
काठमाडौं । सन् २०२३ को पछिल्लो ग्लोबल हंगर इन्डेक्स (जीएचआई) मा नेपालले भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको छ। नेपाल सन् २०१५ को तुलनामा ९ स्थान माथि उक्लिएको हो।
जीएचआईले विभिन्न देशहरूले भोकमरीका समस्याहरूसँग कसरी जुधिरहेका छन् भनेर बुझ्न मद्दत गर्छ। १० भन्दा कम अंक पाउने देशमा भोकमरी न्यून छ भन्ने बुझिन्छ भने १० देखि १९.९ अंक पाउनले देशमा मध्य भोकमरी भएको बुझ्न सकिन्छ।
त्यस्तै, २० देखि ३४.९ अंक पाए गम्भीर, ३५ देखि ४९.९ अंक पाए चिन्ताजनक र ५० अंक भन्दामाथि पाउने देश अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको मूल्याङ्कन गर्नुपर्छ।
सन् २०१५ मा ७८औँ स्थानमा रहेको नेपाल २०२३ सम्म आइपुग्दा ६९औँ स्थानमा उक्लिएको छ। जीएचआईमा नेपालले सन् २००० देखि नै सुधार गर्दै आइरहेको छ।
जीएचआईमा समावेश १२५ देशहरूमध्ये नेपाल हाल ६९औँ स्थानमा छ। यसले अरू धेरै देशको तुलनामा नेपालले भोकमरी सुधारमा राम्रो काम गरिरहेको संकेत गरेको छ।
२०२३ को लागि नेपालको जीएचआई स्कोर १५.० छ, जुन ‘मध्यम’ भोकमरीको वर्गमा पर्दछ। सन् २००० मा नेपालको जीएचआई स्कोर ३७.२ अर्थात चिन्ताजनक अवस्थामा थियो, जसमा हाल उल्लेख्य सुधार भएको छ।
भारतको २०२३ को जीएचआई स्कोर २८.७ छ जसले भोकमरीको गम्भीर स्तरलाई संकेत गर्दछ। भारतले २०१५ को स्कोर ३८.४ देखि सुधार भने गरेको छ। यद्यपि, उसले अझै भोकमरी न्यूनीकरण गर्न धेरै काम गर्नुपर्ने तथ्यांकले देखाउँछ। भारतको २०२३ मा १११औँ स्थानमा छ, उ २०१५ मा १०९औँ स्थानमा थियो।
उच्च जनसंख्याका बाबजुद चीनले भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको छ। सन् २००० मा उसको जीएचआई स्कोर १३.४ थियो। २०२३ मा चीनको स्कोर ५ भन्दा कम छ। जसको अर्थ चीनमा भोकमरीको अवस्था न्यून छ भन्ने हो।
वर्ष (सन्) | भारत (जीएचआइ स्कोर) | चीन (जीएचआइ स्कोर) |
२००० | ३८.४ | १३.४ |
२००८ | ३४.५ | ७.१ |
2२०१५ | २९.२ | <५ |
२०२३ | २८.७ | <५ |
दक्षिण एसियाका देशहरुको तुलनामा नेपाल जीएचआईमा दोस्रो स्थानमा छ। १३.३ अंकसहित श्रीलंका ६०औँ स्थानमा रहँदा १९ अंकका साथ बंगलादेश ८१औँ स्थानमा छ।
यता, २६.६ अंक पाएको पाकिस्तान १०२, २८.७ अंक पाएको भारत १११ र ३०.६ अंक पाएको अफगानिस्तान ११४औँ स्थानमा छन्। इन्डेक्समा माल्दिभ्स र भुटान भने समावेश छैनन्।

विश्वव्यापी रूपमा बेलारुस, बोस्निया र हर्जगोभिना, चिली, चीन जस्ता देशहरूले भोकमरीको न्यून स्तर कायम राखेका छन्। अर्कोतर्फ साउथ सुडान, बुरुण्डी, सोमालिया जस्ता देशहरूले अझै पनि भोकमरीको अत्यन्त डरलाग्दो स्तरको सामना गरिरहेका छन्।
भोकमरी न्यूनीकरणमा नेपालको प्रगति सकारात्मक संकेत हो। यद्यपि नेपालले अझै धेरै काम गर्न बाँकी रहेको तथ्यांकले देखाउँछ छ। छिमेकी मुलुक भारत र चीनसँगै नेपालले भोकमरी र कुपोषण उन्मूलन गर्नका लागि प्रयास जारी राख्नुपर्ने देखिएको छ।