो। काममा सन्तुष्ट हुनुपर्‍यो।’

सन्तुष्टिको टिप्स दिँदादिँदै अहिलेको मुलुकको चालामालबाट उनी सन्तुष्ट सुनिइनन्। ‘सबैको एजेन्डा राजनीति भएको छ। अर्थतन्त्र कसरी बलियो बनाउने भन्ने एजेन्डा हुनुपर्थ्यो,’ उनले भनिन्। संघीय संरचनाले बढाएको व्ययभारको चिन्ता पनि गरिन् उनले। ठूला प्रोजेक्टमा भएका अवरोधप्रति असन्तुष्टि पनि जनाइन्।

उनी अब छोराले अगाडि बढाउन लागेको कृषिको प्रोजेक्टलाई कसरी सफल बनाउने भन्नेतिर लाग्दैछिन्। नेपालसामु पर्यटन र हाइड्रोपावरका अलावा कृषिको विकल्प नरहेको उनको बुझाइ छ। यी सबैमा नेपाली व्यवसायीले नेपाली व्यावसायीसँग होइन बाहिरी उत्पादकसँग प्रतिस्पर्धा गर्नुपर्ने तर्क गरिन्।

भनिन्, ‘यसमा सरकार गार्जियन भएर सघाउनुपर्ने हो। देश भए पो हामी हुने हो। अर्थतन्त्र रहे पो व्यवसाय चल्ने हो।’